भूकम्पको २ बर्षः कति बने जनताका घर ? कति ठडिए पुरातात्विक संरचना ?

  २०७४ वैशाख ११ गते १७:३१     विकासन्युज

काठमाडौं । भूकम्प गएको २ बर्ष पुरा हुनु एक दिन अघि पुननिर्माणको जिम्मेवारी पाएको राष्ट्रिय पुननिर्माण प्राधिकरणले प्रगति विवरण सार्वजनिक गरेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा.डा. गोबिन्द्र पोखरेलको उपस्थितिमा हालसम्मको पुननिर्माणको प्रगति विवरण सार्वजनिक गरिएको हो ।

जस अनुसार ६ लाख २६ हजार, ६ सय ९५ परिवारलाई लाभग्राही सूचिमा समावेश गरिएको छ । तीमध्ये पाँच लाख ६२ हजार २ सय ७८ परिवारसँग अनुदान सम्झौता सम्पन्न भएको छ भने ५ लाख ४३ हजार ६ सय ६ परिवारले पहिलो किस्ताको ५० हजार रुपैंयाँ प्राप्त गरेका छन् ।

४९ हजार ६ सय ८१ परिवारले घर बनाउन आरम्भ गरेका छन भने ३४ हजार २ सय ९४ परिवारले दोश्रो किस्ताका लागि निवेदन दिएका छन् । तीमध्ये १४ हजार ५ सय ५७ परिवारको घर दोश्रो किस्ताका लागि प्रमाणिकरण गरिसकिएको छ । नागरिक आफैंले १८ हजार ६ सय ३३ वटा घर बनाईसकेका छन् ।

विश्व सम्पदा सूचिमा समावेश भएका ९० वटा संरचनामध्ये बौद्धनाथको स्तुपाको मात्रै पुननिर्माण सम्पन्न भएको छ । बाँकी ८९ वटा सम्पदाको पुननिर्माण अघि बढिरहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेलले बताए । विश्व सम्पदा सूचिमा रहेका पाटन दरबार स्क्वायरका २८, बसन्तपुरका १२, भक्तपुरका १९, स्वयम्भुका ४, पशुपतिका २१ र चाँगुनारायणका ५ सम्पदाको निर्माण भैरहेको छ ।
ऐतिहासिक महत्वका अन्य २० वटा सम्पदाको पनि पुननिर्माण सम्पन्न भएको छ ।

भूकम्पले १३३ वटा ऐतिहासिक सम्पदामा पुर्ण क्षति पुर्याएको थियो भने ६१७ वटामा आंशिक क्षति पुर्याएको थियो । हालसम्म बिभिन्न गैर सरकारी संस्थाहरुको सहयोगमा ११४२ वटा विद्यालय भवनहरुको पुननिर्माण सकिएको छ भने १०५१ वटाको पुननिर्माण धमाधम अघि बढिरहेको छ ।

भूकम्पले भत्काएका ४४० वटा स्वास्थ्य संस्थामध्ये २०० वटा संस्थाको पुननिर्माण सम्पन्न भएको छ । जोखिमयुक्त बस्तीका रुपमा प्रारम्भिक पहिचान गरिएका ४७५ वटा बस्तीमध्ये ३१७ वटाको भौगर्भिक अध्ययन सम्पन्न भएको छ । १५८ वटा बस्तीको भौगर्भिक अध्ययन जारी रहेको छ । अध्ययन सम्पन्न भएका बस्तीमध्ये १११ वस्ती सार्नुपर्ने अवस्थामा रहेका छन् ।

हामी पास मात्रै भयौंः पोखरेल
भूकम्प गएको २ बर्षसम्म पनि पुर्ननिर्माणको कामले अपेक्षाकृत गति लिन नसकेको स्विकार गर्दै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेलले प्राधिकरण पास मात्रै भएको बताए । ‘आफैंले आफैलाई कसरी फेल भन्नु ? हामी बल्लतल्ल पाससम्म भएका छौं’, पोखरेलले भने । उनले गाउँमा घर बनाउने जनशक्तिको चरम अभाव रहेको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.