चाइनिज डिपोमा इण्डियन तेल, यसरी रोकियो चिनियाँ इन्धन

  २०७४ वैशाख २७ गते १३:४५     विकासन्युज

काठमाडौं चीन सरकारले नेपालमा इन्धन भण्डारणका लागि डिपो स्थापना गर्न चिनियाँ प्राविधिक टोली पठाएको छ । शनिबार नेपाल आएको चिनियाँ टोलीले नेपालका तीन स्थान धादिङ, तनहुँ र काठमाडौं उपत्यकामा अवलोकन गरिरहेको आपूर्ति मन्त्रालयले जनाएको छ ।

सन् २०१६ को मार्च २० देखि २७ तारिखको तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणका क्रममा १५ बुदामा सम्झौता भएको थियो । सोही सौम्झताको आठौं बुदामा इन्धन आयात गर्ने र भण्डारण क्षमता विस्तार गर्ने रणनीतिक सहमती भएको थियो । सोही सहमतीमा आधारित भएर चिनियाँ टोली भण्डारण विस्तारका लागि अध्ययन गर्न आएको आपूर्ति मन्त्रालयका प्रवक्ता सुर्य प्रसाद श्रेष्ठले जानकारी दिए ।

शाक्यले भने, ‘चिनियाँ सरकारले पूर्व सहमतिका आधारमा फलोअपका लागि प्राविधिक टोली शनिबार पठाएको छ । हाल ती टोली धादिङ, तनहुँ र काठमाडौं उपत्यकामा इन्धन भण्डार स्थापनाका लागि आवश्यक स्थानहरुको अवलोकन गरिरहेका छन्।

यसबाहेक नेपाल आयल निगम आफैले सातवटा प्रदेशमा इन्धन भण्डारणका लागि जग्गा प्राप्तिको काम गरिरहेको निगमका निर्देशक सुशिल भट्टराईले जानकारी दिए । उनका अनुसार हाल चितवन र सर्लाहीमा जग्गा प्राप्तिको काम सम्पन्न भएको छ ।

इन्धन ल्याउने प्रक्रिया अगाडी बढेन

पूर्व सहमतीमा चिनियाँ इन्धन ल्याउने कुरा पनि समावेश भएतापनि हालसम्म सो प्रकृया अगाडी बढ्न सकेन ।

सोही सहमतीपछि सन् २०१६को अक्टोबरमा चिनियाँ कम्पनी सिनोम्याकले इन्धन कारोबारका लागि प्रस्ताव अगाडी बढाएको थियो । प्रस्तावमा चिनियाँ राष्ट्रपति सि जिङपिङ नेपाल आउने मौका पारेर प्रस्ताव गर्ने उद्देश्य रहेको उल्लेख गरिएको छ । पछि कुटनीतिक कारणवश चिनियाँ राष्ट्रपतिको भ्रमण स्थगित भयो । उक्त प्रस्ताव मन्त्रालयमा थन्किएर बसेको र हालसम्म कुनै कारबाही अगाडी नबढाइएको मन्त्रालय स्रोतले जनाएको छ । स्रोतका अनुसार सरकार परिवर्तनसँगै चीनबाट इन्धन आपूर्ति गर्ने कुरा सेलाएको छ ।

आपूर्ति सचिवका अनुसार पुर्वाधार निर्माण नभएसम्म चिनियाँ इन्धन ल्याउन असम्भव रहेको बताए । उनले भने, ‘चीनबाट इन्धन ल्याउदाँ भौतिक जटिलता हेर्नुपर्छ । बिनापूर्वाधार हावाबाट इन्धन ल्याउने कुरा भएन ।’

हालसम्म भारतलेमात्र नेपालमा इन्धन वितरण गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.