स्थानीय निर्वाचनः किन भोट र कसलाई भोट ?

  २०७४ वैशाख ३० गते १०:२६     नारायण पौडेल

काठमाडौं । २१ औं शताब्दीमा संसारका अधिकांश मुलुकले प्रतिनिधी मुलक राजनीतिक प्रणालीलाई स्विकार गरेका छन् । प्रतिनिधीद्धारा शासित हुने राजनीतिक व्यवस्थाको मुल मर्म भनेकै निर्वाचन हो ।
मतदान प्रक्रियामा सामेल भएर असल प्रतिनिधी छानिएन भने खराबहरुद्धारा शासित हुनुपर्ने भएकाले पनि यो व्यवस्थामा मतदानको बिशेष महत्व छ ।

राजनीतिलाई स्वामित्वसँग जोड्ने समाजवादी सिद्धान्तकै आधारमा पनि प्रतिनिधी मुलक व्यवस्थामा शासन प्रशासन सञ्चालनमा जनताको स्वामित्व स्थापित गराउने एउटा माध्यम भनेको निर्वाचन नै हो । अर्थात अहिलेको राजनीतिक प्रणालीमा निर्वाचनद्धारा नै जनतामा राजनीतिक स्वामित्व हस्तान्तरण गर्न सकिन्छ ।

२० बर्षपछि मुलुकमा स्थानिय तहको निर्वाचन हुँदैछ । मुलुकलाई नयाँ व्यवस्थामा लैजान भैरहेको भगिरथ प्रयासले जनतामा संघिय लोकतान्त्रिक गणतन्त्रप्रति स्वामित्व भावको विकास गराउने अपेक्षा गरिएको छ । मुलुक स्थानिय तहको निर्वाचनमा होमिएको छ । गाउँ बस्तीहरुमा जनताका प्रतिनिधी बन्ने दौडमा रहेका उम्मेदवारहरु आफ्नो र पार्टीको एजेण्डासहित जनताको मन जित्ने प्रयास गरिरहेका छन् । २० बर्षपछि हुन लागेको निर्वाचनमा करिब ४० प्रतिशत मतदाताले पहिलो पटक सहभागीता जनाउँदैछन् । त्यसो त २० बर्ष अघि आफ्ना स्थानिय प्रतिनिधीलाई मतदान गरेकाहरुको अवस्था र मनस्थिती पनि फेरिएको छ ।

मत माग्दै घर दैलोमा आउनेहरु सबै एकै प्रकारका हुँदैनन् । मत माग्दा सबैले राम्रा आश्वासन दिन्छन, विकास र सुशासनका सपना बाढ्छन् । तर निर्वाचित भएपछि गाउँ नफर्किएको र पुर्व प्रतिवद्धता पुरा नगरेको तथ्य हाम्रा इतिहासहरुले पुष्टि गरिसकेका छन् । त्यसकारण अब कस्ता प्रतिनिधीलाई मत दिने भन्नेबारे आम मतदाताले गम्भिर भएर सोच्नु आवश्यक छ ।

यो केबल निर्वाचन मात्रै नभएर हाम्रो गाउँ घर र शहरलाई कस्तो बनाउने भनेर निर्णय गर्ने महत्वपुर्ण क्षण पनि हो । तपाई हाम्रो एक मतले हाम्रो गाउँ शहरको भविष्य कस्तो बनाउने भनेर निर्धारण गर्छ । त्यसकारण मतदान गर्ने राजनीतिक दल, त्यसका उम्मेदवारका बारेमा राम्रोसँग बुझ्नु आवश्यक छ ।

पटक पटक निर्वाचनमा मतदान गरेका तर आफ्ना प्रतिनिधीले कुनै प्रतिवद्धता पुरा नगरेका कारण मतदाताहरुमा ‘जुनै जोगी आएपछि कानै चिरेको’ भन्ने मान्यता स्थापित छ । अहिले मत माग्दै आउनेहरु पनि धेरै त्यस्तै प्रवृत्तिका हुन सक्दछन् । त्यसकारण हामीले मतदान गर्नुपुर्व केहि महत्वपुर्ण पक्षमा सोच्नै पर्ने हुन्छ । आखिर कस्ता प्रतिनिधीलाई हाल्ने त मत ?

