वर्षमा ३/४ करोड रुपैयाँ बोनस हातमा आउँछ-सुरेन्द्रबहादुर सिंह

  २०७४ वैशाख ३ गते १३:१६     विकासन्युज

सुरेन्द्रबहादुर सिंह नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्ष हुनुहुन्छ । उहाँ नेपाल बैंकको सञ्चालक पनि हुनुहुन्छ । उहाँ २००० देखि २०१३ सम्म नेपाल इन्भेष्टमेन्ट बैंकको सञ्चालक हुनुहुन्थ्यो । उहाँसँग हामीले सेयरवार्ताको प्रयास गरेका थियौं । तर उहाँको जीवनको बहुआयामिक रोचक पक्ष पायौं । प्रस्तुत छ उहाँसँग गरिएको लामो वार्ताको सम्पादीत अंश ।  

सुरेन्द्रबहादुर सिंह

तपाईको जन्म ?

असनमा २०१८ सालमा ।

कति पुस्तादेखि असनमा बस्दै आएको ?

हाम्रो इतिहास हामीलाई नै सबै थाहा छैन । मेरो बाजे बराजु कलिलो उमेरमा नै वित्नु भएछ । मेरो बुबा ७ वर्षको हुँदा बाजे बित्नुभएको रहेछ । बुबाको काका बा पनि कलिलो उमेरमा नै बित्नुभएछ । त्यसैले धेरै कुरा ट्रान्सफर नै हुन सकेन ।

तपाईको औपचारिक पढाई  ?

स्कूलको शिक्षा ल्यब्रोटोरीज् स्कूल, कीर्तिपुरबाट हासिल गरेको हो । त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेँ । १९८२ देखि १९८४ सम्म अष्ट्रिया(यूरोपियन देश) मा गएर होटल म्यानेजमेन्ट पढेँ । १९९२ देखि १९९४ इटलीबाट मास्टर इन इन्टरनेशलन म्यानेजमेन्ट पढेँ ।

त्यतिबेला विदेशमा पढ्ने अवसर कसरी मिल्यो ?

अस्ट्रिया जान त्यतिबेला कुनै कठिन थिएन । अन एराईभल भिसा थियो । राम्रो शिक्षाको लागि बुबाले विदेश पठाउनु भएको ।
इटलीमा पढ्न जानुपूर्व एउटा रोचक प्रशंग छ । इटली एम्बेसीले नेशनल डेको अवसरमा सोल्टी होटलमा कार्यक्रम राखेको रहेछ । अन्तिम समयमा होटलले कार्यक्रम रद्द गरेछ ।

इटलीको नेशनल डे मनाउन एम्बेसीले आयोजना गरेको कार्यक्रम, प्रधानमन्त्री, मन्त्री लगायत धेरै भीआईपीलाई आमन्त्रण गरिएको कार्यक्रम । सोल्टी होटलले कार्यक्रम नगर्ने भएपछि राजदूत रिसले आगो भएछन् ।

त्यो बेलामा अरु राम्रा होटल कम थिए । कार्यक्रम हिमालयन होटलमा गर्ने व्यवस्था मैले मिलाएँ । मेरो कामबाट ती राजदूत प्रभावित भएछन् । इटलीमा पढ्न जान्छौ भनेर उनले सोधे । मैले ‘मसँग पैसा छैन’ भनेँ । ‘टिकटको पैसा तिमी हाल, बाँकी खर्चको व्यवस्था म मिलाई दिन्छुु’ भनेर उनले भने । मैले सहमति जनाएँ । उनले सबै कुरा मिलाई दिए ।

तपाईको व्यवसायिक पृष्ठभूमि ?

३०३४ देखि साढे दुई वर्ष राष्ट्रिय वाणिज्य बैंकमा काम गरेँ । पछि नेपाल अरब (हालको नविल) बैंकमा काम गरेँ । त्यतिबेला अरब बैंकको खुब बदनाम थियो । ठग बैंक, चोर बैंक भन्थे । भारतमा झनै बढी खराव इमेज । अरब बैंकमा काम गर्छु भन्न पनि लाज लाग्ने, डर लाग्ने अवस्था थियो ।

त्यतिबेला अरब बैंकको सेयर एनबी इन्टरनेशनलले किनेको थिएन । पछि श्रीलंकन, बंगलादेशीहरुले मिलेर सेयर किने । एनबी इन्टरनेशनल विनोद चौधरीको मात्र हो भनेर प्रचार गरिन्छ । वास्तवमा चौधरीको मात्र लगानी होइन । त्यसमा बंगाली, श्रीलंकनहरुको पनि लगानी छ ।
अरब बैंक छोडेर मल्ल ट्राभल्समा काम गरे । हिमालयन होटलमा २० वर्ष काम गरे, त्यो होटलमा लामो समय महाप्रबन्धक भएर काम गरेँ । बीचमा एउटा काम गरँे । त्यसले मेरो लाईफमा धेरै परिवर्तन ल्यायो ।

के काम थियो त्यो ?

