पूर्वअध्यक्षहरुको कान्छी औंला नसमाएको मात्र हो, मसँग प्रतिवद्ध टिम छ-अनुपबहादुर मल्ल

  २०७३ चैत १० गते ११:४५     विकासन्युज

अनुपबहादुर मल्ल, उपाध्यक्षको उम्मेदवार – नेपाल उद्योग वाणिज्य महासंघ

नेपाल उद्योग वाणिज्य महासंघको आगामी कार्यकालको बस्तुगत उपाध्यक्ष पदमा अनुपबहादुर मल्लले उम्मेदवारी घोषणा गर्नुभएको छ । महासंघमा अरु निर्वाचन प्यानल बनाएर प्रतिस्पर्धा गर्दै छन् तर मल्लले आफूलाई स्वतन्त्र रुपमा उम्मेदवार घोषण गर्नुभएको छ । उहाँको उम्मेदवारी किन ? कसरी चुनाव जित्ने योजना छ ? नेपाल कंग्री कार्पेट उद्योगका अध्यक्ष, नेपाली गलैंचा निकासीकर्ता संघको अध्यक्ष, नेपाल जर्मन चेम्बर अफ कमर्शका प्रथम उपाध्यक्ष समेत रहनु भएका मल्लसँग महासंघको निर्वाचनमा केन्द्रीत भएर गरिएको कुराकानी ।


महासंघको निर्वाचनमा दुई समूहबीच संगठित रुपमा प्रतिस्पर्धा हुँदैछ, तपाईले स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गर्नुको कारण के हो ?

मैले उद्योग वाणिज्य महासंघको कार्यसमितिमा चार कार्यकाल निर्वाचित भएर काम गरेको छु । त्यसअघि दुई कार्यकालमा उत्पादन वृद्धि समिति, गुणस्तर समिति, आयआर्जन समितिमा रहेर काम गरेको छु । विगत १८ वर्षदेखि म महासंघमा रहेर काम गर्दै आएको छु ।

मैले महासंघको निर्यात प्रवद्र्धन समितिमा रहेर धेरै महत्वपूर्ण कामहरु गरेको छु । उद्योग, व्यापार र सेवाका सबै क्षेत्रमा धेरै काम गरेको छु । मैले गरेको काम धेरै साथीहरुलाई थाहा छ ।

कार्यसम्पादन, अनुभव र मेरो क्षमताको आधारमा म महासंघको उपाध्यक्ष बन्न योग्य छु । साथीहरुले मलाई उपाध्यक्षमा उठ्न आग्रह गर्नुभएको छ । साथीहरुको आग्रह र नेतृत्वमा रहेर काम गर्ने आफ्नो चाहानाका साथ मैले उम्मेदवारी दिएको छु ।

अरु चुनावी प्यानल बनाएर प्रतिस्पर्धा गर्दै छन्, तपाई एक्लै कसरी जित्नुहुन्छ ?

म एक्लै छैन । मलाई सहयोग गर्ने साथीहरु हुनुहुन्छ । मलाई जिताउन साथीहरु खटेर लागिराख्नु भएको छ । प्लेनको टिकट किनिदिएर, हेलिकप्टर चार्टर्ड गरेर, होटलमा बस्ने खाने सबै सुविधा दिएर जाउँभन्दा जो कोही साथीहरु पनि जान्छन् । साथीभाईसँग भेट पनि हुन्छ । रमाईलो पनि हुन्छ । तर त्यसरी जम्मा गरेको भीडले भोट दिन्छ भन्ने निश्चित छैन ।

दोस्रो, म पूर्व अध्यक्षहरुको कान्छी औला समातेर हिँडिरेको छैन । महासंघका पूर्वअध्यक्षहरु उम्मेदवारहरुको पक्ष र विपक्ष भाषण गर्दै हिड्नु राम्रो होइन । वहालवाता अध्यक्ष पशुपति मुरारका र अब बन्ने अध्यक्ष भवानी राणा एउटा समूहको चुनावी प्रचारमा हिड्नु पनि राम्रो होइन । भैरहवाको स्टेजको फोटो देखेर म त दङ्ग परे । निर्वाचनको बेलामा पक्ष र विपक्ष हुन्छ तर उहाँहरु निर्वाचनको मैदानमा नै उत्रनुभयो । यो ठिक कि बेठिक ? पत्रकारहरुले मूल्याङकन गर्ने, लेख्ने र बोल्ने विषय हो । महासंघका मतदाताहरुले मूल्याङकन गर्ने विषय हो । निर्वाचनमा नचाहिदो इन्भल्भमेन्ट भईराखेको छ ।

