दूरसञ्चार सेवाको गुणस्तर सम्बन्धी नियमावली पास, कुरा गर्दा गर्दै फोन काटिए रकम फिर्ता, माग गरेको ४ घण्टाभित्र इन्टरनेट सेवा अनिवार्य

  २०७४ वैशाख ७ गते १५:१९     विकासन्युज

काठमाडौं । नेपाल दूर सञ्चार प्राधिकरणले टेलिफोन तथा इण्टरनेट सेवालाई भरपर्दो बनाउन तथा सेवाको गुणस्तर मापदण्डसहित क्षतिपूर्ति र दण्डजरीवानाको व्यवस्था गरेको छ । प्राधिकरणले फोन गर्दा गर्दै काटिँदा पछिल्लो पल्स अवधिको रकम सेवाप्रदायकले ग्राहकलाई फिर्ता गर्नुपर्ने व्यवस्थासहित आज नियमावली सार्वजनिक गर्दैछ ।

‘गुणस्तरसम्बन्धी विनियमावली प्राधिकरण बोर्ड बैठकबाट औपचारिक रूपमा बुधबार पारित भएको र आज बिहीबार प्राधिकरणको वेव साइटमा राखेर सार्वजनिक गरिने प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए । आगामी साउन १ देखि विनियमावली कार्यान्वयमान आउने नियमावलीमा नेटवर्कका कारण कल काटिएमा सेवाप्रदायकबाट त्यसको क्षतिपूर्ति भराउने व्यवस्था गरिएको छ । ‘अब उपभोक्ताले कल काटिएमा वा कुनै रोकावट आएमा उक्त अवधिको रकम फिर्ता पाउने छन् ।

विनियमावलीमा व्यवस्था गरिएको मापदण्डअनुसार गुणस्तरीय सेवा दिन नसकेमा  सेवा अवरुद्ध भएमा वा सेवा उपलब्ध नभर अवरुद्ध भएमा सेवा उपलब्ध हुन नसकेको समय बराबरको रकम क्षतिपूर्ति स्वरूप सेवा प्रदायकले ग्राहकलाई प्रदान गर्नु पर्ने व्यवस्था नियमावलीले गरेको छ ।

सेवाप्रदायकहरूले दूरसञ्चार सेवाको गुणस्तर मापन गरी प्रत्येक तीन तीन महिनामा नियमित रूपमा त्यसको प्रतिवेदन प्राधिकरणसमक्ष पेश गर्नुपर्नेछ । सेवाप्रदायकहरूले त्रैमासिक रूपमा विभिन्न स्थानमा गरिएको गुणस्तर परीक्षण तथा मापनको परिणाम तथा सर्वेक्षणको नतिजा तोकिएको अवधि समाप्त भएको ७ दिनभित्र प्राधिकरणमा बुझाउनु पर्ने छ ।

प्रतिवेदनमा फोनकल तथा एसएमएसकोे अवधि, फोन कलहरूबीचको अन्तराल, सेवाको कभरेजको आधारमा व्यस्त समयमा ड्राइभटेष्ट गरी सेवाको गुणस्तर मापन गर्नुपर्ने र त्यसको विवरण उल्लेख गर्नुपर्नेछ ।  साथै प्राधिकरणले त्यसक्रममा गुणस्तरसम्बन्धी दिएको निर्देशन तीन पटकसम्म अटेर गरेमा सेवा प्रदायकको अनुमति पत्र खारेज गर्न सकिनेसम्मको व्यवस्था गरेको छ । प्राधिकरणले कुनै समस्या देखिए सुधारका लागि निश्चित समयावधि तोकी सेवाप्रदायकलाई निर्देशन दिन सक्ने छ । निर्देशनअनुरूप गुणस्तर सुधार नगरेमा प्राधिकरणले सेवाप्रदायकलाई दूरसञ्चार ऐन बमोजिम जरीवानासहित सुधारको अर्को मौका दिनेछ । प्राधिकरणले पनि नियमित रूपमा कुनै निश्चित स्थान र अवधिको अन्तरालमा कुनै विशेष प्रकारको गुणस्तर सम्बन्धी परीक्षण, मापन तथा सर्वेक्षण गर्न सक्ने व्यवस्था गरेको छ ।

नियमावली अनुसार नेटवर्क नआउने समय १ महीनाको समयावधिमा नचलेका सम्पूर्ण साइटको औसत १ प्रतिशतभन्दा कम हुनु पर्ने छ भने फोन डायल गरेको समय र रिङ्गटोन बज्ने समयको अन्तर ५ सेकेण्डभन्दा कम हुनुपर्ने छ ।

फोनमा कुरा गरिरहँदा आफै फोन काटिने दर र तारयुक्त सेवामा १ प्रतिशत र मोबाइल सेवामा २ प्रतिशत निर्धारण गरिएको छ । मोबाइल सेवाको कभरेज हुँदाहुँदै पनि ग्राहकले फोन गर्दा नलाग्ने दर पनि २ प्रतिशतभन्दा कम हुनुपर्ने नियमावलीमा उल्लेख गरिएको छ । यसको मापन कुनै व्यक्तिले १ महीनाको अवधिमा गरेका कलहरूको संख्यालाई आधार मानेर गरिने प्राधिकरणले जनाएको छ ।

इण्टरनेट तथा डाटा सेवाको गुणस्तरका सम्बन्धमा ग्राहकले डाटा खरिद गरेको  ४ घण्टाभन्दा सेवा सुचारु भइसक्नु पर्नेछ । यसैगरी डाटा अपलोड सफल हुने दर ५५ देखि ७५ प्रतिशतभन्दा बढी हुनुपर्ने, लक्षित टर्मिनलसम्म सूचना वा डाटा पुग्न लाग्ने समय (लिटेन्सी) २ सय ५० मिलिसेकेण्ड भन्दा कम हुनुपर्ने व्यवस्था  गरिएको छ ।

प्राधिकरणले सेवाप्रदायकलाई क्षतिपूर्तिको व्यवस्था कार्यान्वयनका लागि आवश्यक तयारी तथा उपकरण जडान गर्न समय लाग्ने भएकोले साउन १ गतेदेखि उक्त नियमावली लागु हुने व्यवस्था गरेको हो  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.