१) नैतिकवान उम्मेदवार
समाजमा कुनै असामाजिक काममा संलग्न नभएको व्यक्तिलाई मतदान गर्नु पर्छ । समाजमा हुने हरेक खाले गतिबिधीमा सत्य र सत्कर्मका पक्षमा वकालत गरेको व्यक्ति नै हाम्रो साझा प्रतिनिधी बन्न सक्छ । जसले समाजमा यदाकदा हुने दुष्कर्मका विरुद्ध उभिने शाहस गरेको होस र भविष्यमा पनि गरोस ।

२) विकास प्रेमी
यतिबेला हाम्रो समाज विकासको भोको छ । सडक, ढल, खानेपानी, शिक्षा, स्वास्थ्य लगायतका पुर्वाधारको निर्माणमा जनताको अत्याधिक चासो छ । समाजको आवश्यकता पनि विकास नै हो । हामीले मत दिने प्रतिनिधी कतिको विकास प्रेमी छ ? यस अघि उसले विकासका लागि कस्तो चासो व्यक्त गरेको छ ? उसले अहिले अघि सारेका प्रतिवद्धता पत्रमा विकासका कस्ता कार्यक्रम समेटेको छ ? ति कार्यक्रम कार्यान्वयनको रोडप्याप कस्तो बनाएको छ ? भन्ने कुरालाई सुक्ष्म अध्ययन गरेर मात्रै मतदानका लागि तयार हुनुपर्छ ।

३) सुशासनको पक्षपाती र भ्रष्टाचार बिरोधी
संसारभर यतिबेला भ्रष्टाचार मुल समस्याका रुपमा देखिएको छ । लामो समयसम्म कर्मचारीले सञ्चालन गरेको स्थानिय निकाय(तह) पनि त्यसबाट अछुतो रहेन् । अझ स्थानिय निकाय(तह)मा सहभागी राजनीतिक संयन्त्र आफैं पनि त्यस्तो बाछिटाबाट मुक्त देखिएको थिएन् । दलिय संयन्त्रको प्रतिनिधी छ भने उसले कस्तो काम गर्यो भनेर हेर्नु पर्छ । उसका आर्थिक क्रियाकलाप कति पारदर्शी थिए र छन् ? भन्ने कुरामा बिशेष ध्यान दिनुपर्छ । अन्यथा हामीले मत दिएको व्यक्ति भ्रष्ट पर्न सक्छ र उसले हाम्रो गाउँघर र शहरको विकास नगरेर उल्टै श्रोत साधनको दोहन गर्न सक्छ ।

४) मत किन्नेलाई बहिस्कार
समाजमा असल र खराब दुबै प्रवृत्तिमा मानिस हुन्छन् । हामीसँग मत माग्न आउनेहरु पनि सबै असल र सबै खराब नहुन सक्छन् । तिनलाई असल र खराबको कित्तामा छुट्याउने जिम्मेवारी हाम्रै हो । मत किनेर निर्वाचन जित्ने परम्परा हाम्रा लागि नयाँ होइन् । यदि तपाईलाई कसैले ‘यति पैसा दिन्छु, भोट मलाई’ भन्यो भने त्यस्ता उम्मेदवारलाई सिधै बहिस्कार गर्नुस् । उसले अहिले तपाईको मतका लागि उपलब्ध गराएको रकम भोली निर्वाचित भएपछि तपाईको गाउँ, शहरको विकास लागि आएको बजेटबाट उठाउनेछ । पैसासँग भोट साट्न खोज्नेहरुसँग सावधान रहनुस, त्यस्ता उम्मेदवारले समाजलाई भष्टाचार र अनियमितताको दलदलमा फसाउनेछ ।

५) राजनीतिक दल की उम्मेदवार ?
अहिले राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरु चुनावी मैदानमा छन् । सबै दल खराब हुँदैनन् र दलका सबै उम्मेदवार असल पनि हुँदैनन् । तपाई हामीले दल र उम्मेदवारलाई गुण र दोषका आधारमा मूल्यांकन गर्नुपर्छ । यो हाम्रालाई भन्दा पनि राम्रालाई छान्ने समय हो । दल भन्दा पनि उम्मेदवारका गुण र दोषका आधारमा मतदान गरियो भने अब विकास हाम्रै घर आँगनमा आउनेछ । शासन प्रशासन तपाई हाम्रै आवश्यकताका आधारमा हामीले नै सञ्चालन गर्न पाउनेछौं । हामीले असल प्रतिनिधीलाई मतदान गरेर आफ्नो प्रतिनिधित्व व्यक्त गर्यौं भने विकास र समृद्धि सम्भव छ । अन्यथा उहि-‘जुन जोगी आएपनि कानै चिरेको’ भने जस्तै हुनेछ । त्यसकारण-‘१२ बर्ष पढायो सिता कस्की जोई ?’ भन्ने मान्यतालाई छाडेर असल प्रतिनिधीलाई मतदान गर्न विवेक प्रयोग गरौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.