स्थानीय चुनावपछि देश आर्थिक विकासमा अगाडि बढ्छ- मीनबहादुर श्रेष्ठ

  २०७३ फागुन ३० गते १६:४८     विकासन्युज

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठसँग नेपाल भ्रमणमा रहेका विश्व बैंकका कार्यकारी निर्देशक डा एन्डिन हडियान्तोले सोमबार शिष्टाचार भेट गरेका छन् । भेटका अवसरमा उनीहरुबीच नेपालको आर्थिक अवस्था, भावी परिदृश्य तथा विश्व बैंकको सहयोगलगायतका विषयमा छलफल भएको राष्ट्रिय योजना आयोगले जनाएको छ ।

उक्त अवसरमा उपाध्यक्ष डा श्रेष्ठले देशको आर्थिक अवस्था सुधारोन्मुख रहेको, स्थानीय चुनावपछि राजनीतिक स्थितिमा सुधार आउने र देश आर्थिक विकासमा अगाडि बढ्ने बताए । उनले चौधौँ योजना कार्यान्वयनका क्रममा रहेको र सन् २०३० सम्मका लागि दीर्घकालीन योजना तयार पारेको उल्लेख गरेका छन् ।

आगामी केही वर्ष भौतिक पूर्वाधारमा ठूलो लगानी आवश्यक पर्ने बताउँदै उपाध्यक्ष डा श्रेष्ठले विश्व बैंकलगायतका विकासका साझेदार संस्थाबाट वैदेशिक लगानी भित्र्याउन आवश्यक सहयोगको अपेक्षा गरे ।

जवाफमा निर्देशक डा एन्डिनले नेपालको वर्तमान आर्थिक अवस्था, योजना आयोगको भूमिकालगायतका विषयमा चासो व्यक्त गर्नुका साथै वैदेशिक लगानी भित्र्याउन निजी क्षेत्रको लगानीको सुरक्षाको सुनिश्चितता गर्दै निजी क्षेत्रको भूमिका बढाउनुपर्ने बताए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.