सोमबारदेखि ७५ वटै जिल्लामा निर्वाचन कार्यालय खुला

  २०७४ वैशाख ४ गते १५:४१     विकासन्युज

काठमाडौं । आगामी ३१ वैशाखका लागि तय गरिएको स्थानीय तहको निर्वाचन गराउन ७५ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतका कार्यालय आजदेखि खुल्ने भएका छन् ।

निर्वाचनको तयारी स्वरुप निर्वाचन आयोगले जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरेको छ । कार्यालय खुलेसँगै अब निर्वाचनका कार्यक्रम सञ्चालन गर्न आयोग जिल्लामा क्रियाशील हुने आयोगले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृतले जिल्लामा छुट्टै कार्यालय खोलेर निर्वाचनका लागि सम्पादन गर्नुपर्ने काम र आफू मातहतका निर्वाचनमा खटिने कर्मचारीका लागि काममा खटाउने जिम्मेवारी हुन्छ ।

मुख्य निर्वाचन अधिकृतलाई जिल्लाभित्र निर्वाचनसम्बन्धी कामको समन्वय र सुपरिवेक्षण गरी आवश्यक निर्देशन दिने अधिकार पनि तोकिएको छ । जिल्ला सदरमुकाममा रहने स्थानीय तहको निर्वाचन अधिकृतको भूमिका पनि निर्वाह गर्ने गरी मुख्य निर्वाचन अधिकृतलाई जिम्मेवारी तोकिएको आयोगले जनाएको छ ।

आयोगले ७५ मुख्य निर्वाचन अधिकृत र ६ सय ६९ निर्वाचन अधिकृत नियुक्त गरी तालिम दिएर सम्बन्धित क्षेत्रमा पठाइसकेको छ । ७ सय ४४ वटा स्थानीय तहमा भने वैशाख १२ मा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिनेछन् । न्याय सेवा र निजामती सेवाका अधिकृतलाई निर्वाचन अधिकृत तोकिएको छ । निर्वाचन अधिकृतलाई आफूलाई तोकिएको स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.