२०७४ वैशाख १० गते १५:०७ विकासन्युज
काठमाडौं । स्वास्थ्य कर कोषबाट धूमपान तथा सुर्तीजन्य पदार्थ प्रयोगबाट उत्पन्न हुने रोग नियन्त्रण, रोकथाम, निदान र उपचारका लागि अनुदान माग गर्दै दुई सय ७३ गैरसरकारी अस्पताल र संस्थाले स्वास्थ्य मन्त्रालयमा निवदेन दर्ता गराएका छन् ।
मन्त्रालय, स्वास्थ्य कर कोषको सचिवालयको कार्यालयले गत फागुन ६ गते कर कोष रु चार करोड रकमका लागि गैरसरकारी संस्थाबाट मापदण्ड पूरा गरी निवेदन पेस गर्न सूचना निकालेको थियो ।
मन्त्रालयका कानुन उपसचिव शम्भुराम रेग्मीले परेका निवेदनमध्ये मापदण्ड पूरा नगरेका निवेदन मूल्याङ्कनमै नजाने र मूल्याङ्कनयोग्य भएका संस्थाले प्राप्त अङ्कका आधारमा रकम पाउने बताए ।
रकम दाबी गरी पेस गरिएको निवेदनमा संस्था दर्ताको प्रमाणपत्र, नवीकरणको प्रमाणपत्र, संस्थाको विधान÷उद्देश्य र अघिल्लो आवको करचुक्ता प्रमाणपत्र अनिवार्य रुपमा पेस गरेको हुनुपर्ने रेग्मीले जानकारी दिए ।
सचिवालयले मूल्याङकन उपसमिति पनि गठन गरेको छ । उपसमितिमा उपसचिव रेग्मी, मन्त्रालयका लेखा अधिकृत सुरेश शर्मा र स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका प्रमुख छन् ।
लेखा अधिकृत शर्माले छिट्टै मूल्याङ्कनको काम सुरु गरिने जानकारी दिए । कम्तीमा ४० अङ्क प्राप्त गर्ने संस्था अनुदान पाउनयोग्य हुने छ । सरकारले जनताको स्वास्थ्य, सुविधा र आर्थिक हितको अभिवृद्धि गर्न सुर्तीजन्य पदार्थको आयात, उत्पादन, बिक्री, वितरण तथा सेवन गर्ने कार्यलाई न्यूनीकरण, नियन्त्रण तथा नियमन गर्ने उद्देश्यले सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ तथा सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) नियमावली र निर्देशिका जारी गरी कार्यान्वयनमा ल्याएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.