काठमाडौंमा बजार खोज्दै कर्णालीको खाद्यान्न, ५० रुपैंयाँ सस्तो बेच्दा पनि अर्ग्यानिक सिमी र फापरले बजार पाएन

  २०७४ जेठ १ गते ११:१६     विकासन्युज

काठमाडौं । के तपाईंलाई थाहा छ ? सरकारी स्वामित्वको खाद्य संस्थानले कर्णालीको अर्गानिक सिमी र तिते फापर बेच्ने गरेको छ । खाद्य संस्थानले बेच्ने खाद्यान्न बजार मुल्यभन्दा किलोमा पचास रुपैयाँ सस्तो छ ।

कर्णालीको कृषी क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले खाद्य संस्थानले वार्षिकरुपमा कर्णालीबाट अर्गानिक खाद्यान्न खरिद गरेर काठमाडौंमा बिक्री गरिरहेको छ । यसपालीपनि सरकारले आगामी आर्थिक वर्षमा कर्णालीबाट एक करोड रुपैयाँ बराबरको खाद्यान्न खरिद तयारी गरेको छ । संस्थानका सूचना अधिकारी शंकर सापकोटाका अनुसार काठमाडौंको धान गोदामबाट प्रति किलो एक सय ५० रुपैयाँमा सिमी र ९० रुपैयाँ प्रति किलोमा फापरको बिक्री भइरहेको छ । उनले भने, ‘ आजभोली बजारमा अर्गानिक खाद्यान्नका नाममा महंगोमा तरकारी बिक्री भइरहेका छन्। तर हामीले बेच्ने सिमी र फापर कर्णालीको शुद्ध अर्गानिक खाद्यान्न हो । सिमी बजार मूल्यभन्दा पचास रुपैयाँ सस्तो र फापर तीस रुपैयाँ सस्तो पर्न आउँछ ।’

बजारको अभाव

चालु आवमा संस्थानले झन्डै डेढ करोड रुपैयाँ खर्चेर ल्याएको आठ सय २० क्विन्टल सिमी र फापर पर्‍याप्त बजारीकरणको अभावमा धान गोदाममा थन्किएर बसेको छ । प्रचार प्रसारको अभाव र एक ठाँउबाट मात्र बिक्री भइरहेकाले कर्णालीको खाद्यान्न बिक्न नसकेको संस्थानका प्रमुख गोकुल धिताले बताए ।

पोहोर साल कर्णालीबाट आएको बठ सय २० क्विन्टल खाद्यान्न बिक्री नभएको उद्दृत गर्दै धितालले भने, ‘धेरैलाई संस्थानले सस्तोमा अर्गानिक खाद्यान्न बेच्छ भन्ने नै थाहा छैन । त्यसमाथी यहाँ बजारको पनि त्यतिकै अभाव छ । सबैजना धानगोदाममा धाएर अर्गानिक खाद्यान्न किन्न आउदैनन् ।’

चालु आवमा डेढ करोड रुपैयाँ बराबरको खाद्यान्न खरिद गरेको संस्थान आगामी आवमा कम खरिद गर्ने भएको छ । यसपाली करिब एक करोड रुपैयाँ मात्र खरिद गर्ने तयारी रहेको सापकोटाले जानकारि दिए ।

बजारीकरणको प्रयास

सिमित बिक्री कक्षका कारण खाद्यान्न बेच्न नसकिरहेको संस्थानले उपत्यकामा बिक्री कक्ष विस्तार गर्ने भएको छ ।  सापकोटाका अनुसार उपत्यकाका ६ वटा स्थानमा बिक्री कक्ष सञ्चालन गर्ने तयारी छ ।

उपत्यकामा संस्थानको दुईवटा स्थानमा मात्र डिपो छ –  नखु र थापाथली, जसमध्ये थापाथलीमा बिक्री कक्ष छ ।  उनले भने, ‘हाम्रो एकै ठाँउमा मात्र बिक्री कक्ष भएकाले खाद्यान्न बिक्रीमा कठिनाई भइरहेको छ । अब उपत्यकाको कलंकीऽ सातदोबाटो, ललितपुर, भक्तपुर लगायतका ६ वटा स्थानहरुमा बिक्री कक्ष सञ्चालनका लागि सटर भाडामा लिँदै छौं ।’

घुम्ती सेवा

लामो समयदेखि बन्द रहेको संस्थानको घर घरमा घुम्ती सेवा फेरि सञ्चालन मा आएको छ । जनशक्ती अभाव जस्ता विभिन्न कारणले  बन्द रहेको घुम्ती सेवा बैशाखदेखि सूचारु भएको संस्थानका प्रमुख धितालले बताए ।

गत वर्ष घरैमा ट्रकमा संस्थानले सस्तोमा खाद्यान्न बिक्री गर्न ल्याएपछि यो सेवाले निकै लोकप्रियता पाएको थियो । तर उचित व्यवस्थापनको अभावका कारण बिचमा बन्द भएको धितालले बताए । उनले भने, ‘यो सेवा पुन सुचारु भएको करिब १०/१५ दिन भएको छ। ‘

तीनवटा गाडीका दरले खाद्यान्नको बिक्री भइरहेको सापकोटाले जानकारी दिए । उनका अनुसार एउटा गाडीबाट दैनिक तीन लाख रुपैयाँ बराबरको कारोबार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.