टोखा हुँदै नुुवाकोट जाने सुुरुङमार्ग बनाउने चिनियाँ कम्पनीकाे प्रस्ताव , २ प्रतिशत व्याजमा ऋण पनि जुटाइदिने

  २०७३ चैत ३ गते ९:३४     विकासन्युज

सुुरुङमार्गको फाइल स्केच

काठमाडौं । काठमाडौंबाट टोखा हुँदै नुवाकोट जाने सडक निर्माणमा चिनियाँ कम्पनी चाइना मेसिनरी इन्जिनियरिङ कर्पोरेशन (सीएमईसी)ले रुची देखाएको छ ।

यो कम्पनीले सडक विभागले काठमाडौंबाट नुवाकोट प्रवेश गर्ने सुरुङमार्ग बनाउन अगाडि सारेको योजनालाई ऋणसहयोग दिएर निर्माण गर्न रुची देखाएको हो ।

कम्पनीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पेश गरेको एक प्रस्तावमा ४ किलोमिटर सुरुङ मार्गसहितको ३४ किलोमिटर सडक निर्माण गर्ने उल्लेख छ । कम्पनीको प्रस्तावमा आवश्यक लागतका लागि पनि २ प्रतिशत व्याजदरको ऋणमा चीनले नै लगानी जुटाइदिने उल्लेख छ ।

चिनियाँ कम्पनीले यो प्रस्ताव शहरी विकास मन्त्री अर्जुननरसिंह केसीलाई बुझाएको छ । केसीले सोही प्रस्तावलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत अगाडि बढाउन निर्देशन दिएका छन् ।

भौतिक मन्त्रालयका अनुसार प्रस्ताव आएको भएपनि कति रकम लाग्ने, कति ऋण दिने भन्ने उल्लेख छैन । यस अघि सडक विभागले नै यसको अध्यय गरेकोले पनि सोही अनुसारको प्रस्ताव आएको हुनसक्ने मन्त्रालय स्रोतको भनाइ छ । काठमाडौको टोखाबाट ४ किलोमिटरसम्मको सुरुङमार्ग बनाएर नुवाकोटको छहरे निकालिने छ । त्यसपछि थान्सिङफाँट हुँदै विदुर जाेड्ने बाटाे विस्तार गर्ने प्रस्ताव गरिएकाे छ । सरकारले ८५ किलोमिटरको गल्छी-विदुर-रसुवागढी सडक विस्तारको कामलाईसमेत प्राथमिकता दिएको छ ।

यो प्रस्तावमा सुरुङसहितको सडकले काठमाडौंसँग नजिक बनाउने र नुवाकोटको थान्सिङ फाँटमै नयाँ सहर बनाउने पनि प्रस्तावमा उल्लेख छ । नयाँ सहर बनाउने सरकारी योजनालाई यो सडकले सहजै जोड्न सक्ने पनि उल्लेख छ । यो सडक आगामी दुई देखि पाँच वर्ष भित्रमै  निर्माण गरेर संचलनमा गर्न सकिने उल्लेख छ ।

हाल यो सडकको ट्रयाक खोलिसकिएको छ । यो सडक निर्माण गर्ने र टोखाबाट नुवाकोट सुरुङमार्गले जोडिएको अवस्थामा काठमाडौंबाट रसुवागढी हुँदै चिनियाँ सिमानामा पुग्न सबैभन्दा सहज बाटो हुने पनि सडक विभागले जानकारी दिएको छ ।

सडक विभागका अनुसार यसअघि टोखा–छहरे सुुरुङमार्ग निर्माण गर्न एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंकले संम्भाव्यता अध्ययन गर्ने चासो देखाएको थियो । यो बैंकले नै सुरुङ मार्ग निर्माण गर्ने विषयमा पनि सरकारको सहमति खोजिरहेको थियो ।

यो सुुरुङमार्ग निर्माण गर्दा काठमाडौंबाट सीधै नुुवाकोटको थान्सिङ फाँट निस्कन सकिन्छ । गल्छीदेखि रसुुवागढीसम्म सरकारले स्तरीय सडकमार्ग निर्माण गरिरहेकोले पनि सुरुङमार्गको पनि काम तत्कालै अगाडि बढाउनुपर्ने आवश्यकता रहेको उल्लेख छ ।

यो सुरुङमार्ग बन्यो भने गल्छी रसुवागढी जोड्ने स्तरीय सडकमार्गको पहुँचले पनि जोड्ने छ । सरकारले रेलमार्गको पनि संम्भाव्यता अध्ययन गरिरहेकोले काठमाडौंबाट चीनियाँ नाकाको दुरी आधा घण्टा भन्दा लामो नहुने दाबी सडक विभागको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.