२०७४ वैशाख ३१ गते १९:०२ विकासन्युज
हेटौँडा । मकवानपुरको मकहरी गाउँपालिका–४ मा रहेको लोपोन्मुख जाति वनकरियाले पहिलोपटक स्थानीय निर्वाचनमा मतदान गरेका छन् । मकवानपुरको एकमात्र स्थानमा रहेको ५४ जना वनकरियाले मतदान गरेका हुन् ।
देशमा मकवानपुरको हाँडीखोला, ट्वाङ्ग्रास्थित मुसेधापमा मात्र बसोबास गर्दैै आएका लोपोन्मुख २० घर वनकरिया रहेका छन् । स्थानीय पशुपतिनाथ माविमा राखिएको केन्द्रमा उनीहरुले पहिलोपटक मतदान गरेको मतदान अधिकृत गणेश भण्डारीले बताए ।
लोपोन्मुख वनकरिया जातिमा पुरुषभन्दा महिलाको अवस्था राम्रो छ । वनकरिया समुदायका पुरुष चुलोचौको र जङ्गल छाडेर अन्यत्र जान अझै रुचाउँदैनन् भन्ने मान्यता यसपटक उनीहरुले ताडेको स्थानीयले बताएका छन् ।
भोट हाल्न अनौठो लागेको तर खुसी भएको ३६ वर्षीया पार्वती वनकरियाले बताए । ५८ वर्षीया ठूलीमाया वनकरियाले यो चुनावले गाउँ विकास हुन्छ भनेकाले खुसी लागेको बताए । यस गाउँको पुरुष गाउँ बाहिरका काममा जानै नमान्ने भए पनि भोट हाल्न भने ल्याएको उनको भनाइ छ । रासस
Copyright © 2024 Bikash Media Pvt. Ltd.