सौरभ ज्योतिकाे उम्मेदवारी स्वतन्त्र कि रणनीतिक ?

  २०७३ चैत ७ गते १३:५९     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्वका लागि शेखर गोल्छाले नेतृत्व गरेको समूह र किशोर प्रधानले नेतृत्व गरेको समूहबीच चुनावी प्रतिस्पर्धा हुँदैछ । वरिष्ठ उपाध्यक्ष निर्वाचित भएको तीन वर्षपछि स्वात अध्यक्ष बन्ने व्यवस्था भएपछि पहिलो पटक वरिष्ठ उपाध्यक्ष पदका लागि गोल्छा प्रधानबीच प्रतिस्प्रर्धा हुँदैछ ।

गोल्छाको समूहले आइतबार भैरहवाबाट आफ्नो उम्मेदवारी घोषणा गरेको छ । उनको प्यानलबाट जिल्ला तथा नगर समूहको उपाध्यक्षमा दिनेश श्रेष्ठ, एशोसिएट उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल, बस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र कोषाध्यक्षमा ज्ञनेन्द्रलाल प्रधानले उम्मेदवारी घोषणा गरेका छन् ।

प्रधान समूहबाट जिल्ला तथा नगर समूहको उपाध्यक्षमा प्रमोद श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् भने बस्तुगततर्फ शंकर पाण्डे उपाध्यक्षको उम्मेदवार बनेका छन् ।

प्रधान समूहले अहिलेसम्म एशोसिएट तर्फको उपाध्यक्ष र कोषाध्यक्षको उम्मेदवार घोषणा गर्न सकेको छैन । एशोसिएट तर्फको उपाध्यक्षमा सौरभ ज्योतिलाई उम्मेदवार बनाउने भनिए पनि यो अझै टुङ्गो लागेको छैन ।

ज्योतिले आफू एशोसिएटतर्फको उपाध्यक्षमा प्रतिस्पर्धा गर्ने बताउँदै आएका छन् । उनले आफू कुनै प्यानलमा आवद्ध नभएको र स्वतन्त्र उम्मेदवार बन्ने बताउँदै आएका छन् ।

प्यानल–प्यानलबीचको प्रतिस्पर्धामा स्वतन्त्र उम्मेदवारलाई चुनाव जित्न सजिलो छैन । तर प्रधानको प्यानलमा ज्योति जोडिएनन भने प्रधान समूहले एशोसिएटतर्फको उपाध्यक्ष पदको लागि उम्मेदवार पाउनै नसक्ने अवस्था छ ।

गोल्छा प्यानलबाट एशोसिएट उपाध्यक्ष चन्द्रप्रसाद ढकाल छन् । महासंघमा करिव ९०० एशोसिएट कम्पनीहरु छन् । एक कम्पनीले एक भोट हाल्न पाउँछ । एउटै व्यक्ति वा समूहको दर्जनौ कम्पनी महासंघमा एशोसिएट सदस्य छन् र प्रोक्सी (प्रतिनिधि) मार्फत भोटिङ हुने अभ्यास छ ।

करिव ९०० एशोसिएट कम्पनीहरु मध्ये करिव ६०० कम्पनीको प्रोक्सी चन्द्रप्रसाद ढकाल अर्थात गोल्छा प्यानलले संकलन गरिसकेको बताईएको छ । प्रचार गरिएजस्तै गोल्छा समूहले ६०० प्रोक्सी संकलन गरिसकेको हो भने ढकालसँग प्रतिस्पर्धामा आउने जो कोहीको हार सुनिश्चित छ ।

यहि कारण अहिलेसम्म किशोर प्रधान समूहले उम्मेदवार तय गर्न नसकेको बताइएको छ । एशोसिएट उपाध्यक्षबारे गृहकार्य भईरहेको प्रधानले बताए । ‘हाम्रो टिममा एशोसिएट तर्फ उपाध्यक्षको उम्मेदवार देखिने गरि पनि हुन सक्छ, नदेखिने गरि रणनीतिक उम्मेदवार पनि हुन सक्छ’ प्रधानले भने ।

ज्योतिको उम्मेदवारी स्वतन्त्र हुनेछ वा रणनीति हुनेछ वा उनी अर्को निर्वाचनको लागि सिट सुरक्षित गर्न चाहान्छन् ? महासंघको निर्वाचनमा चासो राख्ने धेरैको मनमा खुल्दुली चलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.