चेक क्लियरिङमा गम्भिर समस्या, चेक बाउन्सको नाममा निक्षेपकर्ताको खाताबाट पैसा काट्दै बैंकहरु

  २०७३ चैत २ गते १८:१०     विकासन्युज

काठमाडौं । बैंकहरु ग्राहकको चेक कारोबार व्यवस्थापनमा चुकेका छन् । पछिल्ला दिनहरुमा धेरैको चेक बाउन्स हुने (निक्षेपकर्ताको खातामा पैसा हुँदा चेक नसाटिने) समस्या देखिएको छ ।

सामान्यतया विहान ११ बजेअघि जम्मा गरिएको चेक बराबरको रकम साँझ खातामा जम्मा हुन्छ । ढिलो भएमा आज जम्मा गरेको चेक बराबरको रकम भोली खातामा जम्मा हुन्छ ।

तर पछिल्लो समय एकाउन्ट पेइ गरिएको चेक ६ दिनसम्म पनि नसाटिएको पाइएको छ । फागुन २७ गते जम्मा गरेको चेकको रकम चैत २ गतेसम्ममा पनि खातामा जम्मा नभएको भेटिएको छ ।

नेपाल लाईफ इन्स्योरेन्सको एफपीओ र फरवार्ड कम्यूनिटी माइक्रोफाइनान्स आईपीओको सेयर बाँडफाँडपछि अत्याधिक चेक क्लियरिङमा आएकोले चेक साट्न ढिलाई भईरहेको बैंकर्सहरुले बताएका छन् ।

दुई संस्थाको एफपीओ र आईपीओ एकै पटक बाँडफाँड हुँदा एकै पटक धेरै चेक क्लियरिङमा आएकोले ढिलाई भएको नेपाल बैंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बताए । ‘चेक क्लियरिङमा समस्या हो, यसमा बैंकहरुको गल्ती छैन’ ढुंगानाले भने ।

एकाउन्ट पेइ चेक भुक्तानीको काम गर्दै आएको एक मात्र कम्पनी नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानका अनुसार चेक कारोबार करिव ५ गुणासम्मले वृद्धि भएको छ । तर क्लियरिङ हाउसबाट गर्नुपर्ने काममा ढिलाई नभएको उनको दावी छ ।

उनका अनुसार औषतमा दैनिक ४० हजार चेक क्लियरिङमा जम्मा हुने गरेकोमा मंगलबार १ लाख ९४ हजार चेक क्लियरिङमा जम्मा भएका थिए । बुधबार ८७ हजार चेक क्लियरिङमा गएका थिए । ‘क्लियरिङमा आएजति सबै चेक कारोबार सेटल भएको छ’ उनले भने–‘धेरै चेक आउँदा बैंकहरुलाई व्यवस्थापन गर्न कठिन भएको हुनसक्छ ।’

औसतभन्दा ४/५ गुणा बढी चेक जम्मा हुन आएकोले त्यसलाई व्यवस्थापन गर्न ढिलाई भईरहेको प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बताए । मंगलबार मात्र १ लाख ११ हजार चेक क्लियरिङको लागि जम्मा भएको उनले बताए ।

चेक क्लियरिङमा ढिलाई हुँदा धेरै ग्राहकको चेक बाउन्स हुने समस्या देखिएको छ । चेक बाउन्स हुँदा जरिवाना स्वरुप चेक निष्काशन गर्ने ग्राहकको खाताबाट बैंकहरुले २५० देखि ५०० रुपैयाँ झिक्ने गरेका छन् । बैंकहरुको व्यवस्थापकीय कमजोरीका कारण ग्राहकहरु जरिवानाको शिकार बन्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.