मैले १९८७ मा होटलमा बस्ने स्वीजरल्याण्डको गेष्टले मलाई हुलाक अफिस कहाँ छ भनेर सोध्यो । मैले ठेगाना बताईदिएँ । त्यसपछि उसले मलाई ‘सँगै’ जान प्रस्ताव गर्यो । भाषाको समस्या हुन सक्ने भएकोले मसँग सहयोग माग्यो । मैले सहयोग गरेँ । पछि मलाई बिजनेश गर्छौ भनेर सोध्यो । मैले जानेको छैन भनेँ । उसले सिकाई दिन्छु भन्यो ।

त्यो मान्छेले हुलाक टिकट छाप्ने स्वीस कम्पनीको एजेन्ट बन्न आग्रह गर्यो । हरेक वर्ष उसले पठाएको कोटेशन हुलाक विभागलाई बुझाउनु पर्ने काम रहेछ । मैले ‘हुन्छ’ भने । २/३ वर्ष उसले पठाएको कोटेशन परेन ।

इटलीमा पढ्न गएपछि बल्ल हुलाक टिकट छाप्ने ठेक्का पायो । विजनेश पाएपछि मलाई उसले स्वीजरल्याण्ड बोलायो । सबै खर्च उसैको । म घुम्न गए । कम्पनीको मालिक आफै रहेछ । पाँच वटा छोराछोरीलाई छुट्टाछुट्टै कम्पनी खडा गरेको रहेछ । आफ्नै घरमा राख्यो । मैले त्यति धनी मान्छे पहिलो पटक देखेको, भेटेको । उसले त्यतिबेला २५ हजार पर्ने स्वीस घडी दियो । फर्कने बेलामा ८ हजार स्वीच फ्याङक दियो । म त पुरै दंग ।

दोस्रो वर्ष पनि उसले नेपालको हुलाट टिकट डिजाइन गर्ने, छाप्ने टेण्डर पायो । फेरी उसले स्वीजरल्याण्ड बोलायो । मैले पनि सहमति जनाएँ । पुुरै मोजमानी गर्न पाईने । त्यतिबेला पनि नयाँ घडी दियो । १५ हजार स्वीच फ्याङक दियो । उसले दिने रेट पनि सस्तो, प्रिन्ट पनि राम्रो, डेलिभरी पनि टाईममा गर्ने । नेपालका हुलाकका कर्मचारीलाई पनि विदेश घुमाउने, तालिम दिने गर्न थाल्यो । उसले धेरै वर्ष नेपाली हुलाक टिकट छाप्ने काम पायो । करिव १७ वर्षसम्म मैले पनि त्यसमा काम गरे । उसले नियमित कमिशन दिएन । उसले आफ्नो इच्छाअनुसार वर्षमा एक पटक उसलाई मन लागेजति पैसा दिन्थ्यो ।

मेरो जिन्दीगीमा त्यो मान्छेसँग भेट भएपछि धेरै परिवर्तन आयो । अहिले पनि उसले मलाई छोरा जस्तै माया गर्छ । श्रीमती धनीको छोरी, १० बजे उठ्ने, ११ बजे ब्रेक फाष्ट खाने, त्यसपछि तास खेल्न थाल्ने । नेपालमा राणाका छोरीको जस्तो जीवन शैली । छोराहरु पनि ट्यापी भए । एउटी छोरी बेलायती केटासँग विहे गरेकी थिई, डिभोर्स भयो । धनी भए पनि परिवारबाट ऊ खुसी हुन सकेन ।

अरु व्यवसाय ?

सेयरमा लगानी गरेको छु । बीचमा जग्गा किनबेचको काम पनि गरेँ । व्यापार, सेवाका केही कम्पनीमा पनि लगानी छ ।

सेयरमा लगानी गर्न थालेको कति भयो ?

१९९१ देखि । त्यतिबेला आईपीओमा सेयरमा धेरै आवेदन पर्दैन थियो । जति माग्यो, त्यति पर्दथ्यो ।

अहिले कति छ सेयर?

नभनौं । मैले थोरै कम्पनीको सेयर किनेको छु तर ती सबै कम्पनीको रिर्टन राम्रो छ ।

सधैं एकनास हुदैन । कहिले बोनस सेयर धेरै आउँछ, नगद कम हुन्छ । औषतमा ३/४ करोड रुपैयाँ बराबर हुन्छ ।

वार्षिक कति लाभांश आउँछ ?

सधैं एकनास हुदैन । कहिले बोनस सेयर धेरै आउँछ, नगद कम हुन्छ । औषतमा ३/४ करोड रुपैयाँ बराबर हुन्छ ।

सेयर कारोबार कत्तिको गर्नुहुन्छ ?

किनेपछि सेयर बेच्दिन । सेयर बेच्ने आवश्यकता नै पर्दैन । अहिलेसम्म आर्थिक समस्या भोग्नु परेको पनि छैन । राम्रो रिर्टन दिने कम्पनीको सेयर किन बेच्ने ?

जग्गा जमिन कति छ ?

