चिनियाँ अनुदानको साढे १० हजार लिटर तेल खान ‘अयोग्य’

  २०७३ चैत ८ गते १८:१३     विकासन्युज

काठमाडौं । गत वर्ष विनाशकारी भूकम्पपछि चिनियाँ सरकारले अनुदानमा दिएको करिब साढे दस हजार लिटर तेल खान ‘अयोग्य’ भएको छ ।  १४ महिनासम्म सरकारले चिनियाँ अनुदानको करीब १० हजार ६ सय लिटर तेल बिक्रीवितरण नगरी गोदाममा थन्काएर राखेको तेल खान नमिल्ने भएको खाद्य प्रविधि तथा गुणस्तर विभागले जनाएको छ ।

उक्त खानेतेल न्युन गूणस्तरको रहेको विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले जानकारी दिए । उनले भने, ‘हामीलाई गत साउनमा परिक्षणको लागि पठाइएको थियो । नतिजामा तेल कच्चा होकी प्रशोधित हो नखुलेको उल्लेख छ । जहाँसम्म प्रशोधित हो भने न्यून गूणस्तरको हो ।’

गतवर्ष पुस २८ गते चिनियाँ सरकारले १० हजार ६ सय लिटर तेल अनुदानस्वरूप नेपाल सरकारलाई उपलब्ध गराएको थियो । भूकम्पपछिको पुनर्निर्माण तथा राहतका लागि नेपाललाई उपलब्ध गराउने भनेर प्रतिबद्धता जनाएको रकमबाट कटाउने गरी चीन सरकारले उक्त परिमाणको तेल नेपाल सरकारलाई दिएको थियो ।

लेबल स्पष्ट नभएको


खाद्य संस्थानका प्रवक्ता शंकर सापकोटाका अनुसार तेलमा लेबल स्पष्ट नभएकाले परिक्षणका लागि खाद्य प्रविधिमा पठाइएको थियो । चीन सरकारले अनुदानस्वरूप नेपाल सरकारलाई तेल उपलब्ध गराएपछि तेलको उपभोग गर्न मिल्ने वा नमिल्ने भन्ने सम्बन्धमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले परीक्षण गरेको उनले बताए।

उनले भने, ‘परिक्षणपछि विभागले मापदण्ड विपरित भएको भन्दै नतिजा पठाएको थियो । अझै तेललाई के गर्ने भन्नेबारे टुंगो लागेको छैन।’

विभागको मापदण्ड अनुसार खानेतेलमा ०.५ प्रतिशत एसिड भ्याल्यु चाहिन्छ । तर प्रयोगशाला परीक्षणका क्रममा उक्त तेलको एसिड भ्याल्यु १.५ प्रतिशत पाइएको र यसले तेल निकै पुरानो भएको संकेत गरेको वस्तीले बताए । उनले भने, ‘तेलको लेबल प्रस्ट छैन । चिनियाँ भाषामा लेखिएकाले पनि बुझ्न नसकिएको हुनसक्छ । कच्चा तेलको हकमा सो एसिड भ्याल्यु उपयुक्त हुन्छ ।’

प्रचलित कानुन अनुसार उद्योग बाहेकका क्षेत्रलाई कच्चा तेल आयात गर्ने र प्रशोधन गरी बेच्ने अधिकार दिइएको छैन । विभागका अनुसार उक्त तेल प्रशोधित वा कच्चा के हो भन्नेसम्म पनि स्पष्ट हुन सकेको छैन । हाल तेललाई काठमाडौंको धान गोदाममा राखिएको छ । प्रति दुई सय लिटर क्षमताका ५३ वटा ट्यांकीमा तेल राखिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.