स्वाधिन अर्थतन्त्रको पक्षमा महासंघ उभिनुपर्छ – दीपकबहादुर शाही

  २०७३ चैत २८ गते १८:३३     विकासन्युज

दीपक बहादुर शाही, अध्यक्ष, नेपाल सौर्य विद्युत उत्पादक संघ उम्मेदवार, बस्तुगत सदस्य, नेपाल उद्योग वाणिज्य महासंघ

नेपाल उद्योग वाणिज्य महासंघ उद्योग व्यवसायीहरुको छाता संगठन हो । हामी व्यवसायी भन्दा पहिला नेपाली हौं र हामी सबै उपभोक्ता हौं । त्यसैले हामीले सबैभन्दा पहिला कसरी नेपालको अर्थतन्त्रलाई स्वाधिन बनाउने भनेर सोच्नुपर्छ । दोस्रो, हामी सबै उपभोक्ता, कसरी उपभोक्तालाई सरल मूल्यमा, सहज तरिकाबाट गुणस्तरीय बस्तु तथा सेवा उपलब्ध गराउने भनेर सोच्नुपर्छ ।

महासंघको संगठनलाई बलियो बनाउनुपर्छ, सचिवालयलाई बलियो बनाउनुपर्छ । सरकार र महासंघबीचको सम्बन्ध बेला बखत चोर र पुलिसको जस्तो देखिन्छ । त्यस्तो किन हुन्छ ? समस्याको पहिचाहन गरेर समाधान गरिनुपर्छ ।

हाम्रा आवश्यकता के हुन ? त्यसमा पनि प्राथमिकताका अजेण्डा के हुन ? विकशित देश कसरी विकास भए, हामी किन पछाडि पर्यौ ? विदेशमा काम गर्ने नेपालीले पठाएको रेमिट्यान्सले जीडीपीको ३० प्रतिशत हिस्सा लिन्छ, ती मिहेनती नेपालीलाई हामीले नेपालमा किन रोजगारी दिन सकेनौं ? छिमेकी चीन, भारतले गरेको उच्च आर्थिक वृद्धि, जापान र अमेरिकाले हासिल गरेको विकासका मोडलहरु हामीले अध्ययन गरेर उचित नीति र मोडलमा हामी अगाडि बढ्नुपर्छ ।

व्यक्तिगत रुपमा म क्लिन इनर्जीको क्षेत्रमा काम गरिरहेको छु र यो क्षेत्र नेपाल सरकारको मात्र होइन, विश्वको प्राथमिकता प्राप्त क्षेत्र हो । छिमेकी देश चीनले ३० हजार मेगावाट सोलार विजुली उत्पादन गरेको छ । भारतले २२ हजार मेगाबाट बिजुली सोलार, विण्डबाट उत्पादन गरेको गरिसकेको छ । जापानले आणविक भट्टीबाट उत्पादन गरेको न्यूक्लियर इनर्जीलाई निरुत्साहित गर्दै क्लिन इनर्जी उत्पादनमा जोड दिएको छ ।

इनर्जी उत्पादन अहिले विश्वको प्रमुख अजेण्डा हो । इनर्जीले नै घरमा बत्ती बल्छ, चुलो बल्छ, होटल चल्छ, उद्योग, कलकारखाना, रेल, मोटर चल्छ । इनर्जीको स्रोतहरु धेरै छन् । त्यसमा मिक्स गर्नु नै सबैभन्दा उत्तम मानिएको छ । नेपालमा पनि कुल इनर्जीमा १३ प्रतिशत सोलार, वायोग्यास, माइक्रो हाइड्रो छन् । म महासंघमा गएर यो क्षेत्रको विकासमा जोड दिनेछु ।

चुनावको सुन्दरता भनेको राम्रो मान्छे छान्नु हो । तर नेपालमा राम्रो भन्दा हाम्रो मान्छे छान्ने समस्या देखियो । त्यसैको परिणाम हो राजनीतिमा पनि राम्रा मान्छे पछाडि परेका छन् । अन्य संघसंस्थामा पनि बेलाबेलामा राम्रा मान्छे पछाडि पर्छन्र ।  तर बस्तुगत संघका अध्यक्षहरु आफैमा सक्षम, विकेकशील हुनुहुन्छ । उहाँहरुलाई थाहा छ-कुन उम्मेदवारले विषयबस्तुलाई राम्ररी बुझ्न सक्छन्, प्रस्तुत गर्न सक्छन्, सरकारी निकायमा स्पष्ट रुपमा आफ्ना अजेण्डा राख्न सक्छन् । मलाई विश्वास छ ७० भोट पाएर चुनाव जित्छु ।

(कुराकानीमा अाधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.