नेपालको जलविद्युत् क्षमता ८५ हजार मेगावाट, ५० वर्षअघिको रिपोर्टमा १९०० मेगावाट थपियो

  २०७३ फागुन २४ गते १३:५६     विकासन्युज

काठमाडौं । नेपालको जलविद्युत् उत्पादन क्षमता ८४ हजार ९ सय मेगावाट रहेको देखाएको छ ।  जल तथा ऊर्जा आयोग सचिवालयले गरेको पछिल्लो अध्ययनले सो देखाएको हो । सिल्ड कन्सर्नलाई परामर्शदाताका रूपमा छनोट गरी गरिएको अध्ययनले नेपालको उत्पादन क्षमता ८५ हजार मेगावाट रहेको देखाएको हो ।

५० वर्षअघि गरेको अध्ययनले नेपालको जलविद्युत् उत्पादन क्षमता ८३ हजार मेगावाट उत्पादन क्षमता रहेको उल्लेख ऊर्जा मन्त्रालयका प्रवक्ता दिनेश घिमिरेले जानकारी बताए ।  यसैलाई आधिकारिक मानिंदै आएको छ । त्यसयता यस बारेमा विस्तृत अध्ययन हालसम्म भएको थिएन ।
परामर्शदाताले उपलब्ध गराएको अन्तरिम प्रतिवेदनमा ‘क्यू ४०’ प्रणालीका आधारमा ८४ हजार ९ सय मेगावाट देखिएको आयोगले जानकारी दिएको छ । यसअघि प्राज्ञिक आधारमा विश्लेषण गर्दै नेपालको जलविद्युत् क्षमता १ लाख ५० हजार मेगावाटभन्दा बढी हुनसक्ने प्रारम्भिक प्रतिवेदन यही परामर्शदाताले दिएको थियो । परामर्शदाताले अन्तरिम प्रतिवेदन दिएको छ ।

उत्पादन क्षमता
नदी वेसिन                    क्षमता (मेगावाट)
कोशी                          २८८१०
गण्डकी                       २४१३५
कर्णाली                       २५४६६
महाकाली                    ३०२१
वागमती                       १०४३
राप्ती                           ९९९
बबई                            ४४६
कन्काई                        ४११
कमला                          २५५
तिनाउ                          १५८
बर्कैया                          ९४
मेची                             ६२
स्रोतः जल तथा ऊर्जा आयोग सचिवालयल

कुल पानीको क्षमताको आधारमा यो तथ्यांक दिए पनि त्यसलाई वास्तविक उत्पादन क्षमताको आधारमा विश्लेषण गर्दा फरक पनि पर्न सक्ने आयोगले बताएको छ ।  दश नदी वेसिनलाई आधार मानेर तयार पारिएको प्रतिवेदनमा सबैभन्दा बढी जलविद्युत् उत्पादन क्षमता कोशीमा २८ हजार ८ सय १० मेगावाट र सबैभन्दा कम मेचीमा ६२ मेगावाट रहेको छ ।

यस्तै, गण्डकीमा २४ हजार १ सय ३५, कर्णालीमा २५ हजार ४ सय ६६, महाकालीमा ३ हजार २१, वागमतीमा १ हजार ४३, राप्तीमा ९ सय ९९, बबईमा ४ सय ४६, कन्काईमा ४ सय ११, कमलामा २ सय ५५, तिनाउमा १ सय ५८ र बर्कैयामा ९४ मेगावाट उत्पादन क्षमता देखिएको छ ।
नेपाल र भारत दुवै देशका साझा आयोजनाको रुपमा अघि बढेका कर्णाली चिसापानी, पञ्चेश्वर लगायतका आयोजनाको भने आधा क्षमतालाई मात्र प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कुल जलविद्युत् उत्पादन क्षमता अघिल्लो मिल्दोजुल्दो देखिए पनि व्यावसायिक रुपमा उत्पादन क्षमता भने ५० हजार मेगावाट नाघ्ने प्रारम्भिक अध्ययनले देखाएको छ । २०७४ असारसम्ममा नेपालको कुल र व्यावसायिक क्षमताबारे स्पष्ट प्रतिवेदन आउने आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.