२७ अर्ब लागतको काठमाडौं नुवाकोट सुरुङमार्गलाइ बुट मोडलकाे प्रस्ताव, थान्सिङमा पनि स्मार्ट सिटी

  २०७४ वैशाख १० गते ९:४८     विकासन्युज

काठमाडौं । काठमाडौंको टोखादेखि नुवाकोटसम्म जोड्ने ४ किलोमिटरको सुरुङमार्ग बनाउन २७ अर्ब रुपैयाँ लागतको अनुमान गरिएको यो मार्ग बनाउन चिनियाँ कम्पनीले बुट मोडलको प्रस्ताव गरेको शहरी विकास मन्त्री अर्जुननरसिंह केसीले बताएका छन् ।

सुुरुङमार्गको फाइल स्केच

उनका अनुसार काठमाडौंलाई छोटो समयमा नै जोड्न सक्ने यो सुरुङमार्ग काठमाडौंको टोखाबाट सुरु भएर नुवाकोटको थानसिंह फाँटसम्म निस्कने बाटोका लागि हुने उल्लेख छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अगाडि सारेको यो सुरुङमार्गको प्रस्तावमा शिवपुरी डाँडा छेडेर टोखाबाट नुवाकोटको थानसिंह फाँटसम्म सुरुङमार्गको निर्माण गरिने पनि उल्लेख छ ।

सहरी विकास मन्त्री केसीका अनुसार काठमाडौंबाट टोखा हुँदै नुवाकोट जाने सडक निर्माणसँगै बन्ने यो सुरुङमार्ग निर्माणमा चिनियाँ कम्पनी चाइना मेसिनरी इन्जिनियरिङ कर्पोरेशन (सीएमईसी)ले रुची देखाएको छ । यो कम्पनीले निर्माण, संचालन र स्वामित्व हस्तान्तरण (बुट) मोडलमा सडकसहितको सुरुङमार्ग निर्माण गर्ने चाहेको छ ।

यही प्रस्तावलाई सरकारले स्वीकृत गराउनुपर्ने भएकाले भौतिक योजनाले आवश्यक प्रक्रिया अगाडि बढाउने अर्थ मन्त्रालयको स्वीकृतिपनि माग गरेको छ ।

टोखादेखि नुवाकोटको थानसिंह फाँटसम्म जम्मा चार किलोमिटर रहेको सो सुरुङमार्ग निर्माण गर्न सरकारले एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक (एआईआईबी)ले पेश गरेको प्रस्तावलाई आधार बनाएको छ । यो मार्ग बनाउन करिब २७ अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको भौतिक योजना तथा यातायात मन्त्रालयले जानकारी दिएको छ ।

यो कम्पनीले सडक विभागले काठमाडौंबाट नुवाकोट प्रवेश गर्ने सुरुङमार्ग बनाउन अगाडि सारेको योजनालाई ऋणसहयोग जुटाउन पनि कम्पनी आफैं तयार रहेको उल्लेख छ । काठमाडौंबाट टोखा हुँदै जाने सुरुङमार्गसहितको यो सडक ३४ किलोमिटरको छ ।

काठमाडौको टोखाबाट ४ किलोमिटरसम्मको सुरुङमार्ग बनाएर नुवाकोटको छहरे निकालिने यो सडक थान्सिङफाँट हुँदै विदुर जोड्ने बाटोसम्म पुग्छ । सरकारले ८५ किलोमिटरको गल्छी—विदुर—रसुवागढी सडक विस्तारको कामलाईसमेत प्राथमिकता दिइरहेको छ । यो बाटो चिनियाँ सिमानासम्म पुग्ने छ । नुवाकोट निस्किएर चिनियाँ सीमान पुग्न पनि यो मार्ग काठमाडौंबाट छिटो र उपयुक्त विकल्पन हुन सक्ने पनि उल्लेख छ ।

थान्सिङमै स्मार्ट सिटी
मध्यपहाडि लोकमार्गमा सरकारले विभिन्न १० वटा स्मार्ट सिटी बनाइरहेको छ । तर, यो सडकले नछोएको र स्मार्ट सिटी बनाउने घोषणा नभएका अन्य स्थनमा पनि आवश्यकता परेको नुवाकोटको थान्सिङमा स्मार्ट सिटी बनाउने योजना रहेको सहरी विकास मन्त्री केसीले बताए ।

उनका अनुसार मध्यपहाडि लोकमार्गले नुवाकोटलाई नछोएको र यहाँ पनि स्मार्ट सिटीको राम्रो स्थान भएकोले अवधारणा अगाडि सारिएको हो ।  सरकारले मध्यपहाडी लोकमार्गको छेउछाउमा विकास गर्न लागिएको दशवटा शहरको काम अगाडि बढाइरहेको छ । मध्यपहाडी लोकमार्गको छेउछाउमा विकास गर्न लागिएको दश वटा शहरको आर्थिक, भौतिक तथा सामाजिक पूर्वाधार निर्माणको काम शुरु भइसकेकोे छ ।

१० सहरको योजना तयार हुँदै
चालु आर्थिक वर्षभित्रै दसवटै शहरको स्वीकृत विकास योजना तयार हुने छ । सरकारले आर्थिक वर्ष २०६७—६८ को नीति तथा कार्यक्रममा मध्यपहाडी लोकमार्गको निर्माण तथा सो लोकमार्गको छेउछाउमा दशवटा नयाँ शहर विकास गर्ने घोषणा गरेको थियो ।

आर्थिक विकासको सम्भाव्यता, जमिनको उपलब्धता, जनसंख्या तथा यातायातको सुगमताको आधारमा सरकारले दुई वर्षअघि बीस वर्षीय गुरुयोजना तयार गरी चरणबद्ध रूपमा नयाँ सडक शहर विकास गर्ने लक्ष्य राखेको छ ।

सरकारले मध्य पहाडी लोकमार्गअन्तर्गत पाँचथरको फिदिम, तेह्रथुमको वसन्तपुर, सिन्धुलीको खुर्कोट, धादिङको बैरेनी–गल्छी, तनहुँको डुम्रे भन्सार, बागलुङको बुर्तिवाङ, रुकुमको चौरजहारी, दैलेखको राकम कर्णाली, अछामको साँफेबगर र बैतडीको पाटनमा आधुनिक सुविधासम्पन्न शहर निर्माण गर्न लागेको हो ।

प्रस्तावित हरेक नयाँ शहर हरेकमा एक लाख मानिस बसोबास गराउन सक्ने गरी सम्पूर्ण सुविधा र पूर्वाधार बनायने भएको छ । यी शहरको निर्माणपछि हिमाल र पहाडबाट तराई झर्नेहरूको संख्या कमी आउने र राजधानी लगायत ठूला शहरमा हुने बसाइ सराइ न्यून हुने विश्वास गरिएको छ ।

प्रत्येक शहरमा बस पार्क, मनोरञ्जन पार्क, तरकारी बजार, सीमानासम्म जोड्ने सडक, खानेपानी, खेलकुद मैदानसहितको आधुनिक बस्ती, विद्यालय, अस्पताल, औद्योगिक क्षेत्रलगायत पूर्वाधारको विकास गरिने उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.