वार्षिक चार खर्ब रेमिट्यान्स विदेशिँदै, भारतले लैजान्छ ३ खर्ब

  २०७३ फागुन १८ गते ८:१६     विकासन्युज

काठमाडौं । हरेक वर्ष औपचारिक माध्यमबाट करिब साढे ६ अर्ब रुपैयाँको रेमिट्यान्स भित्र्याउने नेपालले त्यसको आधाभन्दा बढी यहाँबाट पठाउने गरेको पाइएको छ । विश्व बैंकका अनुसार नेपालबाट वार्षिक करिब ३ खर्ब ८० अर्ब रुपैयाँ (३ अर्ब ७ करोड ८० लाख अमेरिकी डलर)बराबरको रेमिट्यान्स बाह्य प्रवाह हुने गरेको छ ।

विश्व बैंकको सबैभन्दा पछिल्लो ‘माइग्रेसन एन्ड रेमिट्यान्स रिपोर्ट–२०१६’अनुसार नेपालबाट रेमिट्यान्स पाउने मुलुकहरूमा भारत, चीन, पाकिस्तान, भुटान, श्रीलंका, बंगलादेश छन् ।

नेपालबाट सर्वाधिक रेमिट्यान्स लैजाने मुलुकमा दक्षिणी छिमेकी भारत पहिलो नम्बरमा छ । भारतले यहाँबाट वार्षिक करिब ३ खर्ब रुपैयाँ (२ अर्ब ८९ करोड डलर) रेमिट्यान्स लैजान्छ ।

जबकी भारतबाट वार्षिक औसत ५० अर्ब रुपैयाँबराबरको रेमिट्यान्स भित्रने गरेको केही समयअघि नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनले देखाएको छ ।

नेपालमा ठूलो संख्यामा कार्यरत भारतीय श्रमिक र विभिन्न निजी प्रतिष्ठानमा कार्यरत जनशक्तिमार्फत यो रकम बाहिरिने गरेको हो । भवन निर्माणमा सिकर्मी, डकर्मी, प्लम्बर, इलेक्ट्रोसियनलगायत विभिन्न खालका प्राविधिक कामदेखि कपाल काट्ने, कवाडी संकलन गर्नेसहितका काममा हजारौं भारतीय जनशक्ति कार्यरत छ ।

बारा–पर्सासहितका प्रमुख औद्योगिक करिडोरमा समेत भारतीय जनशक्ति व्यापक रूपमा कार्यरत छ । जसको औपचारिक तथ्यांक छैन ।

श्रम ऐनअनुसार औपचारिक श्रम स्वीकृति नलिइकन विदेशी कामदार राख्न पाइँदैन । तर, नेपालमा औपचारिक रुपमा श्रम स्वीकृति लिने विदेशी कामदारको संख्या निकै कम छ ।

भारतपछि उत्तरी छिमेकी चीनले यहाँबाट अत्याधिक रेमिट्यान्स लैजाने गरेको छ । चीनले वार्षिक करिब १४ अर्ब रुपैयाँबराबरको रेमिट्यान्स लाने गरेको छ ।

पछिल्ला केही वर्षयता नेपालको पूर्वाधार निर्माणमा चिनियाँ कम्पनीहरूको सहभागितासँगै त्यहाँका कामदारहरूको संख्या बढ्दो क्रममा छ । प्रायः चिनियाँ ठेक्काका परियोजनाहरूमा चीनबाटै कामदार ल्याएर परिचालित गर्ने गरिएको छ ।

यो रकम तिनै कामदारले लाने गरेका हुन् । यसबाहेक पाकिस्तानले करिब साढे तीन अर्ब, भुटानले करिब १ अर्ब ८० करोड, श्रीलंकाले २ करोड र बंगालादेशले करिब १ करोड रुपैयाँबराबरको रेमिट्यान्स नेपालबाट लैजाने गरेको विश्व बैंकको तथ्यांकले देखाएको छ ।

भारतले नेपालबाट मात्र होइन, दुश्मनको व्यवहार गर्ने गरेको पाकिस्तानबाट समेत रेमिट्यान्स प्राप्ति गर्ने गरेको बैंकको प्रतिवेदनमा छ ।

“स्टेट बैंक अफ पाकिस्तानका अनुसार भारतले सन् २०१६ मा पाकिस्तानबाट १ लाख १६ हजार अमेरिकी डलर र पाकिस्तानले भारतबाट ३ लाख २९ हजार अमेरिकी डलर रेमिट्यान्स प्राप्त गरेको छ,” बैंकको द्विपक्षीय रेमिट्यान्स आप्रवाह प्रतिवेदनमा भनिएको छ ।

नेपालबाट बाहिरने रेमिट्यान्स
देश              रकम (दश लाख अमेरिकी डलर)
भारतः           २८९०
चीनः             १३६
पाकिस्तानः    ३२
भुटानः          १७
श्रीलंकाः        २
बंगलादेशः    १
कुलः          ३०७८

काराेबार दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.