रानीपोखरीको ठेक्का लाग्यो तर कार्यक्रम स्वीकृत भएन

  २०७३ चैत १८ गते १२:३०     विकासन्युज

काठमाडौं । ऐतिहासिक महत्वको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर निर्माणका लागि पुरात्व विभागले फागुन १२ गते नै टेण्डर आव्हान गरेको थियो । विभागले १५ दिने अवधी तोकेर एक करोड २६ लाख १४ हजार ९ सय ९५ रुपैंया(भ्याट बाहेक)को टेण्डर खोलेको थियो ।

एक दर्जन भन्दा बढि कम्पनीहरुले आवेदन पनि दिएका छन् । यतिबेला टेण्डर अनुसार निर्माण कर्ता कम्पनी छनौटको अन्तिम तयारी भैरहेको छ तर राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले अझै कार्यक्रम स्वीकृत गरिदिएको छैन् ।


‘हामीले ३ महिना अघि नै फाइल पठाएका थियौं, पछिल्लो पटक फेरी पनि केहि परिमार्जन गरेर फाइल पठाएका छौं तर अझै स्वीकृत भएको छैन्’, पुरातत्व विभागका एक इञ्जिनियरले विकासन्युजसँग भने । तर राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका प्रवक्ता यमलाल भुषालले भने रानीपोखरीको बालगोपालेश्वर मन्दिरको कार्यक्रम केहि दिन भित्रै स्विकृत हुने दावी गरे ।‘हामी अध्ययनको अन्तिम चरणमा पुगेका छौं, एक दुई दिनभित्रै कार्यक्रम स्विकृत हुन्छ र बजेट निकासा गरिन्छ’, प्राधिकरणका प्रवक्ता भुषालले विकासन्युजसँग भने ।

मन्दिरको फाउण्डेशनमा सिमेन्टले ढलान गर्नेकी नगर्ने भन्ने विवादका कारण मन्दिर निर्माण अघि नबढेको हो । काठमाडौं महानगरपालिकाले बनाएको फाउण्डेसनलाई जस्ताको त्यस्तै उपयोग गर्ने र त्यसमाथीको संरचना भने पुरातत्विक महत्वको बनाउने विभागको तयारी छ । तर प्राधिकरणले भने युनेस्कोले खतराको सूचिमा राख्ने चेतावनी दिएकाले ढलान गर्न नहुने बताउँदै आएको छ ।

काठमाडौं महानगरपालिकाले यस अघि नै ६ करोड २९ लाखको लागतमा रानी पोखरी पुर्ननिर्माण अघि बढाएको थियो । तर सिमेन्ट, छड र नयाँ निर्माण सामग्री प्रयोग गरेको भन्दै युनेस्कोले आपक्ति जनाएको थियो । युनेस्कोको आपक्ति पछि बालगोपालेश्वर मन्दिर भने पुरातत्व विभाग आफैंले बनाउन लागेको हो । पुरातत्व विभागले पनि पुरातात्विक महत्व जोगाउन नचाहेका आशंका व्यक्त गर्दै प्राधिकरणले कडाई गरेको बताएको छ । विभागले भने जस्ताको त्यस्तै दुरुस्तै भन्ने मान्यताका साथ बलियो संरचना बनाउन लागिपरेको बताउँदै आएको छ ।

तत्कालिन राजा प्रताप मल्लले १६७० सालमा पुत्र वियोगमा परेकी रानीको वियोगलाई भुलाउन रानीपोखरी निर्माण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.