फलफुलको भाउ ५४ प्रतिशतसम्मले बढ्यो, औंशीमा फलफुलको माग चार गुणाले बढ्ने

  २०७४ वैशाख ७ गते १०:०५     विकासन्युज

काठमाडौं । मातातिर्थ औंशी नजिकिँदै गर्दा राजधानीमा फलफुलको खपत बढेपनि मूल्य भने बढेको छ । औंशीमा एकैपटक माग बढ्ने भएकाले नेपालको उत्पादन अपुग हुने गरेको छ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितीका अनुसार एक महिनामा ५४ प्रतिशतसम्मले बढेको छ ।

समितिका अनुसार एक महिनामा अनारको भाउ ३२.५६ प्रतिशतले बढेको छ । हाल अनार प्रति किलो दुई सय ८५ रुपैयाँमा बिक्री भइरहेको छ । त्यस्तै सुन्तलाको भाउ ५४.५५ प्रतिशतले महंगिएको छ । मेवाको भाउ १४.५७ प्रतिशतले बढेको छ ।

उत्पादन पर्याप्त मात्रामा नहुँदा भारत र चीनबाट आयात गर्नुपर्ने भएकाले फलफुल महंगोमा बिक्री गर्नुपर्ने बाध्यता रहेको नेपाल फलफुल थोक व्यवसायी संघका अध्यक्ष अम्बर बानियाँले बताए । कुशे औंशीमा विशेषगरी केरा, स्याउ, सुन्तला र अनारको खपत बढ्ने गरेको उनले बताए ।

औंशीमा फलफुलको माग चार गुणाले बढ्ने भएकाले उपत्यकामा दोब्बर मात्रामा आयात भइरहेको छ । बानियाँका अनुसार कुशे औंशीमा फलफुलको कारोबार चार गुणाले बढ्छ । उनले भने, ‘१३ गते कुशे औंशीपरेकाले त्यसको ठिक चार दिन अगाडीदेखि फलफुलको कारोबार बढ्न थाल्छ ।’

गर्मीमा सबैभन्दा बढी खपत

उपत्यकामा गर्मीमा सबैभन्दा बढी फलफुलको खपत हुने गरेको छ । गर्मीमा सबैभन्दा बढी खरबुजा, सुन्तला, मेवा, अनार र आपको माग हुने गरेको बानियाँले बताए ।

‘अहिले राजधानीमा दैनिक ४० टनका दरले मेवा, खरबुजा, सुन्तला र आपको खपत हुने गरेको छ भने अनार दैनिक २५ टन खपत हुने गरेको छ। यो एक महिना अगाडीको तुलनामा दोब्बर हो, ‘ उनले भने ।

सुन्तलाको अभाव

भारतमा अत्याधिक तापक्रमका कारण सुन्तलाको उत्पादन घटेपछि बजारमा सुन्तलाको अभाव रहेको बानियाँले जानकारी दिए ।

‘ भारतमा तापक्रम बढेर सुन्तलाको उत्पादन घटेको छ । गर्मीले सुन्तलामा रस पनि लागेका छैनन् । अहिले व्यापारीहरुले कोल्ड स्टोरमा स्टक रहेको सुन्तलाको मात्र बिक्री गरिरहेका छन् ,’ उनले भने ।

फलफुलको एक महिनाको तुलनात्मक मूल्य सूची

फलफुल (किलोमा) चैत ७ गते, २०७३ बैशाख ७ गते, २०७४
अनार २१५ २८५
अंगुर १०५ ११५
सुन्तला ५५ ८५
तरबुजा ३३ २२
मौसम १०५ १०५
मेवा ४८ ५५
स्याउ १०५ १०५
केरा ८५ ८५

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.