एउटा मात्रै बिक्यो अनुदानको चुलो, ३ हजारमा पाइने चुलो ११ हजार नौ सय भएकोले विकेन

  २०७३ चैत ७ गते ७:५८     विकासन्युज

काठमाडौं । चिनियाँ सरकारले उपलब्ध गराएको इन्डक्सन चुलो डेढ वर्षमा एउटा मात्रै बिक्री भएको छ । भारतीय नाकाबन्दीका बेला अनुदानमा आयातित चुलोको उचित व्यवस्थापन नहुँदा बिक्री हुन नसकेको हो ।

नाकाबन्दीले खाना पकाउने एलपी ग्यासको चरम अभाव भएपछि चीनले अनुदानमा ११ हजार ३ सय चुलो उपलब्ध गराएको थियो । उक्त चुलो नेसनल ट्रेडिङ लिमिटेडमार्फत बिक्री गर्ने सरकारको योजना भए पनि डेढ वर्ष बित्न लाग्दा एउटा मात्रै बिक्री हुन सकेको छ ।

ट्रेडिङका महाप्रबन्धक लवराज जोशीले महँगो भएकाले बिक्री नभएको बताए । ‘बजारमा ३ हजारदेखि ३ हजार ५ सय रुपैयाँमै इन्डक्सन चुलो पाइन्छ, तर अनुदानको चुलोको मूल्य ११ हजार ९ सय ९५ रुपैयाँ छ,’ उनले भने । नाकाबन्दीका कारण ग्यास अभाव भएका बेला त्यसको फाइदा उठाउँदै निजी व्यवसायीले इन्डक्सन चुलोको मूल्य मनोमानी असुलेका थिए ।

अभावलाई केही व्यवस्थापन गर्न चीनले अनुदान दिएको थियो । चिनियाँ सरकारले केरुङ नाकाबाट १३ सय र हवाई मार्गबाट १० हजार चुलो उपलब्ध गराएको हो । अनुदानको चुलो आउने हल्लाले बजार भाउ नियन्त्रण गर्न धेरै सहयोग पुगेको थियो ।

‘अनुदानबाट सर्वसाधारणले राहत पाउने महसुस गरेका थिए,’ ट्रेडिङका उपत्यका बिक्रीवितरण व्यवस्था कार्यालय प्रमुख श्यामकुमार श्रेष्ठले भने, ‘तर आयातित इन्डक्सन चुलोको उचित व्यवस्थापन हुन सकेन, गोदाममै थन्किएको छ ।’ कान्तिपुर दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.