सियो पनि नबन्ने मुलुकका जनताले खान्छन ६४ करोडको विदेशी खुर्सानी

  २०७३ चैत १० गते १६:३२     नारायण पौडेल

काठमाडौं । नेपालमा सियो पनि बन्दैन भनेर मुलुकको औद्योगीक क्षमता माथी व्यंग्य गरिन्छ । तर नेपालमा सियो नबन्ने मात्रै होइन आफ्नै करेसा बारीमा फल्ने खुर्सानी समेत करोडौंको आयात भैरहेको छ । गाउँघरका करेसा बारी र शहरका गगन चुम्बी भवनका छतकै गमलामा फलाउन सके मात्रै पुग्ने खुर्सानीका लागि पनि नेपालले बर्षेनी करोडौं रुपैंयाँ खर्चिरहेको तथ्यांकले देखाउँछ ।

गत आर्थिक बर्ष २०७२/७३ मा ६४ करोड १० लाख ६९ हजार ४ सय ६० रुपैंयाँको विदेशी खुर्सानी नेपाल भित्रिएको छ । सो मूल्य बराबरको ८ लाख ६४ हजार १ सय ४१ किलो खुर्सानी नेपाल भित्रिएको हो । यो संख्या पाँच बर्ष अघिको भन्दा ६५ दशमलब ५० प्रतिशत बढि हो । पाँच बर्ष अघि अर्थात आव २०६८/६९ मा जम्मा ३८ करोड ७३ लाख ५० हजार ६ सय ३३ रुपैंयाँ बराबरको खुर्सानी नेपाल भित्रिएको थियो । त्यसपछि विदेशी खुर्सानी आयातको यो श्रृंखला २०७१÷७२ मा बाहेक निरन्तर वृद्धि भैरहेका तथ्यांकले देखाउँछ ।

आर्थिक बर्ष २०६९/७० मा ४१ करोड ११ लाख, आव २०७०/७१ मा ६७ करोड ४१ लाख र आव २०७१/७२ मा ६२ करोड ४६ लाख मूल्य बराबरको विदेशी खुर्सानी नेपाल भित्रिएको छ ।  भारत, चीन, दक्षिण कोरिया र थाइल्याण्ड लगायतका मुलुकबाट नेपालमा खुर्सानी भित्रिने गरेको छ ।

कति हुन्छ नेपालमै खुर्सानीको उत्पादन ?
तरकारी विकास निर्देशनालयका निर्देशक हरि बहादुर केसीका अनुसार नेपालमा ९ हजार ५ सय ८० हेक्टर जमिनमा खुर्सानी खेति भैरहेको छ । गत आव २०७२/७३ मा ९३ हजार ९ सय ३१ मेट्रिक टन खुर्सानी उत्पादन भएको थियो । ‘५० प्रतिशत व्यवसायीक खेतिबाट उत्पादन भैरहेको छ भने बाँकी घरेलु उत्पादन हो, दुईचार बोट खुर्सानी रोप्नेले पनि केहि किलोग्राम बेच्ने गरेका छन’, निर्देशक केसीले विकासन्युजसँग भने ।
अकबरे खुर्सानी पुर्वाञ्चलका पहाडी क्षेत्रमा फल्ने र अन्य अधिकांश खुर्सानी तराईमा फल्ने गरेको पनि उनले जानकारी दिए ।

कृषि विकास मन्त्रालय आव २०७१/७२ को तथ्यांक अनुसार नेपालमा ७ हजार ६ सय ७९ दशमलब ५ हेक्टरमा खुर्सानी खेति भैरहेको छ । सो खेतिबाट त्यो बर्ष ४० हजार १ सय ७१ दशमलब ७७ मेट्रिक टन खुर्सानी उत्पादन भैरहेको छ । नेपालमा खुर्सानीको उत्पादकत्व प्रति हेक्टर ५ हजार २ सय ३१ किलोग्राम रहेको सरकारी तथ्यांक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.