पाटा नेपालले शुरु गर्यो ‘पाटा नेपाल युथ ट्यालेन्ट क्वेस्ट २०१७’

  २०७३ चैत ३ गते १३:२९     विकासन्युज

काठमाडौं । प्यासिफिक एसिया ट्राभल एसोसियसन (पाटा) नेपाल च्याप्टरले नेपाली पर्यटन क्षेत्रमा अध्ययनरत विद्यार्थीको ज्ञान, सीप र क्षमतालाई प्रतिस्पर्धामार्फत प्रस्फुटित गराउने तथा नेपाली पर्यटन क्षेत्रमा भावी सबल पर्यटन जनशक्तिको खोजमूलक अभियानको रूपमा ‘पाटा नेपाल युथ ट्यालेन्ट क्वेस्ट २०१७’ शुरु गरेको छ । सो अभियान विद्यार्थीहरूका लागि आफ्नो योग्यता, क्षमता र सीप प्रस्तुत गरी महत्वपूर्ण उपलब्धिहरू प्राप्त गर्न एक उपयुक्त माध्यमको रूपमा लिइएको छ ।

यस अभियानअन्तर्गत ‘पब्लिक स्पिकिङ’ शीर्षकको पहिलो प्रतियोगिता बुधबार काठमाडौंको मन्डिखाटार स्थित गेट कलेजमा सम्पन्न भएको छ, जसमा पाटा नेपाल च्याप्टर सदस्य शैक्षिक संस्था गेट, नाथम, क्याथ, एनसीटीटीएम, मिडभ्याली, पब्लिक युथ र आईएसटीबाट १५ जना विद्यार्थीले भाग लिएका थिए । सहभागीमध्ये आईएसटी कलेजकी छात्रा पेरिस्मा शर्मा विजयी भएकी छन् । विजेताले पुरस्कारस्वरूप आगामी १८ देखि २१ चैतमा श्रीलंकामा

आयोजना हुने पाटा एनुअल समिटमा पाटा नेपालको सौजन्यमा सहभागी हुने अवसर प्राप्त गरेकी छन् । सो कार्यक्रमको उद्घाटनमा पाटा नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डेले स्वागत मन्तव्य राख्दै पाटा नेपालको दक्ष जनशक्ति निर्माण तथा नेपाली पर्यटन क्षेत्रका नयाँ पुस्तामा नेतृत्व सीप अभिवृद्धि गर्ने उद्देश्यले पाटा नेपालले यो अभियान अघिसारेको बताए ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पूर्वसचिव दीपेन्द्र पुरुष ढकाल, नाथम कलेजका भूपू प्राचार्य उज्ज्वल सत्याल र भोग एड एन्ड इभेन्ट म्यानेजम्यान्टका प्रमुख कार्यकारी अधिकृत प्रभात रिमालले निर्णायक मण्डलको भूमिका निर्वाह गरेका थिए । दीपेन्द्र पुरुष ढकालले पाटा नेपालले नेपाली पर्यटन क्षेत्रको दिगो विकासका लागि महत्वपूर्ण एवं आवश्यक पहल अघि सारेको बताउँदै नेपाललाई अन्य गन्तव्यहरूसँगको प्याकेजमा भन्दा एक आत्मनिर्भर गन्तव्यको रूपमा प्रवद्र्धन गर्नुपर्ने खाँचो रहेको औंल्याएका छन् ।

यस अभियानअन्तर्गत पब्लिक स्पिकिङ, कन्टेन्ट राइटिङ, टुरिजम प्रोजेक्ट डेभलपमेन्ट, टेक फर टुरिजम र प्रोमो भिडियो गरी विभिन्न पाँचवटा विधामा अन्तर कलेज प्रतियोगिता सञ्चालन गरिने पाटा नेपालका कार्यकारी प्रबन्धक सुरेश सिंह बुडालले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.