सेयर आपूर्ति बढ्दा मूल्य दोहोरो अंकले घट्यो, एक सातामा नै ३ अर्ब रुपैयाँको सेयर थपियो

  २०७४ जेठ ७ गते १५:२७     विकासन्युज

काठमाडौं । आइतबार नेप्से परिसूचक १६ दशमलब ६३ अंकले घटेर १६२७ दशमलब २४ अंकमा झरेको छ । सो दिन ६८ करोड रुपैयाँ बराबरको सेयर करोबार भएको छ । जुन रकम अघिल्लो कारोबार(बिहीबार) को तुलनामा ७ करोड रुपैयाँले बढी हो ।

बजारमा सेयर आपूर्ति वृद्धि हुनु तर निक्षेप तथा कर्जाको व्याजदर नघट्नुले बजारमा गिरावट आएको जानकारहरु बताउँछन् । सरकार परिवर्तन र तराईका क्षेत्रीय दलहरुको बढ्दो असन्तुष्टि पनि बजार घट्नुको कारण मानिएको छ ।

गत साता मात्र नेपाल स्टक एक्सचेञ्जमा ३ अर्ब रुपैयाँ बराबरको अंकित मूल्यको सेयर सूचिकृत भएको छ । १४ वटा कम्पनीको हकप्रद सेयर, बोनस सेयर र साधारण सेयर गरी उक्त मात्रामा सेयर सूचिकृत भएको हो । सेयर आपूर्तिको क्रम बढ्दो रहेकोले मूल्यमा प्रेसर परेको बताईन्छ ।

बजार दोहोरो अंकले घट्दा पनि सेयर बजारमा दुई कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सो दिन एनबी इन्स्योरेन्स कम्पनी र बोटलर्स नेपाल(तराई) लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ । आइतबार यी दुई कम्पनीको सेयर मूल्य क्रमशः १२१० र ६६४४ रुपैयाँ रहेको छ ।

त्यस्तै, सिनर्जी पावर डेभलपमेन्ट, हिमालयन डिस्टीलरी र मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य क्रमशः ९.९७, ९.९७ र ९.९६ प्रतिशतले बढेको छ । सो दिन सबैभन्दा बढी जनता बैंक नेपालको सेयर मूल्य ६.२७ प्रतिशतले घटेको छ ।

बजारमा सबैभन्दा बढी नेपाल इन्स्योरेन्स कम्पनीको सेयर कारोबार भएको छ । एकैदिन कम्पनीको ४ करोड १५ लाख रुपैयाँ माथिको सेयर किनबेच भएको छ । सो दिन इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता १५२० रुपैयाँ रहेको छ ।

आइतबार कारोबार भएका दुई समूहको परिसूचक उकालो लागेका छन् भने बाँकी ६ समूहको परिसूचक ओरालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक १०४ अंकले ओरालो लागेको छ । त्यस्तै, होटल, हाइड्रोपावर, बैंकिङ र विकास बैंकको परिसूचक क्रमशः ४९, २२, १८ र १५ अंकले ओरालो लागेका छन् । उत्पादनमूलक र अन्य समूहको परिसूचक क्रमशः ५४ र ०.८७ अंकले उकालो लागेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.