मञ्जुश्री फाइनान्सका ६४ प्रतिशत प्रमोटरले हकप्रद सेयर लिएनन, १० लाख कित्ता सेयर लिलामीमा

  २०७३ चैत १३ गते १०:५२     विकासन्युज

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले निश्काशन गरेको हकप्रद सेयरमा संस्थापक तर्फको ६४.१६ प्रतिशत हकप्रद बिक्री हुन सकेन । लगानी गर्न पैसाको नभएको कारण जनाउँदै संस्थाकहरुले हकप्रद सेयर नकिनेको फाइनान्सका प्रबन्धक विकास शाक्यले विकासन्युजलाई बताए ।

फाइनान्सले पुस मसान्तमा प्रकाशित गरेको वित्तीय विवरण अनुसार चुक्ता पुँजी २८ करोड ५७ लाख ४१ हजार रुपैयाँ छ । कम्पनीमा ५१ प्रतिशत अर्थात १४ लाख ७५ हजार २८० कित्ता संस्थापक सेयर छ । कम्पनीले ९ लाख ३५ हजार ७४ कित्ता संस्थापक सेयर बिक्री नभएको जनाउँदै बढाबढ बिक्रीमा राखेको छ  । लिलामीमा राखिएको संस्थापक सेयर हाल भएको कुल संस्थापक सेयरको ६४.१६ प्रतिशत हो ।

‘केही संस्थापकले हकप्रद सेयरबाफत कत्ति पनि पैसा राख्न मान्नु भएन । केहीले ५० प्रतिशत मात्र राख्नुभयो, केहीले पुरै राख्न सक्नु भएन’ शाक्यले भने–‘वित्तीय क्षेत्रमा तरलता संकटले होला उहाँहरुले हकप्रद सेयर लिन पैसा जुटाउन सक्नु भएन ।’

कम्पनीले १ बराबर १.७५ अनुपातमा हकप्रद सेयर निष्काशन गरेको थियो । निष्काशन गरेको हकप्रद सेयरमध्ये ३५ प्रतिशत सेयरको लागि आवेदन नै परेन । आवेदन नपरेको १० लाख ४ हजार ९० कित्ता सेयरको कम्पनीले लिलामीमा राखेको छ ।

फाइनान्सले संस्थापक सेयर ९ लाख ३५ हजार ७४ कित्ता र सर्वसाधारण सेयर ६९ हजार १६ कित्ता बढाबढ मूल्यमा बिक्री आह्वान गरेको छ । फाइनान्सले लिलामीमा राखेको सेयर किन्न वैशाख ५ गतेसम्म आवेदन खुला गरेको छ ।

सेयर मूल्यमा ६९ प्रतिशत गिरावट

चालु आर्थिक वर्षको ८ महिना भित्रमा मञ्जुश्री फाइनान्सको सेयर मूल्य ६९ प्रतिशतसम्मले घटेको छ । गत साउन ११ गते कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४७६ रुपैयाँ थियो । गत फागुन यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १४९ रुपैयाँमा कारोबार भयो । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १४ प्रतिशत बोनस सेयर वितरण गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.