उपत्यकामा मेट्रो सिटी बनाइदै, २२ वटा नगरपालिकाको समन्वय एउटै संरचनामा

  २०७३ फागुन १६ गते ८:१७     विकासन्युज

काठमाडौं । काठमाडौँ उपत्यकामा रहेका २२ वटा हालको नगरपालिका एउटै संरचना मेट्रो सिटीभित्र रहने भएका छन्। स्थानीय तह पुनःसंरचना आयोगले काठमाडौँ उपत्यकामा रहेका सबै नगरपालिकाको एउटै संरचना निर्माण गर्न सरकारलाई मेट्रो सिटीको प्रस्ताव गर्न लागेको हो ।

हाल काठमाडौँ उपत्यकामा २२ वटा नगरपालिका रहे पनि स्थानीय तहको पुनः संरचनासँगै १६ वटामा कायम हुनेछन्।
उपत्यकामा भएका १६ वटा नगरपालिकाको एकीकृत विकास र समन्वय गर्न मूल संरचना आवश्यक भएको आयोगले महसुस गर्दै एउटै संरचनाभित्र सबै नगरपालिका अटाउने गरी आयोगले सरकारलाई प्रस्ताव गर्न लागेको हो ।

स्थानीय तह पुनःसंरचना आयोगलाई सरकारले दिएको कार्यादेश ९टीओआर०मा काठमाडौँ उपत्यकाको एकीकृत तथा समन्वयात्मक विकासका निम्ति उपयुक्त संरचना निर्माणका लागि सुझाव दिनुपर्ने उल्लेख गरिएको छ ।

सोही अनुरूप आयोगले उपत्यकाको एकीकृत विकासका लागि एउटै संरचना निर्माण गर्ने तयारी गरेको आयोगले जनाएको छ ।
आयोगका सदस्य निरज शाहले भने, “उपत्यकामा रहेका १६ नगरपालिकाको छाता सङ्गठन काठमाडौँ मेट्रो सिटी रहनेछ । मेट्रो सिटीले उपत्यकामा रहेका १६ वटा नगरपालिकाको समन्वय गर्नेछ । ”

उहाँका अनुसार मेट्रो सिटीले खासगरी १६ वटै नगरपालिकाको पूर्वाधार विकास र नीति निर्माण गर्नेछ । उपत्यकामा रहेका सबै नगरपालिका उक्त मेट्रो सिटीको मातहतमा रहनेछन् । नगरपालिकाभित्र बन्ने सडकको मापदण्ड, पर्यटकीय स्थानको छनोट, फोहोरमैलाको व्यवस्थापन, सांस्कृतिक सम्पदाको संरक्षण, खानेपानी, पुल, शिक्षालय, यातायात, उत्पादनयोग्य जमिनको संरक्षण र ऊर्जाको विकासका लागि समन्वयको काम मेट्रो सिटीले गर्नेछ ।

मेट्रो सिटीले पूर्वाधार निर्माण गर्दा दिगोपन र सबैलाई स्वीकार्य हुने गरी नीति निर्माण गर्ने र आवश्यक स्रोतको समेत खोजी गर्नेछ ।
मेट्रो सिटीमा निर्वाचित व्यक्तिको परिषद् बन्नेछ र उपत्यकामा सबै नगरपालिका उक्त परिषद्का सदस्य रहने गरी आयोगले प्रस्ताव तयार गरिरहेको छ ।

उपत्यका नेपालको राजधानी भएको र यहाँ भएका केही नगरपालिका आर्थिक पूर्वाधारको दृष्टिले सम्पन्न छन् भने केही विपन्न रहेका छन् । कतिपय नगरपालिका प्राकृतिक र सांस्कृतिक रूपमा सम्पन्न भएकाले सबै नगरपालिकाको समानुपातिक विकासका लागि एउटै छाता सङ्गठन आवश्यक भएकाले आयोगले सोही अनुरूपको संरचना रहने गरी प्रस्ताव तयार गर्न लागेको हो ।

नेपाल नगरपालिका सङ्घका अध्यक्ष एवं आयोगका सदस्य डोरमणि पौडेल सबै नगरपालिका संविधानअनुरूप आफ्नै ढङ्गबाट सञ्चालन हुने भए पनि नगरपालिकाको एकीकृत विकास भने मेट्रो सिटीले गर्नेछ । अन्य देशमा मेट्रो सिटी रहेको र नेपालमा पनि सबै नगरपालिकाको एकीकृत समन्वयात्मक विकासका लागि मेट्रो सिटी निर्माणको प्रस्ताव गर्न लागिएको हो । गोरखापत्र दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.