धरहरामा लगानी गरेर नाफा कमाउन सकिन्छः राजभण्डारी

  २०७४ वैशाख १३ गते १५:२८     कामिनी राजभण्डारी

धरहरामा नेपाल टेलिकमले लगानी गर्ने भन्ने निर्णय सरकारले गरेको हो । सरकारले नै हामीलाई बनाउन भनिसकेपछि हामी चैँ पछि हट्ने कुरै भएन् । धरहरा बनाउन दुई तीन अर्ब लगानी आवश्यक पर्ने प्रारम्भिक प्रक्षेपणहरु भएका थिए । त्यससँगै हामीले धरहरामा लगानी गरेपछि त्यस्तो लगानी कसरी उठाउने भन्नेबारे अध्ययन गर्नु आवश्यक ठान्यौं ।

सूचना तथा सञ्चार मन्त्रालयले पनि धरहरा निर्माण, सञ्चालन र हस्तान्तरणका लागि हामीसँग रोलआउट प्लान माग्यो । सोही अनुसार हामीले लगानी वापत कसरी आम्दानी गर्ने भन्ने पुर्ण अध्ययन गर्न समिति गठन गरेका थियौं । सो समितिले अध्ययन गरेर प्रतिवेदन तयार पारिसकेको छ ।


कति लगानी गर्ने र कसरी नाफा कमाउने भन्नेबारे ठोस अध्ययन सम्पन्न भएको हो । हामीले अध्ययनका लागि विज्ञ टोली नै गठन गरेका थियौं । त्यसले रिपोर्ट दिईसकेको छ । लगानी गरेपछि नाफा कमाउनु पर्छ । टेलिकम भनेको पब्लिक कम्पनी पनि हो त्यसकै मान्यता अनुसार हामीले लगानी गर्दै जाने हो ।

हाम्रो अध्ययनले धरहरामा लगानी गरेर नाफा कमाउन सकिन्छ भन्ने देखाई सकेको छ । कुन आधारमा लगानी गर्ने, कति समयमा लगानी फिर्ता हुन्छ ? भन्ने एकिन भैसकेको मोडालिटीबारे टेलिकम सञ्चालक समितिमा छलफल भैरहेको छ । हामीले धरहरा मात्रै बनाईरहेका छैनौं । अहिले टक्सार विभाग र हुलाकको जमिन पनि थपिएको छ ।

धरहराको डिजाइन बनाईरहेको केस कन्सल्टेण्टका अनुसार ४२ रोपनी क्षेत्रफलमा फैलिएको स्थानमा निर्माण गरिने धरहरा दुई सय ४५ फिट अग्लो हुनेछ । र २ अर्ब ८० करोड जति लागत अनुमान गरिएको छ । हामीले भने लगानी गरेर कसरी उठाउने भन्नेबारे अध्ययन गरेका हौं । कति लगानी गर्ने भन्ने कुरा डिजाइनमा भर पर्छ जसको अहिले नै टुंगो लागिसकेको छैन् ।

धरहरा भनेको नेशनल आइकोन पनि हो । त्यसको निर्माण गर्न पाउनु हाम्रो लागि ठुलो अवसर हो । आजको भोली नै नाफा कमाउने गरि हामीले बनाउन लागेका होइनौं । तर केहि नाफा पनि चाहिन्छ नै । यसको निर्माण बुट मोडल अन्तर्गत बनाउने हो । अर्बौ लगानी गर्नुपर्ने भएकाले पब्लिक कम्पनीले केहि नाफा त कमाउनै पर्छ ।

मै बनाउँछु धरहराका लागि १८ करोड जति पैसा उठेको भन्ने कुरा आएको छ । त्यो रकम हामीले उपयोग गर्ने की नगर्ने भन्नेबारे एकिन भैसकेको छैन् । भूकम्प गएको २ बर्ष पुरा भएको छ । हामीलाई धरहरा बनाउन मन्त्रि परिषदले अनुमति दिएको पनि लामो समय भैसक्यो । नेपाल टेलिकमले आफ्नो तर्फबाट लगानी गर्ने सबै तयारी पुरा गरिसकेको छ । अब बल सरकारको कोर्टमा छ ।

पुरातत्व विभाग, पुननिर्माण प्राधिकरण र सरकारले आफ्नो तयारी गर्न बाँकी छ । तर हामी जुनसुकै दिन निर्माण सम्झौताका लागि तयार छौं । धरहरा बनाउन हामीलाई दिने सम्झौता गरेको कति समयमा के के काम गर्ने ? कहिलेसम्म बनाउने भन्ने ठोस योजना नै हामीले तयार पारिसकेका छौं । हामी सम्झौताका लागि सम्पुर्ण रुपले तयार छौं । तीन चार महिना भित्रै धरहरा निर्माणको सम्झौता हुने सम्भावना बढि रहेको छ । (नेपाल टेलिकमकी महाप्रबन्धक कामिनी राजभण्डारीसँग गरिएको कुराकानीमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.