३१ गतेको निर्वाचन धकेलिदै, नयाँ २२ स्थानीय तहमा निर्वाचन गर्न नसक्ने आयोगको निष्कर्ष

  २०७४ जेठ ११ गते १७:५४     विकासन्युज

काठमाडौं । निर्वाचन आयोगले हालै सरकारले थपेका स्थानीय तहहरुमा जेठ ३१ गते निर्वाचन गर्न नसकिने जनाएको छ । आयोगले यसअघि तोकिए अनुसारका ४६१ वटा स्थानीय तहमा जेठ ३१ गते निर्वाचन हुन वातावरण मिलाउन सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदबाट राजीनामा दिएपछि दोस्रो चरणको निर्वाचन हुनेमा आशंका बढ्दै गएको बेलामा आयोगले पनि आशंकालाई बल पुर्याउने निर्णय गरेको छ ।

आयोगले एक विज्ञप्ति जारी गरी परिवर्तित ठेगाना अनुसार मतदाता परिचयपत्र छापेर सम्बन्धित मतदान केन्द्रमा पुग्ने गरी व्यवस्था मिलाउन नसकिने जनाएको छ । त्यस्तै जेठ १५ गते सम्म नयाँ संरचना अनुसार निर्वाचन अधिकृतको कार्यालय खोल्न सक्ने अवस्था समेत नरहेको आयोगले जनाएको छ ।

मन्त्रिपरिषदले स्थानीय तह थप्ने निर्णय गरेपनि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट नयाँ संरचनाको विवरण हालसम्म औपचारिक रुपमा नपाएको आयोगका आयोगका प्रबक्ता सूर्यप्रसाद शर्माले बताए ।

दोस्रो चरणमा ४६१ वटा स्थानीय तह रहेकोमा सरकारले जेठ ८ गते २ महानगरपालिका सहित २२ वटा तह थप्ने र २४ वटा गाँउपालिकालाई नगरपालिका बनाउने निर्णय गरेको थियो । उक्त निर्णयलाई बैधानिक तरिकाबाट सरकारले अझैसम्म राजपत्रमा सूचना प्रकाशित नगरेको आयोजको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.