बैंक अफ काठमाण्डूमा संजय शाह र राधेश पन्तको पुनरागमन, शाह र पन्तको फाटेको मन अध्यक्ष श्रेष्ठले सिऊँन सक्लान् ?

  २०७३ चैत ८ गते ११:२३     विकासन्युज

काठमाडौं । ८ वर्षपछि संजयबहादुर शाह र राधेश पन्त बैंक अफ काठमाण्डूमा फर्किएका छन् । ८ वर्षअघि आपसी झगडामा फसेर उनीहरु बाध्य भई बैंकबाट बाहिरीएका थिए । ८ वर्षपछि चुनावी प्रतिस्पर्धाबाट दुबै जना बैंकको सञ्चालकमा चुनिएका छन् ।

त्यतिबेला शाह बैंकको अध्यक्ष थिए भने पन्त प्रमुख कार्यकारी अधिकृत । दुबै जना बैंकका डोमिनेन्ट प्रमोटर सेयर होल्डर पनि हुन् ।

अध्यक्ष शाहले पन्तलाई प्रमुख कार्यकारी अधिकृत पदबाट हटाउने निर्णय बोर्डबाट गराए । पन्तले प्रतिकार गरे र राष्ट्र बैंकलाई गुहारे । त्यतिबेला पन्त नेपाल बैंकर्स संघको अध्यक्ष पनि थिए । त्यतिबेला राष्ट्र बैंकमा गभर्नर दीपेन्द्रवहादुर क्षेत्री थिए । उनले पन्तलाई हटाउने निर्णय उल्ट्याएर मिलाप गर्न आग्रह गरे तर शाह र पन्तबीच मिलाप भएन । पन्तलाई हटाउनुको कारणबारे राष्ट्र बैंकले बैंक अफ काठमाण्डूलाई स्पष्टीकरण सोध्यो । अध्यक्ष शाहले ‘प्रमुख कार्यकारी अधिकृत नियुक्ती वा हटाउने विषय सञ्चालक समितिको अधिकार भएको’ जवाफ दिए ।

पुरानो घट्ना सम्झदै दीपेन्द्रवहादुर क्षेत्री भन्छन्–हटाउनु भन्दा केही समयअघि मात्र पन्तले उत्कृष्ट बैकर्स अवार्ड पाएका थिए । सीईओले गल्ती विराम गरेकोबारे केही बताइएन । मेरो लगानी हो, मैले जे निर्णय पनि गर्न सक्छु भन्ने दम्भ देखियो । संस्थागत सुशाशन, कार्य सम्पादन मूल्याङकन केही पनि देखिएन । त्यसपछि कारवाहीको निर्णयमा पुग्यौ ।

गभर्नर क्षेत्रीले बैंक अफ काठमाण्डूको सञ्चालक समिति भंग गरिदिएँ । विशेष साधारणसभा गरी नयाँ सञ्चालक समिति चयन गर्ने मुख्य जिम्मेवारीसहित राष्ट्र बैंकबाट सञ्चालक समिति खटियो बैंक अफ काठमाडौंमा । झगडिया सञ्चालकलाई उम्मेदवार बन्न नपाइने व्यवस्थासहित निर्वाचत भयो र नयाँ सञ्चालक समिति बन्यो ।

त्यसपछिको दुईवटा सञ्चालक समितिमा शाह र पन्तले प्रवेश पाएनन् । पन्त तत्काल कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत भए । पछि त्यहाँबाट राजीनामा गरेर लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत भए ।

चैत ३ गते सम्पन्न साधारणसभाले पुन शाह र पन्तलाई सञ्चालकमा निर्वाचित गर्यो । निर्वाचनमा संस्थापक सेयरधनीको तर्फबाट शाह, पन्त, शान्तराज सिंह थापा, प्रकाश श्रेष्ठ, केदारनाथ गौतम र रामकाजी कोने प्रतिस्पर्धामा उत्रिए । निर्वाचनमा थापा र कोने पराजित भए । श्रेष्ठ र गौतम मर्जपूर्व लुम्बिनी बैंकका प्रवद्र्धक हुन् ।

श्रेष्ठ अध्यक्ष भएका छन् । उनी पर्यटन क्षेत्रमा स्थापित व्यवसायी हुन् । गौतम कर्मचारी संचयकोषको प्रतिनिधि हुन्, उनी नागरिक लगानी कोषसहितको समर्थनमा चुनिएका हुन् । सर्बसाधारण सेयरधनी समूहको तर्फबाट डा हेमराज सुवेदी, गोविन्दप्रसाद शर्मा, सौरभ केसी, मदनलाल जोशी निर्वाचित भएका छन् ।

सञ्चालक समितिमा निर्वाचित मध्ये शाह र पन्तबीचको सम्बन्धबारे धेरैको मनमा खुल्दुली छ । उनीहरुबीच फाटेको मन अध्यक्ष प्रकाश श्रेष्ठले सिऊँन सक्छन् कि सक्दैनन ? क्षमताको हिसावले दुबै जना बैंक सञ्चालक बन्न अब्बल मान्छे हुन्, इगो समस्या आयो भने बैंक फेरी सफल नहुन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.