बचत खाताको ब्याजदर ८ प्रतिशतसम्म,साधारण बचत कर्तालाई फाइदा

  २०७४ वैशाख १० गते १२:२९     विकासन्युज

काठमाडौं । बाणिज्य बैंकहरुले बचत खाताको ब्याजदर धमाधम बढाउन थालेका छन् । पछिल्लो केहि समयदेखि बाणिज्य बैंकहरुले बचत खाताको ब्याजदर ८ प्रतिशतसम्म पुर्याएका छन् । आइतबार सानिमा बैंकले नयाँ ब्याजदर सार्वजनिक गर्दै बचत खातामा ८ प्रतिशत ब्याज दिने घोषणा गरेको छ । यस अघि ५ प्रतिशत रहेको सानिमा सम्पन्न बचत खाताको ब्याजर ३ प्रतिशतले बढाएर ८ प्रतिशत पुर्याएको छ । एक लाख न्युनतम मौज्दात चाहिने यस्तो खाताको ब्याज भुक्तानी मासिक रुपमा हुनेछ ।

त्यस्तै शुन्य मौज्दातको सानिमा नारी बचत खाताको ब्याजदर पनि ३ प्रतिशतले बढेर ६ प्रतिशत पुर्याएको छ ।‘मौद्रिक नीतिको मध्यावधि समिक्षा र बजारको अवस्थालाई हेरेर बचत खाताको ब्याजदर बढाएका हौं, यसले साधारण बचत कर्ताको पक्षपोषण गर्छ’, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले विकासन्युजसँग भने ।

मौद्रिक नीतिको मध्यावधी समिक्षामा भनिएको थियो–‘माग तथा अल्प सूचनामा आधारित निक्षेप(कल डिपोजिट)लाई पारदर्शी र यथार्थपरक बनाउन हाल बैंक तथा वित्तीय संस्थाहरुले व्यक्तिगत तथा संस्थागत दुबै किसिमको निक्षेप संकलन गर्ने गरेकोमा माग तथा अल्प सूचनामा आधारित निक्षेप(कल डिपोजिट)मा साधारण बचत खातामा प्रदान गरिने भन्दा बढी ब्याज प्रदान गर्न नपाइने व्यवस्था मिलाइनेछ ।’

सिभिल बैंकले पनि बचत खातामा ७ प्रतिशतसम्मको ब्याजदर कायम गरिसकेको छ । मेगा बैंकले पनि बचत खातामा पाँच दशमलब ५ प्रतिशत ब्याजदर अघि सारेको छ । एनसीसी बैंकले एक हजार रुपैंयाँ मौज्दातको बखत खातामा ६ प्रतिशत ब्याजदर दिईरहेको छ । प्राइम कमर्सियल बैंकले बचत खातामा ७ दशमलब २५ प्रतिशत ब्याजदर दिएको छ ।

बजारमा लगानी योग्य पूँजीको अभाव सुरु भएसँगै बैंकहरुले ब्याजदर वृद्धि गरेका थिए । तर बचत खाताको ब्याजदर भने न्युन नै थियो । कल डिपोजिटमा बचत खाताको भन्दा धेरै ब्याजदर दिन नपाउने केन्द्रिय बैंकको सर्कुलरपछि बैंकहरुले धमाधम बचत खाताको ब्याजदर पनि वृद्धि गर्न थालेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.