एक बर्षसम्म आएन पेट्रोलियम खानी अन्वेषणको चिनियाँ रिपोर्ट

  २०७४ वैशाख ९ गते ९:०५     विकासन्युज

काठमाडौं । एक बर्ष अघि अर्थात गत अप्रिल ३० तारिखमा नेपाल आएको ६ सदस्यीय चाइना जिओलोजिकल सर्भेको टोलीले सुर्खेत–दैलेख, बुटवल–पाल्पा र चतरा–बराह क्षेत्रमा रहेका पेट्रोलियम खानीहरुको अध्ययन गरेको थियो । सो टोलीले ती खानीको प्रारम्भिक सम्भाव्यता अध्ययन गरेर मे २६ तारिखका दिन चीन फर्किएको थियो । उनीहरुले यी तीन क्षेत्रमा रहेका श्रोत चट्टान र पेट्रोलियम अन्वेषण परियोजनासँग भएका तथ्यांकहरुको गहिरो अध्ययन गरेका थिए ।

चिनियाँ टोलीले ल्याब परिक्षणका लागि सो क्षेत्रका चट्टान र माटोको नमूना चीन लगेका थिए । तिनै नमुनाको परिक्षणबाट सो क्षेत्रमा प्रयोग गर्न सकिने पेट्रोलियम पदार्थ रहेको प्रारम्भिक अनौपचारिक रिपोर्ट चीनले गत असोजमै नेपाल पठाएको पनि थियो थियो ।

त्यस्तो रिपोर्ट आएपछि उद्योग मन्त्रालयले परराष्ट्र मन्त्रालय मार्फत चीन सरकारलाई आधिकारीक रिपोर्ट उपलब्ध गराउन आग्रह गर्दै पत्र लेख्यो । चाइना जिओलोजिकल सर्भेले थप अध्ययन भैरहेको जानकारी दिएको थियो । लामो समयसम्म चीनले कुनै औपचारिक जानकारी नगराएपछि नेपालले फेरी अर्काे पत्र पठायो तर पनि चीनले कुनै प्रतिक्रिया जनाएको छैन् ।‘हामीले परराष्ट्र मन्त्रालय मार्फत चीन सरकारलाई २ पटकसम्म पत्र लेखिसक्यौं, तर उनीहरुले रिपोर्ट अझै पठाएका छैनन’, उद्योग मन्त्रालयका एक अधिकारीले भने ।

नेपालले पुस दोश्रो साता चीनलाई पहिलो पत्र लेखेको थियो भने चैतमा पुनः अर्काे पत्र पठाएको पनि उनले जानकारी दिए ।
उद्योग मन्त्री नविन्द्रराज जोशीले पनि चाइना जिओलोजिकल सर्भेको प्रारम्भिक रिपोर्ट सकारात्मक रहेको बताउँदै औपचारिक रिपोर्टका लागि आग्रह गरिएको बताउँदै आएका छन् ।

पत्रमा थप अनुसन्धानका लागि पनि चिनियाँ टोलीलाई आग्रह गरिएको छ । तत्कालिन प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा नेपालमा रहेका पेट्रोलियम खानीहरुको उत्खननका लागि चीनले सघाउने सम्झौता भएको थियो । सोही सम्झौताका आधारमा चीनियाँ टोलीले पहिलो चरणको अन्वेषण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.