मेलम्चीको प्रगतिबारे रातारात अनुगमन हुँदै, दसैँ अघि काठमाडौंवासीलाई पानी खुवाउने तयारी

  २०७३ चैत २ गते १२:३१     विकासन्युज

काठमाडौं । खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले मेलम्ची खानेपानी आयोजनाको प्रगतिबारे रातारात अनुगमन गरेका छन् । मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय-२ लाई उपत्यकाभित्र खोपानीको पाइप बिच्छ्याउने काम दिए पनि तीव्र गतिमा काम गर्न नसकेको जनगुनासो आएपछि राज्यमन्त्री खड्का मङ्गलबार राति १० बजेदेखि ११ः३० बजेसम्म अनुगमनमा निस्केका हुन् ।

राज्यमन्त्री खड्काले कान्तिपथ, लाजिम्पाट र पानीपोखरीमा भइरहेको मेलम्ची खानेपानीको कामको बारेमा जानकारी लिएका थिए । कान्तिपथको कालोपत्र गर्ने जिम्मा रमन कन्टक्सनलाई दिइएको छ भने पानीपोखरीको पाइप बिच्छ्याउने काम आयोजना आफैँले गरिरहेको छ ।

मेलम्चीले भत्काएको बाटो समयमा कालोपत्र नहुँदा उपत्यकाको धुलोको मात्रा अत्याधिक बढेको भन्दै उनले चाँडो कालोपत्र गर्न निर्देशन दिएका छन् । उनले भने, “दसैँ अगाडि नै काठमाडौँवासीलाई पानी खुवाउँछौँ भनेर मन्त्रालय लागिरहेको छ तपाईंहरु चाँडो काम गर्नुहोस् ।”

हालसम्म मेलम्चीको टनेल खन्ने काम २७ किलोमिटरमध्ये २३ किलोमिटर, मुख्य पाइप बिच्छ्याउने काम ६१ किलोमिटरमध्ये ४१ किलोमिटर र शाखा पाइप बिच्छ्याउने काम ६७० किलोमिटरमध्ये ५५० किलोमिटर बिच्छ्याइसकिएको आयोजनाका प्रमुख तिरेशकुमार खत्रीले जानकारी दिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.