विनोद चौधरी लेख्छन्-यसकारण मैले नेपाल उद्योग वाणिज्य महासंघ छोडेँ

  २०७३ चैत २८ गते ९:०७     विनोद चौधरी

म नेपाल उद्योग वाणिज्य महासंघमा खोजिखोजी आफैं पसेको होइन । यो संस्थाको कार्यशैली र पृष्ठभूमिप्रति मेरो मनमा थुप्रै प्रश्न थिए । हाम्रा कम्पनीहरु महासंघका सदस्य रहेपनि म व्यक्तिगत रुपमा त्यसको वार्षिक साधारणसभामा समेत जाने गरेको थिइँन ।

२०४४ को चुनावका क्रममा महेशलाल प्रधान चुनाबमा तान्न मलाई खोजीखोजी आउनुभयो ।

उहाँ मणिहर्ष ज्योतिसँग अध्यक्षमा भिड्दै हुनुहुन्थ्यो । मणिहर्षजीलाई गोल्छा, दुगड र मदनलाल चिरञ्जीबीलाल लगायत प्रमुख घरानाहरुको समर्थन थियो । यसको टक्करमा युवा जमान खडा गर्न महेसलाल हामीसँग निकट हुन खोज्नुभएको थियो । उहाँले यो संस्था रुपान्तरणको दूरगामी सोच राखेर चालेको कदम होइन । चुनावी रणनीति तयार पार्दा हामीलाई रोजेर जितको बाटो पहिल्याउनु भएको थियो ।

मैले आफ्ना हितैसीहरु विजय शाह, किशोर खनाल, डा. गोपाल श्रेष्ठ लगायतसँग छलफल बढाएँ । हाम्रो निष्शर्क रह्यो– यो संस्थासँग टाढा बस्दैमा हाम्रो व्यवसायिक हकहित सम्वद्र्धन हुनेवाला छैन । हामीले संस्थाभित्रै गएर परिवर्तन ल्याउनुपर्छ । महासंघमा वर्चस्व राख्दै आएका घरानाहरु अर्कै पक्षमा लागेकाले पनि महेसलालसँग गन्तव्य मिलेको थियो । हामी उहाँको पक्षमा होमियौं । देशका विभिन्न जिल्ला उद्योग वाणिज्य संघहरुमा गएर भोट माग्यौं । महेशलाल बलियो हुँदै गएको देखेपछि मणिहर्षजीले उमेद्वारी फिर्ता लिनुभयो ।

महासंघका एसोसिएट क्षेत्रका सिट ठूला र व्यापारिक घरानाबीच भागबण्डा हुन्थ्यो । उनीहरुलाई माग पुर्याउँदा पुर्याउँदै नयाँ मान्छेले कहिल्यै ठाउँ नपाउने । महेशलालाको नेतृत्वमा मैले कार्यकारिणी समितिको सदस्य पाउनुपर्थ्यो । त्यो हामीबीचको भद्र सम्झौता थियो । तर उहाँले ठूला व्यापारिक घरानासामू बोल्ने सहास देखाउनु भएन । अध्यक्ष बनेपछि त्यही प्रवृत्ति पछाडि लाग्नुभयो । जस विरुद्ध बैचारिक लडाईं छेड्ने संकल्प लिएर हामी युवा पुस्ता महासंघको राजनीतिमा होमिएका थियौं । महेशलालले मलाई अझै साथ दिनुभएन । मलाई उहाँको व्यवहार चित्त बुझेन । म महासंघको राजनीतिमा पहिलो पटक प्रवेस गरेको मान्छे, त्यो पनि उहाँले ल्याएको मान्छे । म कुनै जोड घटाउमा नलागी उहाँलाई अध्यक्ष बनाउन लागेको थिएँ ।