यसअघिको निर्वाचनमा सबैभन्दा बढी मत मैले पाएको थिएँ । ८७ भोट खसेकोमा ६७ भोट मैले पाएको थिएँ । त्यसअघि मैले एशोसिएटतर्फ लगातार तीन पटक निर्वाचन जितेको थिएँ । महासंघमा अघिल्लो निर्वाचनमा सबैभन्दा बढी मत ल्याउनेलाई यसपल्ट उपाध्यक्षको उम्मेदवार बनाउने अभ्यास छैन । त्यसैले म त यस पटकको उपाध्यक्षको स्वभाविक उम्मेदवार हुँ । मैले महासंघमा १८ वर्ष काम पनि राम्रो गरेको छु । साथीहरुको सपोर्ट पनि पाएको छु । त्यसैले मैले यस पटक उपाध्यक्षको उम्मेदवारी दिने निर्णय गरेको हुँ । हामीले हाम्रो टिम घोषणा गरेको हौं ।

तर तपाईको टिमका साथीहरू त अन्तै गए रे नि ?

मैले अघि नै भने सित्तैमा प्लेनको टिकट पाएपछि, अरुले नै  हेलिकप्टर चार्टर्ड गरिदिएपछि, सित्तैमा होटलमा बस्ने खाने सबै सुविधा पाएपछि घुमघाम गर्ने, रमाईलो हेर्ने मौका कस्ले छोड्छ ? कही मेला लाग्दै छ भनेपछि भीड हेर्न पनि मानिसहरुको भीड लाग्छ । वातावरण हेर्न पनि उहाँहरु जानु भयो । तर उहाँहरूले मलार्इ सहयाेग गरिरहनुभएकाे छ ।

६० प्रतिशत साथीहरु महासंघको राजनीतिबाट दिक्क भएका छन् । उनीहरु स्वतन्त्र व्यक्तिलाई भोट दिन चाहान्छन् । साथीहरुले मेरो काम देख्नु भएको छ, मेरो हिम्मत देख्नुभएको छ । म जालझेल गर्दिन, स्पष्ट बोल्छु । आँटिलो र सक्षम व्यक्तिको रुपमा उहाँहरुले मलाई नै भोट हाल्नुहुन्छ । बस्तुगततर्फ उपाध्यक्षमा उठेका दुबै साथीहरु म भन्दा पछि महासंघमा लाग्नु भएको हो । काम गरेको हिसावले पनि उहाँहरु भन्दा म अगाडि छु ।

तपाईको टिममा १४ जना सदस्य उम्मेदवार हुन्छन् ?

१४ जना उम्मेदवार बन्नैपर्छ भन्ने जरुरी छैन । कतिलाई समायोजन गर्नुपर्छ । अर्को टिममा भएका राम्रा साथीहरुलाई पनि हामीले एकोमोडेशन गर्नुपर्छ । निर्वाचनमा केही देखिने काम हुन्छन् त केही रणनीतिक कदम पनि हुन्छन् ।

तपाईलाई जिताउन पर्छ भनेर लाग्ने साथीहरु को को हुन् त ?

सबैको नाम लिँदा केही साथीहरुलाई अप्ठ्यारो पर्छ । फेल्ट एशोसिएशनका, फ्रेट फरवार्डर एशोसिएश, केमिकल्स एण्ड मेडिकल्स इक्वीप्मेन्ट एशोसिएशन, कपडा तथा सिलाई संघ, मत्स्य व्यवसायी संघले खुलेर सहयोग गर्नुभएको छ । हाल बस्तुगत परिषद्मा रहेका हामी ४ जना उम्मेदवार नै भयौ, दिनेश श्रेष्ठसहित । हाल महासंघको कार्यसमितिमा रहेका साथीहरु मध्ये केही साथीहरुको संस्थामा नेतृत्व परिवर्तन भईसकेको छ र नयाँ साथीहरु आएका छन् । १४ सिटमा ९० प्रतिशत नयाँ उम्मेदवार रहनेछन् ।

