जिरीखिम्ती–मोराहाङ सडक स्तरोन्नति हुँदै

  २०७४ वैशाख ५ गते १३:५८     विकासन्युज

तेह्रथुम, ५ वैशाख । तेह्रथुमको जिरीखिम्तीदेखि मोराहाङ जोड्ने १२ किलोमिटर सडकको स्तरोन्नतिको काम थालिएको छ । करिब एक दशकअघि नै सडकको ट्रयाक खोलिए पनि नियमित मर्मत र स्तरोन्नति नहुँदा स्थानीयले सास्ती बेहोर्न बाध्य थिए ।

उक्त सडक आगामी भदौ महिनाभित्रै काम सक्ने गरी सडक डिभिजन कार्यालय धनकुटाले कञ्चजङ्घा, पाण्डुकेशर र वाइपीआर निर्माण सेवासँग ठेक्का सम्झौता गरेको छ । निर्वाचन क्षेत्र सडकअन्तर्गत पाँच करोड लागतमा सडकको स्तरोन्नति थालिएको सडक डिभिजन कार्यालयका इन्जिनियर सचिन श्रेष्ठले जानकारी दिए ।

यस वर्ष छ किलोमिटर ग्राभेलसहित नाली निर्माण, ग्याभिङ, फिलिङलगायत निर्माणका काम गरिने सडक डिभिजन कार्यालयले जनाएको छ । सडक निर्माणपछि यहाँका जिरीखिम्ती, आम्बुङ, मोराहाङ, श्रीजुङ, पौठाकलगायत गाउँबासीलाई सदरमुकाम म्याङलुङ तथा पूर्वी तराईसम्म पुग्न सहज हुने जिरीखिम्तीका श्रीप्रसाद कार्कीले बताए ।

सडक मर्मत पछि यहाँको उत्पादन अलैँची, अम्लिसो, अकबरे, अदुवा, तरकारीलगायत निकासी गर्न समेत सजिलो हुने मोराहाङका कृषक नरेन्द्र खापुङले बताए। सडक मर्मतले मोराहाङ बजारमा दैनिक उपभोग्य वस्तुको मूल्यसमेत सस्तिने छ । सडक ट्रयाक ओपनजस्तै नियमित मर्मत र स्तरोन्नतिमा पनि ध्यान दिन सम्बन्धित निकायलाई स्थानीय आग्रह गर्छन् ।
जिरीखिम्तीदेखि मोराहाङ जोडिने सडक जिल्ला विकास समिति, गाविस र सांसद विकास कोषको बजेटबाट ट्रयाक ओपन भएको थियो । सडक डिभिजन कार्यालयले सडकको चौडा विस्तारदेखिको काम मात्रै लिएको इन्जिनियर श्रेष्ठले बताए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.