‘एसोसिएटको सदस्यमा म कुनै हालतमा चुनाव छाड्दिन, एक भोट आए पनि चुनाब लड्छु’ त्यसबेला मैले भनेको थिएँ । त्यो बेला एसोसिएटबाट महासंघको कार्यकारीणी सदस्यमा १० जना छानिन्थे । उम्मेद्वार ११ जना भयौं । मलाई उम्मेद्वारी फिर्ता लिन ठूलै दबाब पर्यो । मदनलाल अग्रवालले महाशक्ति स्वपको महेश अग्रवालको उम्मेद्वारी फिर्ता लिए । त्यसपछि एसोसिएटका सबै कार्यकारीणी सदस्य निर्विरोध भयौं ।

त्यही वर्ष मैले एसोसिएटतर्फ उपाध्यक्षमा उम्मेद्वारी दिन्छु भनेपछि महासंघमा ठूलै भुइँचालो गयो । उपाध्यक्ष पदमा हुलासचन्द्र गोल्छा उम्मेद्वार बन्न लाग्नुभएको थियो । मेरो बुबाको समकक्षी हुलासचन्द्रसँग मैले चुनाव लड्नु सहज भने थिएन । म उपाध्यक्षमा चुनाब लड्ने भएपछि तत्कालीन निवर्तमान अध्यक्ष पशुपति गिरी महासंघकै कार्यालयमा धर्ना बस्नुभयो । म विरुद्ध ठूलै क्याम्पेन भयो ।

महासंघको इतिहासमा संभवत पहिलोचोटी अध्यक्ष पदले भन्दा एसोसिएटतर्फको उपाध्यक्ष पदले सबैलाई आकर्षित गरेको थियो ।

सबैले मलाई उम्मेद्वारी फिर्ता लिन दबाब दिए । त्यसपछि मैले सोचेँ चुनाव त जितिएला तर साथीभाईको मन जितिँदैन । र, अन्त्यमा मैले उद्योग समितिको सभापति पद लिएर उपाध्यक्षको उम्मेद्वारी फिर्ता लिएँ । राजनीति भनेकै यही हो, दुई कदम अघि बढ्ने र एक कदम पछि हट्ने ।

०४७ मा फेरि महेशलाल प्रधान चुनाब उठ्नुभयो । उहाँको प्रतिद्वन्द्धी साल्ट ट्रेडिङका लक्ष्मीदाश मानन्धर हुनुहुन्थ्यो । त्यो वर्ष मैले सीधै प्रथम उपाध्यक्षमा उम्मेद्वारी दिएँ । मोहन गोपाल खेतान म विरुद्ध चुनाब लड्न आउनुभयो । महेशलालले आग्रह गरेपछि मैले आफ्नो उम्मेद्वारी फिर्ता लिइहाल्छु भन्ने उहाँलाई लागेको रहेछ । तर म टेरिन र उहाँ आफैं पछि हट्नुभयो ।

०५० सालमा स्वभाविकरुपमा म अध्यक्षको दाबेदार थिएँ । तर म निर्विरोध प्रथम उपाध्यक्ष छानिएकोमा धेरैलाई सह्य भएको थिएन । पदम ज्योतिलाई अध्यक्षको उम्मेद्वारकोरुपमा अघि सारिए पनि उहाँका बुबा मणिहर्षको केही समय अघि निधन भएकाले उहाँ उम्मेद्वार बन्न चाहनु भएन । त्यसपछि हुलासचन्द्रलाई म विरुद्ध चुनाव उठाउन लागियो । अन्तिममा उहाँले स्वास्थ्यको कारण देखाउँदै चुनाव नउठ्ने घोषणा गर्नुभयो । र, म निर्विरोध अध्यक्षमा चुनिएँ ।

०५२ सालमा मैले दोस्रो कार्यकालको लागि फेरि अध्यक्षमा उम्मेदवारी दिएँ । मेरा प्रतिद्धन्द्धी हुनुहुन्थ्यो पदम ज्योति । त्यो चुनावमा म विरुद्ध नयाँ समिकरण बन्यो । मैले अति निकट र विश्वास गरेका साथीहरु नीर शाह। बिजय शाह, किशोर खनाल मेरो विरोधी खेमामा लागे । ज्योतिको चुनावी तयारीको जिम्मा सुरज बैद्यले लिएका थिए ।

