स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओमा २८ अर्ब ५० करोडको सेयर माग, आश्वा प्रणालीबाट आवेदन थोरै तर माग धेरै

  २०७३ चैत ५ गते १०:०३     विकासन्युज

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले निष्काशन गरेको एफपीओमा साढे २८ अर्ब रुपैयाँ बराबरकाे सेयर माग भएकाे छ । निष्काशन तथा बिक्री प्रबन्धक एनएमवी क्यापिटलका प्रमुख सञ्चालन अधिकृत कमल नेपालका अनुसार १ लाख ८१ हजार २३३ आवेदनबाट २८ अर्ब ४९ करोड ९६ लाख रुपैयाँको सेयर माग भएको छ ।
उक्त विवरणमा केही थप हुन सक्ने उनले बताए । ‘हामीले शुक्रबार राती साढे १० बजेसम्म इमेलबाट प्राप्त विवरणहरु अपडेट गरेको छौं । तर शुक्रबार केही आश्वा मेम्बरबाट र केही संकलन केन्द्रबाट विवरण प्राप्त हुन सकेन’ विकासन्युजसँग कुरा गर्दै नेपालले भने–आईतबार ११ बजेसम्म पूर्ण विवरण संकलन हुनेछ । थप एक/ढेड अर्ब रुपैयाँ बराबर सेयर माग आवेदन परेको हुनसक्न ।’

नेपालका अनुसार हालै प्रयोगमा आएको आश्वा प्रणालीबाट ६१ हजार ५०६ आवेदन मार्फत १६ अर्ब ९५ करोड ५१ लाख रुपैयाँको सेयर माग भएको छ भने पुरानो प्रणालीको फारमबाट १ लाख १९ हजार ७२७ वटा आवेदन मार्फत ११ अर्ब ५४ करोड ४५ लाख रुपैयाँको सेयर आवेदन भएको छ ।

विवरणअनुसार ठूला लगानीकर्ताले आश्वा प्रणालीबाट आवेदन गरेको र साना लगानीकर्ताले पुरानो शैली अपनाएको देखिएको छ । यस बैंकको सेयरमा आवेदन गर्ने ठूला लगानीकर्ताले मागको करिव ८ प्रतिशत सेयर पाउने देखिएको छ । यसअघि नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको एफपीओमा ठूला लगानीकर्ताले मागको करिब साढे ५ प्रतिशत सेयर पाएका थिए ।

बैंकले प्रतिकित्ता १०० अंकित सेयरमा ११९० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता १२९० रुपैयाँमा सेयर निष्काशन गरेको हो । बैंकले २५ लाख ५८ हजार १४० कित्ता एफपीओ निष्काशन गरेकोमा शुक्रबार आवेदन गर्ने समय सकिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.