ब्राजिल अझै आर्थिक मन्दीबाट गुज्रिँदै, नतिजा सुधारोन्मुख

  २०७३ फागुन २५ गते १५:४६     विकासन्युज

ब्राजिल । ब्राजिलको आर्थिक मन्दीले विगत दुई वर्षमा इतिहासमै मुलुकको गतिविधिमा नराम्रो प्रभाव पारेको ब्राजिलले जनाएको छ । मङ्गलबार आर्थिक मन्दीबाट मुलुक प्रताडित हुन थालेको ठिक दुई वर्ष पुग्दा दक्षिण अमेरिकाको सबैभन्दा ठूलो अर्थतन्त्र मानिने ब्राजिलमा केही सुधारका सङ्केत भने देखिएका छन् ।

ब्राजिलको सरकारी तथ्याङ्क कार्यालयले मङ्गलबार जारी गरेको रेकर्डमा मुलुकको अर्थतन्त्र सन् २०१६ को अन्तिम तीन महिना (अन्तिम त्रैमासिक) अवधिमा ०.९ प्रतिशतमा खुम्चिएको जनाइएको छ । सन् २०१६ मा औसत आर्थिक गिरावट ३.६ प्रतिशत कायम रहेको छ । सन् २०१५ मा औसत आर्थिक मन्दीदर ३.८ प्रतिशत रहेको थियो ।

ब्राजिलमा आर्थिक तथ्याङ्क अध्ययनलाई लिपिबद्ध गर्न थालिएपछि भएको यो सबैभन्दा ठूलो दरको गिरावट भएको उक्त कार्यालयले बताएको छ । तेलमा आएको भारी गिरावट, भटमास, धातु र अन्य दैनिक उपभोग्य वस्तुको निर्यात घाटा तथा राजनीतिक अस्थिरता र ठूल्ठूला भ्रष्टाचारका प्रकरणले गर्दा ब्राजिलको अर्थतन्त्र नराम्ररी प्रभावित बनेको हो ।

ब्राजिलमा देखिएको आर्थिक मन्दीसँगै यहाँको बेरोजगारी समस्या १२.६ प्रतिशत पुगेको छ । मन्दीका कारण यहाँका करिब एक करोड ३० लाख मानिस बेरोजगार छन् । सन् २०१६ देखि ब्राजिलमा राजनीतिक सङ्कट चुलिएको थियो । पूर्व राष्ट्रपति दिल्मा रुसेफमाथि सरकारी ढुकुटीलाई गैरकानुनी रूपमा चलाएको भन्दै महाअभियोग लगाइएपछि ब्राजिलमा राजनीतिक अन्योल देखा परेको थियो ।

रुसेफसँगै उनका केही सहयोगीलाई समेत उनलाई महाभियोग लगाइएपछि उत्तराधिकारी बनेका मिसेल टिमरले सुधारका कार्यक्रम ल्याएको बताइएको छ । रासस/एएफपी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.