बजेटमा सबै कार्यक्रम पुरानै, राजस्वको दरसमेत हेरफेर नहुने

  २०७४ जेठ १० गते ७:२१     विकासन्युज

काठमाडौं । नयाँ कार्यक्रमबिना र राजस्वका दर हेरफेर नगरी आगामी आर्थिक वर्षको बजेट पेस हुने भएको छ । प्रधानमन्त्री निवासमा मंगलबार शीर्षस्थ नेतासहितको सर्वदलीय बैठकमा यसरी पूर्ण बजेट पेस गर्ने सहमति भएको हो । बैठकमा एमालेका अध्यक्ष केपी ओली, नेता माधवकुमार नेपाललगायत सहभागी थिए । सहमतिसँगै बजेटका बारे सबै अन्योल सकिएको छ ।

यसअघि नयाँ कार्यक्रम नल्याउने भनिए पनि बजेटको आकार बढाएर एकमुष्ठ पैसा राख्ने, दोस्रो चरणको चुनाव सकिएपछि यो रकमबाट नयाँ कार्यक्रम घोषणा गर्ने बारेमा पनि छलफल चलिरहेको थियो ।

प्रधानमन्त्री निवासमा भएको छलफलमा पनि योजना आयोग उपाध्यक्ष डा।मीनबहादुर श्रेष्ठले कार्यक्रम घोषणा नगर्दा दोस्रो चरणको चुनाव प्रभावित नहुने भन्दै रकमचाहिँ विनियोजन गर्नपर्ने सुझाव राखेका थिए ।

पूर्ण आकारको बजेट भएकाले सरकारले खाली पुरानो कार्यक्रम निरन्तरता दिएर नपुग्ने उनको तर्क थियो । उनको प्रस्तावमा कोही पनि सहमत भएनन् ।

पूर्वअर्थमन्त्री डा।रामशरण महतले चालू अवस्थामै यत्रतत्र कार्यक्रम रहेको भन्दै तिनको कार्यान्वयनमा जोड दिनुपर्ने समय आएको बताएका थिए । ‘कार्यक्रम चाहिनेभन्दा बढी भइसकाे उनलाई उधृत गर्दै स्रोतले भन्यो ।

‘कम्तीमा यसपालि साइत पनि यस्तै परेको छ, तिनलाई पर्याप्त बजेट विनियोजन गरौं, चुस्त कार्यान्वयनमा जोड गरौं । लोकप्रियताका लागि नयाँ कार्यक्रम आवश्यक नभएको, कार्यान्वयनमा सफल भए सरकार यसै लोकप्रिय हुने तर्क गरेका थिए । उनले सहायता दिने विदेशीसँग भएका प्रतिबद्धता कार्यान्वयनमा आउने वर्ष जोड दिनुपर्ने बताएका थिए ।

आउने आर्थिक वर्षको बजेटको लागि स्रोत समितिले १२ खर्ब ६ अर्ब रुपैयाँको बजेटको बनाउन सकिने भने पनि अर्थलाई ११ खर्ब ५६ अर्ब रुपैयाँको सिमा वितरण गर्न दिइएको थियो । योजना आयोगले त्यो ५० अर्ब अब हुने प्रदेश र संसद्को चुनाव आदिका लागि भनेर वितरण नगरी राखेको हो । आजको सहमतिपछि १२ खर्ब ६ अर्बको आधारमा बजेट बन्नेछ । अन्नपूर्ण पोस्टबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.