महेशलालले कोठाभित्र बसेर रणनीति बनाउनु भयो । त्यो वर्ष मिडिया, राजनीतिक दल सबैलाई महासंघको चुनाब लाग्यो । नेकपा एमालेले सार्वजानिकरुपमै ज्योतिलाई समर्थन गर्यो । कांग्रेसमा भने विभाजन देखियो । अर्जुननरसिंह केसी मेरो पक्षमा हुनुहुन्थ्यो । केही पिछडिएका जिल्लाका प्रतिनिधिको भोट किनबेच सुरु भयो । निजी क्षेत्रमा पहिलो चोटी जातीय र राजनीति देखा पर्यो । महेशलाल र मेरो कार्यकालमा उद्योमी/व्यवसायीको जुन गोलवद्ध आकार बनेको थियो, त्यो नराम्ररी भत्कियो । तीब्र प्रतिस्पर्धाका बीच मेरो टिमका अधिकांस साथीहरुले चुनाब जित्नुभयो । तर मैले हारेँ ।

०५४ सालको चुनावमा म यस्तो व्यक्तिको खोजिमा थिएँ । जसले जित्दा मेरो हार जितमा बदलियोस् । ठूला व्यापारिक घरानाको पकड रहेको महासंघमा पोखराका आनन्दराज मुल्मीलाई मैले अध्यक्षम समर्थन गरेँ । मुल्मीविरुद्ध चिरञ्जीबी तिरावी उठ्नुभयो । तिवारीलाई पदम ज्योति, महेशलाल प्रधान, प्रदिपकमाुर श्रेष्ठ, गोल्छा, सुरज बैद्य, मदनलाल, चिरञ्जीबीलाललगायतको समर्थन थियो । अघिल्लो निर्वाचनमा म विरुद्ध लागेका मेरा साथीहरु मेरो समर्थनमा फर्किए । उम्मेद्वारको रुपमा मुल्मी अगाडि हुनुहुन्थ्यो । म पछाडि थिएँ । अन्तत मुल्मीको जित भयो । यो जितसँगै म आफूलाई निजी क्षेत्रका प्रतिनिधिमुल संस्थाहरुको राजनीतिबाट अलग राख्न चाहन्थेँ । तर, म महासंघको राजनीतिबाट टाढा भाग्न खोजेपनि महासंघको राजनीति म बाट टाढा भाग्न मानेन । नेपाल उद्योग परिसंघ (सीएनआइ) गठन यसकै निरन्तरता हो ।

कतिपयले महासंघमा चुनाब हारेको तुस लिएर सीएनआइ गठन गरेको आरोप लगाए । तत्कालीन अध्यक्ष रविभिक्त श्रेष्ठले सीएनआइ गठन हुन नदिन धेरै नै लाग्नुभयो । अहिले उहाँ मेरो व्यवसायीक साझेदार हुनुहुन्छ ।

०६३ सालमा दरबारमार्गको बुडल्याण्ड होटलका सञ्चालक हरि श्रेष्ठलाई माओवादीले कुटेपछि महासंघ र सीएनआइ एकजुट भएर विरोधमा उत्रिए । तत्कालीन अध्यक्ष चण्डीराज ढकाल र मैले यसको नेतृत्व गरेका थियौं ।

तर, उत्पतिको प्रमाणपत्रको विषयलाई लिएर महासंघ र सीएनआइको लडाइँले उग्र रुप लियो । सीएनआइले पहिलोपटक उत्पतिको प्रमाणपत्र जारी गर्ने अधिकार माग्दा महेशलाल प्रधान नै वाणिज्य मन्त्री हुनुहुन्थ्यो । उहाँले सीएनआइलाई यो अधिकार दिने कुरै भएन । उत्पतिको प्रमाणपत्र ठुलै विवाद पनि भयो ।

तर, अन्तिममा सरकारले उत्पातिको प्रमाणपत्र जारी गर्ने अधिकार महासंघसँगै सीएनआइ, चेम्बर र निकासी प्रवद्र्धन केन्द्रलाई दियो । महासंघसँगको हैसियत र अधिकारको लडाइँमा यो हामो ठूलो जित हो ।

(बिनोद चौधरीको आत्मकथाबाट साभार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.