पुष्पलाल लोकमार्गमा बन्न थाल्यो चार बसपार्क, दुई र चार टेण्डरको अध्ययन हुँदै

  २०७४ जेठ १२ गते १२:३८     विकासन्युज

काठमाडौं । सरकारले ‘सघन शहरी विकास कार्यक्रम’ अन्तर्गत मध्यपहाडी (पुष्पलाल) लोकमार्गको चार स्थानमा वर्षपार्क निर्माण प्रक्रिया अघि बढाएको छ । कार्यक्रम लागू भएको ७ वर्ष पछि लोकमार्ग बन्न लागेका १० नयाँ सहरको पूर्वाधार निर्माणसँगै पाँचथरको ‘फिदिम, धनकुटाको ‘वसन्तपुर’ रुकुमको ‘चौरजहारी र बैतडीका ‘पाटन’ मा बसपार्क निर्माण शुरु गरेको हो ।

यसका साथै साफेबगर र डुम्रेमा बसपार्क निर्माणका लागि टेण्डर प्रक्रिया शुरू गरिएको शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको नयाँ शहर आयोजना समन्वय कार्यालयले बताएको छ । बागलुङको बुर्तिबाङ, दैलेखको राकम कर्णाली, धादिङको बैरेनी-गल्छी र सिन्धुलीको खुर्काेटमा पनि बसपार्क निर्माणका लागि आवश्यक प्रक्रिया शुरू भएको कार्यालयले जानकारी दिएको छ । मध्यपहाडी लोकमार्गअन्तर्गतको बसपार्क निर्माण कार्य नयाँ सहर निर्माणको पहिलो पूर्वाधार हो ।

सरकारले लामो समय र धेरै विज्ञ, सरोकारवालाको छलफलका आधारमा प्राविधिक कमिटिले उक्त मार्गमा पर्ने नयाँ सहरको एकीकृत विकास योजना तयार बनाएको छ । उक्त योजनामाथि मूल्यांकन भइरहेको कार्य भइरहेको कार्यालयले बताएको छ ।

त्यस्तै १० सहरका लागि एकीकृत जग्गा विकास कार्यक्रमको विस्तृत योजना प्रतिवेदन (डीपीआर) तयार गर्ने कार्य पनि भइरहेको छ । सोमध्ये तीन सहरको ३ वटा आयोजना सरकारबाट स्वीकृत भएका छन् भने २ वटा आयोजना स्वीकृतिको क्रममा रहेको छ ।

मुलुकको पूर्व पश्चिमसम्म जोड्ने महेन्द्र राजमार्ग र हुलाकी राजमार्ग पछिको यो तेस्रो राजमार्ग हो। । उक्त लोकमार्गको लम्बाई १ हजार ७ सय ७६ किलोमिटर रहेको छ । यो राजमार्ग पाँचथर जिल्लाको पूर्वी भेगमा पर्ने चियोभञ्ज्याङबाट सुरु भई बैतडी जिल्लाको झुलाघाटमा गएर टुंगिन्छ । चियाभन्ज्याङदेखि झुलाघाटसम्म पुग्न यो लोकमार्गले पहाडका ३९ जिल्लामध्ये २४ जिल्लालाई छिचोल्नु पर्छ । उक्त जिल्लामध्ये १९ जिल्लाका सदरमुकाम छिचोलेर वा छोएर यो मार्ग जान्छ । राजमार्गमा पर्ने २७ सहरमध्ये १६ वटालाई जोडिने छ ।

सहर र सदरमुकामलाई छोडेर लोकमार्गले पार गरेर जाने पूर्वाञ्चलका बस्तीमध्ये च्याङथापु, गोपेटार, संक्रान्ति बजार, वसन्तपुर, हिले, जरायोटार, हलेसी र घुर्मी बढी परिचित छन् भने मध्यमाञ्चलमा खुर्कोट, नेपालटार, (भकुन्डेबेसी), दाप्चा, नौबिसे, गजुरी, बैरेनी, कुरिनटार, मुगलिन पर्दछन् । यसैगरी पश्चिमाञ्चलका आबुखैरेनी, डुम्रे, दुलेगौँडा, खैरेनीटार, बुर्तिबाङ उल्लेख्य बस्ती हुन् । मध्यपश्चिमाञ्चलका उल्लेख्य बस्तीहरूमा काँक्री, रुकुमकोट, चौरजहारी, दुल्लु, राकम, कर्णाली आदि पर्छन् । सुदूरपश्चिमाञ्चलका विनायक, साँफेबगर, खोड्पे, पाटनजस्ता बस्तीहरू यही लोकमार्गमा पर्छन् ।

आर्थिक वर्ष २०६४/६५मा भौतिक योजना तथा निर्माण मन्त्रालयले तयार गरेको मध्य पहाडी राजमार्गको रेखांकन प्रस्ताव विसं २०६५ फागुन २६को मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको थियो । उक्त लोकमार्गलाई नेपालको आर्थिक विकासको समृद्धीको ढोका मानिन्छ ।

सो लोकमार्ग २०७४/७५ मा सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएपनि हालसम्म करिब ५५ प्रतिशतमात्र भौतिक प्रगति भएको छ । सरकारले चालू आवको सो लोकमार्ग निर्माणका लागि २ अर्ब ८८ करोड रुपैयाँ विनियोजन गरेको छ ।