निर्वाचनमा तपाईको अजेण्डा के हुन् ?
उत्पादन, व्यापार र सेवा क्षेत्रको विकास सँगै गरियो भने मात्र देशको अर्थतन्त्र दरिलो हुन्छ । तीन वटै क्षेत्रलाई महत्व दिएर मैले थुप्रै काम गरेको छु । यी तीन क्षेत्रको विकासका लागि हामी १४ सदस्य मध्ये सबैले एक एक कल्सटरमा काम गर्ने गरि संरचना बनाइनेछ र जिम्मेवारी बाँडफाँड हुन्छ । अधिकार विकेन्द्रीत गरेर टिम वर्कको काम गर्नुपर्छ ।

चुनाव आउन अझै २० दिन बाँकी छ । तपाईले आफ्नो उम्मेदवारी समर्पण गर्ने सम्भावना कति छ ?

रात पर्छ, दिन आउँछ । ऋतु परिवर्तन हुन्छ, परिस्थिति परिवर्तन हुन्छ । सम्भावना धेरै हुन्छन् । हप्ठ्याराहरुले हलचल ल्याउन सक्छ । अरु साथीले पनि निर्णय परिवर्तन गर्न सक्नुहुन्छ । अहिलेसम्म मलाई लाग्दैन कि मेरो उम्मेदवारी फिर्ता हुनेछ ।

महासंघको निर्वाचन महँगो भयो, बेथिति आए भनेर त्यसलाई सुधार गर्ने भनेर विधान संशोधन भयो, तर निर्वाचत पहिला भन्दा महँगो र थप प्रतिस्पर्धी भएको देखियो नि ?

सबै कुरा तपाईले देखिरहनु भएको छ । उपाध्यक्षको उम्मेदवार हेलिकप्टर चढेर भोट माग्न हिड्नु भएको छ । प्लेन चार्टर्ड गरेर सभा सम्मेलनमा मान्छे जुटाईराख्नु भएको छ । तैपनि मलाई लाग्छ, पहिला भन्दा अहिले निर्वाचनको हलचल कम छ । हुनसक्छ, म स्वतन्त्र उठेकोले मैले भीड कम देखिरहेको छु ।

सामान्यतया जहाँ भीड छ, चनाव त त्यसैले चित्छ नि ?

केही दिन अघिमात्र उत्तर प्रदेशमा निर्वाचन भयो । निर्वाचन क्यापेनको क्रममा भारतीय जनता पार्टीको सभामा जति भीड हुन्थ्यो, काग्रेस आईको सभामा पनि त्यतिकै भीड देखिन्थ्यो । तर परिणाम किन एक पक्षीय रुपमा मोदीको पक्षमा आयो ? भीडले चुनाव जितिदैन । अर्को कुरा पनि भन्छु म । अमेरिकाको राष्ट्रपतिको निर्वाचनमा हिलारी क्लिन्टनले जित्छिन् भनेर सबै मिडियाले प्रचार गरे तर जित डोनाल्ट ट्रपको भयो ।

६० प्रतिशत साइलेन्ट मत कसले पाउँछ भन्ने कुरा महत्वपूर्ण हो । भीड जम्मा गरेर चुनाव जितिन्छ भन्नु कमजोर मानसिकता हो । गएको निर्वाचनमा म पहिलो पटक बस्तुगततर्फबाट उठेको थिए । धेरै साथीले भन्थे, तँ नयाँ छस्, गाह्रो छ जित्न । तर मैले सबैभन्दा बढी मत पाए । यस पटक पनि हेर्नु न रिजल्ट । मसँग प्रतिवद्ध साथीहरु छन् ।

मैले त बस्तुगत तर्फ आन्तरिक निर्वाचन गरौ, जसले बढी मत पाउँछ उसैलाई उपाध्यक्ष बनाउँ भनेर प्रस्ताव गरेको थिएँ । साथीहरुले मान्नु भएन । आन्तरिक प्रतिस्पर्धामा साथीहरु डराउनुभयो । मेरो प्रस्ताव ठाडै अस्वीकार गर्नुभयो । त्यसैले मलाई चुनावसँग कुनै डर छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.