बाहुबाजेले पनि राम्रो जोड्दिनुभएको रहेछ । आमाको बुबाको जमिन पनि धेरै थियो । मामाहरु नभएकोले सम्पत्ति छोरीहरुलाई दिनुभयो । बानेश्वरमा १८ रोपनी जग्गा एउटै प्लटमा आमाले माइतीबाट पाउनु भएको छ ।

असनमा कति जग्गा छ ?

३ आना मात्र हो ।

पैतृक सम्पत्ति ३ आना मात्र हो त ?

२०० वर्षदेखिको जग्गा हो । महाराजगञ्जको ढ्याङग्रे खेतबाट ४५ मुरी धान कुत आउँथ्यो । डल्लुमा मौजा (ठूलठूलो बिर्ता) थियो । थानकोटमा फाँट नै थियो हाम्रो । मेरो बाजेले तत्कालिन राजालाई खुशी बनाएबाफत वारामा ५ हजार विगा जमिन बक्स दिएको कागज अझै मसँग छ । तर त्यो कागज मात्र छ । जमिन हेर्न गएको, फिल्डमा छैन । त्यतिबेला औलो लाग्छ भनेर बाजे बजै गएनन् । सबै जग्गा अरुले नै हडपी सकेका छन् ।

त्यो जग्गा लिन कुनै प्रयास गर्नुभयो ?

छैन । मलाई नपुग्दो केही छैन । त्यो जग्गा पाउन अदालतदेखि स्थानीय समूदाय, स्थानीय प्रशासनसँग लडाई गर्नु पर्ने हुन्छ ।

तपाई जग्गाको कारोबारमा कसरी पुग्नुभयो ?

म डल्लुमा बस्थे । त्यहाँका ज्यापुहरु छोरा छोरीको विहे गर्न पैसा भएन, लौन काजी साव जग्गा लिइदिनु पर्यो भन्न आउँथे । उनीहरुको काम चलाई दिन, उनीहरुले भनेकै मूल्यमा जग्गा किन्न थालेँ । पछि त्यही जग्गामा राम्रो फाइदा आएपछि बेच्थेँ । अहिले त जग्गा किनबेचको काम छोडिसकेँ ।

त्यतिबेला तपाईको हातमा नगद कसरी आउँथ्यो ?

म जागिर खान्थेँ, मेरो श्रीमतीको पनि राम्रो जागिर, असनको घर भाडा आउँथ्यो, क्षेत्रपाटीको घरभाडा आउँथ्यो । बुबा राजबहादुर सिंह नेपाल सरकारको सचिव हुनुहुन्थ्यो । मेरो घरमा क्यास फ्लो राम्रो थियो ।

अहिले पनि असनमा बस्नुहुन्छ ?

होइन, असनबाट क्षेत्रपाटीमा, त्यहाँबाट डल्लू, त्यसपछि अहिले, महाराजगञ्ज बस्छु ।

सेयरको मूल्य किन बढेको छ ?

एउटा मनोविज्ञान हो । दोस्रो बैंकहरुले कर्जाको व्याज धेरै बढाए, नाफा बढ्दैछ । तेस्रो, बोनस सेयर, हकप्रद सेयरको आउँछ भनेर ।

नेपाल बैंकको स्थिति कस्तो छ ?

नाफा बढेको छ । आगामी वर्षदेखि सेयरधनीलार्इ नाफा दिन सकिन्छ । तर नेपाल बैंकमा कर्मचारी खर्च बढी छ । बैंकले धेरै नाफा गरेपनि कर्मचारी खर्च नै धेरै छ ।

बैंकले सम्पत्ति बेचेर नाफा देखाईरहेको छ, कहिलेसम्म सम्पत्ति बेचेर नाफा देखाउने ?

तपाईलाई रोचक कुरा सुनाउँछु । केही दिनअघि नेपाल इन्स्योरेन्स कम्पनीको काममा विरगञ्ज गएको थिएँ । त्यही बेलामा केही समय निकालेर रक्सौल गएको । फर्कदा जाममा परियो । रुट परिवर्तन गरेर आउँदा ड्राईभरले रक्सौलमा नेपाल बैंकको जग्गा देखायो, धेरै जग्गा रहेछ त्यहाँ । त्यहाँ जग्गा भएको जानकारी नेपाल बैंकको केन्द्रीय कार्यालयलाई थाहा नै थिएन । मैले सोधखोज गर्न लगाए । पछि थाहा भयो विरगञ्ज शाखाले सो जग्गाको बाली वर्षमा १२/१३ हजार रुपैयाँ भारत सरकारलाई बुझाउँदै आएको रहेछ । त्यसको प्रयोग गर्न सकेको छैन । यस्तो सम्पत्ति कति छ भन्ने समेत थाहा छैन । यसरी बेवारीसे अवस्थामा रहेको सम्पत्ति राखेर बैंकलाई फाइदा हुँदैन । प्रयोगमा नआउने सम्पत्ति बेच्दै जानुपर्छ ।

नेपाल इन्स्योरेन्स कम्पनीमा सिईओ किन नियुक्ती नगरेको ?

६ जनाले आवेदन दिएका छन् । बोर्डमा छलफल भईरहेको छ । छिट्टै निर्णय गर्छौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.