अब जेठ १६ देखि नै बजेट खर्च गर्ने अख्तियारी

  २०७३ फागुन १२ गते १२:३०     विकासन्युज

काठमाडौं । अब अर्थ मन्त्रालयले बजेट पेस भएको भोलिपल्ट जेठ १६ गते नै बजेट खर्चको अख्तियारी पठाउने भएको छ । पुँजीगत खर्च बृद्धि गर्नका लागि अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७४/७५ को बजेट खर्च गर्ने अख्तियारी जेठ १६ गते दिन तयारी गरेको हो । यस आवदेखि नेपालको संविधान २०७२ मा लेखिए बमोजिम सरकारले जेठ १५ मै बजेट संसद्मा बजेट पेश गरेको छ ।

बजेटको भोलिपल्टै खर्च गर्ने अख्तियारी दिने सम्बन्धमा राष्ट्रिय योजना आयोग सहमत भएको गरिएको अर्थ मन्त्रालय बजेट तथा कार्यक्रम महाशाखा प्रमुख मुधकुमार मरासिनीले बताए । यस वर्षको बजेट गत जेठ १५ मै प्रस्तुत गरिए पनि खर्चको अख्तियारी साउन १ गतेमात्र पठाइएको थियो । ‘अख्तियारी ढिलो पठाउँदा चाँडो बजेट आउनुको फाइदा लिन सकिएन,’ उनले भने ‘त्यसैले बजेट कार्यान्वयन अघि बढाउने प्रक्रिया आगामी आवका लागि यसै वर्षनै हुनेछ ।

बजेट चाँडै पेस भए खर्च खुरुखुरु हुन्छ भन्ने ठानियो तर बजेट चाँडै पेस भए पनि अख्तियारी त पुरानै पक्रियाबाट गयो र खर्च बढ्न सकेन । चालु आवको फागुन ११ गतेसम्म कुल पुँजीगत खर्चको १८.२५ प्रतिशतमात्र खर्च भएको छ । चालु आवको यो अवधिसम्म खर्च त्यति सन्तोषजनक हुन नसकेपनि अबको दिनमा बढ्ने अर्थ सचिव शान्तराज सुवेदीले बताएका छन् । चालु आवको अन्त्यसम्म ८४ प्रतिशत अर्थात २ खर्ब ६२ अर्ब ३ करोड खर्च हुने अनुमान सरकारले गरेको छ । सरकारले यस वर्षका लागि ३ खर्ब ११ अर्ब ९४ करोड पुँजीगत खर्चका लागि बजेट छुट्याएको छ ।

जति तागेता गर्दा पनि बजेट खर्च हुन नसकेपछि सरकारले विनियोजित बजेटनै संशोधन गरेरको छ । अघिल्ला वर्ष पनि ८० प्रतिशतकै हाराहारीमा खर्च हुने गरेको थियो । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) नभएका योजनामा समेत बजेट विनियोजन हुँदा पुँजीगत शीर्षक खर्च बढ्न नसकेको हो । सरकारले पछिल्लो समय खर्च बढाउनका लागि चैतबाट खर्च गर्न नसकिएको आयोजनाको रकम खर्च नपुग भएका आयोजनामा रकमान्तर गरेर भएपनि खर्च बढाउने अभियानमा जुटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.