मेलम्चीको पानी खान अझै आठ महिना कुर्नु पर्ने, सुरुङ निर्माण कार्य ढिला हुँदा दुई महिना लम्बियो

  २०७३ चैत २४ गते १२:४०     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकका ३० लाख जनतालाई खानेपानी उपलब्ध गराउने लक्ष्य सहित स्थापना भएको बहुचर्चित मेलम्ची खानेपानी आयोजना निर्माण कार्य दुई महिना ढिला हुने भएको छ । सुरुङ निर्माण तथा पाइप लाइन बिछ्याउने काममा भएको ढिलाइका कारण निर्धारित समयभन्दा दुई महिना बढी समय लम्बिने भएको हो ।

सरकारले आगामी दशैसम्म काठमाडौं उपत्यकाबासीलाई मेलम्चीको खानेपानी उपलब्ध गराउने योजना बनाएको थियो । अब निर्माण कार्य ढिला हुने भएपछि मंसिरको पहिलो साताबाट मात्रै काठमाडौं उपत्यकाका ग्राहकका धारामा पानी आउने मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका प्रबन्धक नन्दबहादुर खनालले बताए ।

हालसम्म २७.५ किलोमिटर सुरुङ तथा मुहान निर्माणका कार्यमध्ये हालसम्म २३ किलोमिटर मात्र काम सम्पन भएको आयोजनाले बताएको छ । उपत्यकामा ६१ किलोमिटर ठूला पाइप बिछ्याउनु पर्नेमा हालसम्म ४३ किलोमिटर मात्र पाइप बिछ्याउने काम सम्पन्न भएको छ । त्यसैगरी ६ सय ७० किलोमिटर वितरण पाइप बिछ्याउनु पर्नेमा हालसम्म ५६१ किलोमिटर मात्र बिछ्याइएको छ । अझ आयोजना अन्तर्गत उपत्यकाका चक्रपथ भित्रका क्षेत्रहरुमा ८६ हजार धारा जडान गर्नु पर्नेमा हालसम्म ३७ हजार मात्र धारा जडान भएकाले पनि यी सबै कार्य सक्न दुई महिना समय थप गर्नुपर्ने देखिएको छ ।

मेलम्ची र मण्डल क्षेत्र रहेको यस आयोजनाले पाँच चरण गरी काठमाडौं उपत्यकामा १७ करोड लिटर खानेपानी आपूर्ति गराउने लक्ष्य सहित वि.सं २०५८/५९ बाट २०६४/६५ सम्म आयोजना निर्माण सम्पन्न गर्ने गरी उक्त आयोजना शुरु भएको हो । आयोजना निर्माण सम्पन्न गर्ने कार्य चौथो पटक संशोधन गरेर आगामी मंसिरसम्म उपत्यकाका ग्राहकको धारामा पानी पुर्याउने व्यवस्थापन आयोजनाले मिलाउँदै छ । उक्त समयमा आयोजनाको निर्माण लागत ३१ अर्ब ७३ करोड लाग्ने अनुमान गरिएकोमा हाल सो लागत ३ अर्ब ८१ करोड रुपैयाँले बढेर ३५ अर्ब ५४ करोड पुगेको छ ।

निर्माण कार्य ढिला हुनुमा आयोजनाले विभिन्न समयमा झेल्नु परेको समस्या प्रमुख रहेको छ । निर्माण व्यवसायीहरू सुरुङ निर्माण तथा पानी प्रशोधन केन्द्र निर्माणलगायतका समग्र व्यवस्थापनका देखिएको कमी, व्यवसायीहरूले स्रोत परिचालन गर्न नसक्नु, सुन्दरीजल तथा सिन्धु खण्डको विभिन्न भागमा कमजोर चट्टान भेटिदा निर्माण कार्यमा देखिएको रिक्स तथा विग्रदो निर्माण उपकरणलगायतका कारण रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.