काठमाडौंमा रेल बनाउन ५ कम्पनी इच्छुक, दुई रुटमा मेट्रो र तीन रुटमा मोनोरेलको प्रस्ताव

  २०७३ फागुन २८ गते ८:२०     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकामा मेट्रो तथा मोनो रेल बनाउन ५ कम्पनी इच्छुक देखिएका छन् ।

लगानी बोर्डका अनुसार उपत्यकामा मेट्रोे तथा मोनो रेल बनाउँन विभिन्न पाँच वटा कम्पनीको इच्छा देखाएर प्रस्ताव नै पेश गरेका छन् ।

बोर्डमा परेको प्रस्तावमा मलेसिया, जापान, चीन, कोरिया र एसीयाली विकास बैंक (एडीबी) रहेका छन् । लगानी बोर्डका बोर्डका प्रवक्ता मधुप्रसाद भेटुवालका अनुसार मलेसियन कम्पनीले नेपाली कम्पनीसँगको सहकार्यमा लगानी गर्ने गरी प्रस्ताव दिएको छ ।

मलेसियाले काठमाडौंको २७ किलोमिटरको रिङरोडमा मोनोरेल बनाउँने प्रस्ताव गरेको हो । बोर्डमा परेको प्रस्तावमा मलेसियाले भन्डै ८५ अर्ब नेपाली रुपैयाँ लगानी गर्ने प्रस्ताव गरेको छ ।

बोर्डमा परेको पाँचवटै कम्पनीको प्रस्तावमा उपत्यकामा मेट्रो तथा मोनो रेल दुबैमा संभावना औल्याइएको छ । चिनियाँ, कोरियन र मलेसियनको प्रस्तावमा भने इन्जिनियर प्रोक्युअरमेन्ट तथा कन्ट्रक्सन (ईपीसी) मोडल अपनाउने पनि उल्लेख छ ।

उपत्यकाको रिङरोड र रिङरोड बाहिरको दुई रूट गरी तीन वटा रुटमा मोनोरेल र काठमाडौंको भित्रको दुईवटा रुटमा मेट्रोरेल बनाउँने प्रस्ताव आएको बोर्डले जानकारी दिएको छ । ईपीसी मोडलको प्रस्ताव गर्ने देशबाट नै वित्तीय व्यवस्था पनि गरिदिने प्रस्तावसमेत रहेको लगानी बोर्डले जानकारी दिएको छ ।

काठमाडौंमा मेट्रो तथा मोनो रेलको संम्भाव्यता र लगानीको विषयमा सुझाव दिन सरकारले राष्ट्रिय योजना आयोगका सदस्य हिरेन्द्रमान प्रधानको संयोजकत्वमा एक सुझाव समिति गठनसमेत गरेको छ ।

समितिले काठमाडौं मेट्रो तथा मोनो रेलमा आएको प्रस्तावको अध्ययन गरेर सरकारलाई उपयुक्त सुझाव दिने उल्लेख छ ।

ईपीसीसहितको तीनवटै कम्पनीको प्रस्ताव, ईपीसीसहित वित्तीय व्यवस्थाको प्रस्ताव र अन्य प्रस्ताव माथि पनि अध्ययन गरेर उपयुक्त मोडल र लगानीको विषयमा सरकारलाई सुझाव दिने कार्यगत सर्त तोकिएको पनि बोर्डको भनाइ छ । यो समितिमा लगानी बोर्ड सदस्य सचिव रहेको छ ।

काठमाडौंमा मेट्रोरेल बनाउन यस अघि कोरियाली कम्पनी चुङसुङ इन्जिनियरिङले एक अध्ययन प्रतिवेदन सरकारलाई दिएको छ । यो कम्पनीले काठमाडौंको पाँचवटा रूटको मेट्रो रेल निर्माण गर्न सकिने प्रतिवेदन दिएको छ ।

यो कम्पनीले दिएको अध्ययन प्रतिवेदन अनुसार उपत्यकाको तीन सहज जोड्ने ७८ किलोमिटरको मेट्रो रेल निमार्ण गर्न साढे पाँच पाँच खर्ब ४७ अर्ब लागत लाग्ने विभागले जानकारी दिएको छ ।

काठमाडौंमा निर्माण गर्न अध्ययन भएको मेट्रो रेल एउटा रुट कलंकीबाट सुरु भएर सातदोबाटो, नारायण गोपाल चोकहुँदै कलंकी नै आइपुग्ने गरी रिङरोड घुम्ने छ । दोस्रो रुट सातदोबाटो–त्रिपुरेश्वर–रत्नपार्कहुँदै नारायणगोपाल चोकसम्मको छ ।

तेस्रो रुट तीनकुने–माइतिघर–कलंकी हुँदै कीर्तिपुरसम्मकोे छ । यी तीनवटा रुट सडकमाथिको मोनोरेल हुने छ । गोङ्गबु–नारायणहिटी–डिल्लीबजार–माइतीघर–पुल्चोकहुँदै घोविघाट जाने र स्वयम्भू–रत्नपार्क–डिल्लीबजार– चावहिलहुँदै बौद्ध जाने रुट भूमिगतहुँदै जाने मेट्रोको हुने उल्लेख छ ।

मेट्रोरेल काठमाडौंको आवश्यकता भएकोले यसको बारेमा सरकारले चासो लिएको जानकारी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालको भनाइ छ । भौतिक मन्त्री रमेश लेखकले यस अघि आगामी १० वर्ष भित्रमा काठमाडौंमा मेट्रो निर्माण गर्ने सरकारी तयारी रहेको जानकारी पनि दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.