काठमाडौं महानगरपालिकाले थाल्यो सडक पखाल्ने अभियान, महानगर प्रमुख भन्छन्–‘काठमाडौंमा नो हर्न, नो डस्ट’ अभियान सँगसँगै

  २०७४ वैशाख ११ गते २१:१३     विकासन्युज

काठमाडौं । काठमाडौंका सडकमा भएको धुलोका कारण उत्पन्न वायु प्रदुषण नियन्त्रण गर्न महानगरपालिकाले आज (बैशाख ११ गते) राती ९ बजेदेखि सडक पखाल्ने भएको छ । महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत ईश्वरराज पौडेलले आज राती साढे ९ बजेबाट धुलो पखाल्ने अभियानको शुरुवात गर्दैछन् ।


‘आज राती ९ः३० बजेबाट सडक पखाल्ने काम शुरु गर्दैछौं’ प्रमुख कार्यकारी अधिकृत पौडेलले विकासन्युजसँग भने–‘अब हरेक दिन राती ९ बजेदेखि १२ वर्षसम्म सडकको धुलो र फोहोर पखाल्ने अभियान चलाउने छौं ।’

कार्यक्रमको पहिलो तीन दिन आफै उपस्थित भएर सडक पखाल्ने र तीन दिनको अनुभवका आधारमा निश्चित कार्ययोजना बनाएर निरन्तर सडक सफा बनाउने अभियान चलाउने उनले बताए ।

आज ४ वटा पानी ट्याङकर र २ वटा दमकल परिचालन गरि सडक पखाल्न शुरु गरिने छ । ‘एउटा पानी ट्याङकरले कति किलोमिटर पखाल्छ, दमकलले कति किलोमिटर पखाल्छ, आफैले हेर्छु । त्यसको आधारमा कार्ययोजना बनाएर अनुगमन गर्छु’ पौडेलले भने ।

उनका अनुसार शुरुमा चक्रपथभित्र मेलम्चीको खानेपानी पाईप विछ्याउने खनिएका बाहेकका सडक पखालिने छ । क्षमताअनुसार नियमित कार्यतालिका बनाएर सडक पखाल्ने काम हुनेछ । मेलम्चीको खानेपानी पाईप विछ्याइएका सडकमा धुलो कम गर्न हरेक दिन विहान पानी हालिनेछ ।

त्यस्तै, महानगरभित्र घर निर्माण गर्न जम्मा गरिएको निर्माण सामाग्री हटाउने, महानगरभित्रका सबै सडकमा रहेका खाल्टाखुल्टी पुर्ने, पिच गर्ने काम पनि अभियान कै रुपमा थालिएको उनले बताए ।

‘काठमाडौंमा नो हर्न अभियान धेरै सफल भएको छ, अब नो डस्ट (धूलो मूक्त) बनाउने प्रयास हुन्छ । यसलाई सफल बनाउनुपर्छ’ उनले भने–‘सडकलाई धूलो मुक्त बनाउन र सहरलाई ग्रिनरी (हरियाली) बनाउन महानगरपलिकाले नागरिकस्तरमा अभियान चलाउनेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.