बाहिरी चक्रपथको लागत ८ बर्षमा ११७ दशमलब २४ प्रतिशतले वृद्धि

  २०७३ चैत १३ गते १३:००     नारायण पौडेल

काठमाडौं । बहुप्रतिक्षित बाहिरी चक्रपथ सडक आयोजनाको लागत पछिल्लो ८ बर्षमा १७७ प्रतिशत भन्दा धेरै वृद्धि भएको छ । २०६५ सालमा तयार भएको लागत अनुमान ८ बर्षपछि ११७ दशमलब २४ प्रतिशतले वृद्धि भएको हो । २०६५ सालमा चोभार-सतुंगल खण्डको ६.६१८ किलोमिटर निर्माणका लागि २ अर्ब ९ करोड लागत अनुमान गरिएको थियो ।


८ बर्षपछि अर्थात २०७३ सालमा आइपुग्दा यसको लागत बढेर ६ अर्ब ३० करोड पुगेको छ । ‘८ बर्ष अघि २ अर्ब ९० करोडमा पाइलट प्रोजेक्टका रुपमा अघि सारिएको चोभार–सतुंगल खण्डको निर्माण हुने आँकलन थियो तर अहिले बढेर ६ अर्ब ३० करोड पुगेको छ’, आयोजनाका अधिकृत ध्रुव प्रसाद सापकोटाले भने । यो आयोजनाको लागत बर्षेनी औषतमा १४.६५ प्रतिशतले वृद्धि भएको देखिन्छ ।

सो खण्डमा अनुमानित ७ हजार कित्ता जमिन पर्छ । तीमध्ये ९६ जनाले मात्रै असहमति जाहेर गरेका छन् । बाँकी सबै स्थानियबाट आयोजना निर्माणका लागि सहमति प्राप्त भैसकेको छ । कानुनतः ५१ प्रतिशत स्थानियको स्विकृति प्राप्त भएपछि काम अघि बढाउन पाइन्छ ।

सो खण्डको ८ हजार ९ सय ५६ रोपनी जमिन अधिग्रहण गर्नेछ । सो क्षेत्रफलमा ४ मिटरको सडक १३ दशमलब ९९ किलोमटिर, ६ मिटरको सडक शुन्य दशमलब ४५ किलोमिटर, ८ मिटरको सडक ७९ दशमलब ०५ किलोमिटर र ११ मिटरको सडक १७ दशमलब १३ किलोमिटर निर्माण हुनेछ । आयोजनाले केहि दिन भित्रै पाइलट प्रोजेक्टका रुपमा अघि सारेको चोभार–सतुंगल खण्डमा जग्गा कारोबार तथा घर निर्माणमा रोक लगाउने तयारी गरिरहेको छ ।

बाहिरी चक्रपथ आयोजनाको ५८ किलोमिटर क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) सन २००६ सालमै तयार भएको थियो । टोखादेखि गोकर्णेश्वरसम्मको १२ किलोमिटर क्षेत्रको डिपिआर भने अझै बन्न सकेको छैन् । बाहिरी चक्रपथ आयोजनाको मुल सडक ५० मिटर चौडा हुनेछ । मुल सडकको दायाँ र बायाँ क्रमशः २५०/२५० मिटर जमिन अधिग्रहण गरिनेछ । सो २५० मिटर दायाँ बायाँको जमिनमा बनेका भौतिक पुर्वाधार भत्काइनेछ भने त्यसको क्षतिपुर्ति सम्बन्धित नागरिकले पाउनेछन् । यसरी तयार पारिएको खाली जमिनमा जग्गा एकिकरणको काम गरिनेछ । जस अनुसार जमिन अधिग्रहणमा परेका सबै नागरिकले केहि हिस्सा बाटोका लागि योगदान गर्नुपर्नेछ भने बाँकी जमिन फिर्ता प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.