एटिएम ठगीको नयाँ शैली, अनलाइनबाटै डाटा ह्याक गरेर तीन करोड ३१ लाख चोरी

  २०७३ चैत ९ गते ७:२१     विकासन्युज

काठमाडौं । नक्कली एटिएममार्फत भइरहेको नयाँ शैलीको ठगी प्रहरीले पत्ता लगाएको छ ।

नेपालमै बसेर विदेशमा रहेका व्यक्तिहरूको एटिएम डाटा अनलाइनबाटै ह्याक गरेर एक समूहले करोडौँ पैसा निकालिसकेको प्रहरीले पत्ता लगाएको हो । त्यस्तो गिरोहका आठजना पक्राउ परेका छन् । यो खबर आजको नयाँ पत्रिकामा छ ।

दुई वर्षदेखि नक्कली एटिएमबाट पैसा चोरी गर्दै आएको गिरोहका नाइके सुरेश केसीसहितका आठजनालाई महानगरीय अपराध महाशाखाले तीन दिनको अनुसन्धानपछि पक्राउ गरेको हो ।

उनीहरूले हालसम्म काठमाडौं तथा पोखराका होटेल तथा पसलमा रहेका प्वाइन्ट अफ सेल ९पिओएस० मेसिनहरूबाट तीन करोड ३१ लाख रुपैयाँ ठगी गरिसकेका छन् । गिरोहमा आबद्ध भारतीय नागरिक अभिषेक पाण्डेलाई समेत पक्राउ गरी अनुसन्धान अघि बढाइएको महाशाखाका प्रमुख एसएसपी दिनेश अमात्यले बताए ।

पक्राउ पर्ने अन्यमा केवलशमशेर जबरा, अभिषेक नकर्मी, अनुज नकर्मी, विजय लामा र नदिम खान छन् । केवलशमशेर दुई वर्षअघि पनि एटिएम ठगी अपराधमा जेल परेर छुटेका हुन् ।

अभिषेक र अनुजले गिरोहका लागि सहयोगीका रूपमा काम गरेका थिए । त्यस्तै, लामा र खान प्वाइन्ट अफ सेल (पिओएस)मेसिन दुरुपयोग गरी ठगीमा सघाउने व्यवसायी हुन् ।

खानको क्षेत्रपाटीमा डी सोभिनियर नामको पसल छ भने लामाको भक्तपुरमा पौराणिक थान्का पसल छ । आफ्नो पसलमा रहेको पिओएस मेसिन दुरुपयोग गरेर उनीहरूले लाभ लिएको अपराध महाशाखाका एसपी प्रकाशजंग कार्कीले बताए ।

एटिएम ठगीको नयाँ शैली स् बिटक्वाइन कारोबारी र आइसिक्वु नामक एप्समार्फत सो गिरोहले विदेशी नागरिकको डेबिट तथा क्रेडिट कार्डहरूको डाटा चोरी गरेको अनुसन्धान अधिकृत रहेका महाशाखाका डिएसपी अजय केसीले बताए ।

आइसिक्वु एप्समा रहने ब्रोकरहरूमार्फत उनीहरूले एटिएमको डाटा बेच्ने गर्दथे । ५० देखि ५ सय अमेरिकन डलरसम्म तिरेर उनीहरूले त्यस्ता एटिएम पिन नम्बरसहितको डाटा किन्ने र सोही डाटाबाट नक्कली एटिएम कार्ड बनाउँदै आएका थिए ।

नयाँ पत्रिका दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.