घर निर्माण घट्दा सुस्तायो विद्युतीय बत्ती व्यवसाय

  २०७३ चैत ७ गते १८:२८     विकासन्युज

काठमाडौं । राजधानीमा नयाँ भवनको निर्माण घटेपछि विद्युतीय बत्तीको व्यवसाय पनि सुस्ताएको छ । लोडसेडिङ हटेपछि देशका विभिन्न भाग झीलमील भइरहेको बेला ट्युबलाइट, चीम लगायत बत्तीको खपत भने घटेको छ । अर्डर नआएर तीन महिनादेखि बत्तीको व्यापार सुस्ताएको व्यवसायी बताउछन् ।

नयाँ भवन निर्माणका कामहरुले गति लिन नसकेकाले बत्तीको माग ३० प्रतिशतले घटेको नेपाल विद्युतिय व्यवसायी संघका महासचिव सुदर्शन प्रसाद पौडेलले बताए । ‘हाम्रो व्यवसायको ठुलो हिस्सा भवन निर्माणसँग जोडिएको छ । जती नयाँ भवन बन्छन्, त्यसैअनुसार अर्डर आउछ,’ उनले भने, ‘अहिले निर्माण तथा पुननिर्माणका कामहरु सुस्ताएका छन् । अहिले बैंकले पैसा दिन नसकेकाले निर्माणका कामहरु हुनसकेका छैनन् । त्यसैले लाइटिङ अप्लाइन्सको कारोबार पनि झरेको छ ।’

संघको तथ्याङ्क अनुसार नेपालभर वार्षिकरुपमा करिब ७५ अर्ब रुपैयाँबराबरको विद्युतिय उपकरणको कारोबार हुनेगरेको छ, जसमध्ये २५ प्रतिशत बत्तीको मात्र रहेको छ ।

ओपल एलइडी सोरुमका इन्चार्ज बानी सिंहका अनुसार एउटा सोरुमबाट मासिक करिब तीन लाख बत्तीको बिक्री हुनेगरेको छ ।

परम्परागत चीमको विस्थापन

पछिल्लो समय परम्परागतरुपमा प्रयोग भइरहेको चीमलाई सिएफएल, एलइडि लाइट जस्ता नयाँ उपकरणले विस्थापित गरेको छ । लोडसेडिङ हटेपछि उपभोक्ताले विद्युतिय खपत बचाउने तर्फ ध्यान पुर्‍याउन खोजेको व्यवसायी बताउछन् ।

परम्परागत चीमलाई विस्थापित गर्दै बजारमा सिएफएल (कम्प्याक्ट फ्लोरोसेनट लाइट बल्ब) आयो । तर सिएफएल बल्बले ट्युबलाइटले जस्तो चम्किलो उज्यालो नभएकाले सिएफएलले पूर्णरुपमा उपभोक्तालाई सन्तुष्ट पार्न नसकेको फिलिप्सका मार्केटिङ म्यानेजर राजेन्द्र शाक्यले बताए। उनले पछिल्लो समयमा सिएफएल, चीम र ट्युबलाइटलाई पनि एलइडी (लाइट इमिटिङ डायोड) लाइटले विस्तारै विस्थापन गर्ने देखिएको बताए । उनले भने, ‘अब एलइडीले बजारमा अरु बत्तीलाई विस्थापित गरेको छ । यो सिएफएलको तुलनामा कम विद्युत खपत गर्छ । यसको आयु चार वर्षको हुन्छ ।’ तर एलइडी लाइटको मूल्य भने सामान्य बत्तीको तुलनामा दुई गुणा महंगो हुनेउनले जानकारी दिए ।

लोडसेडिङ हटेपछिको प्रभाव

कात्तिकमा लोडसेडिङ हटेपछि विद्युतिय उपकरणको माग बढेसँगै बत्तीहरुको माग पनि बिस्तारै बढेको उनले बताए । उनले भने, ‘ वैकल्पिक उर्जासम्बन्धी उपकरणले हाम्रो कारोबार ओगटेको थियो । लोडसेडिङ हटेपछि हाम्रो कारोबारमा उल्लेखनियरुपमा सुधार आएको थियो । तर पछि नव निर्माणका कामहरु सुस्ताएपछि हाम्रो व्यापार घट्न थाल्यो ।’

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.