तरलता अभावको ठिक औषधी आएको छ, अब ब्याजदर पनि घट्छः अनिल शाह

  २०७३ फागुन १० गते १७:०९     विकासन्युज

नेपालको बैंकिङ क्षेत्रमा जुन रोग लागेको थियो त्यसको उपचारका लागि औषधी आएको छ । जुन ढंगले अनुत्पादक क्षेत्रमा व्यापक ऋण गएको थियो त्यसलाई कसरी नियन्त्रण गर्ने भन्नेबारेमा हामीले सोच्नै पर्ने समय आईसकेको थियो । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्ध बार्षिक समिक्षा मार्फत बाटो देखाइदिएको छ ।

अहिले लगानी योग्य पूँजीको जुन अभाव देखिएको छ । त्यसको समाधानका लागि युवाहरुलाई व्यवसायीक कृषि कर्जामा प्रदान गरिने व्याज अनुदान कार्यबिधी २०७१ अनुसार प्रवाह हुने थप कर्जा तथा उत्पादक क्षेत्रमा प्रवाह हुने २ प्रतिशत कर्जाको ५० प्रतिशतसम्मको रकमलाई विद्यमान कर्जा निक्षेप अनुपातबाट घटाउन सकिने व्यवस्थाले केहि राहत प्रदान गर्नेछ । यसले कर्जा लगानीको क्षेत्रलाई केहि विस्तार गर्नेछ । यसको अर्थ अब फेरी पनि बैंकहरुले कर्जा लगानीलाई तिब्ररुपमा विस्तार गर्छन भन्ने चाँही होइन् ।

अब जुन मात्रामा डिपोजिट वृद्धि हुन्छ, त्यहि अनुपातमा मात्रै कर्जा लगानी पनि बढ्छ । हामी अब कर्जा लगानीलाई ह्वात्तै बढाएर लैजाने योजनामा छैनौं । अबका दिनहरुमा ब्याज दर स्थिर हुन्छ । मलाई लाग्छ ब्याज दर स्थिर मात्रै होइन अब घट्छ पनि । कल डिपोजिटको रकममा साधारण डिपोजिटको भन्दा धेरै ब्याज दिन नपाउने व्यवस्था अघि सारिएको छ । यसले ब्याजदरलाई नियन्त्रणमा ल्याउन सघाउ पुर्याउँछ । द्रुतगतिमा बढिरहेको ब्याजदरलाई यसले घटाउन मदत गर्छ ।

आज राष्ट्र बैंकले नेपालको वित्तिय क्षेत्रमा जुन रोग लागेको हो त्यसकै औषधी बाँडेको छ । नेपाल बैंकर्स संघले प्रारम्भिक अध्ययनका आधारमा यसको स्वागत गर्छ । यसका बारेमा हामी अझै बसेर छलफल भने गर्छाै नैं । मलाई लाग्छ विकास बैंकर्स संघ, वित्त कम्पनी संघ र लघु वित्त कम्पनीको एसोसियसनहरुले पनि यसलाई स्वागत नै गर्नेछन् ।

मध्यावधी समिक्षाले सकारात्मक सन्देश दिएको छ, नेपालको वित्तिय क्षेत्रमा यसले आउदो दिनहरुमा स्थायीत्व कायम गराउन थप मदत गर्छ भन्ने हामीलाई लागेको छ । नेपाल राष्ट्र बैंकले दिएको सुबिधाको हामी सदुपयोग गर्छाै, दुरुपयोग गर्दैनौं । अब हामी केन्द्रिय बैंकले ल्याएको नीतिलाई राम्रोसँग कार्यान्वयनमा लैजान्छौं ।

हामीले डिपोजिट दर भन्दा कर्जा लगानी धेरै मात्राले बढाएकैले आजको अवस्था आएको हो । हाम्रो त्यहि कदमका कारण बजारमा लगानी योग्य पूँजीको अभावको अवस्था आएको हो। हामीले त्यसमा आत्मालोचना गरिसकेका छौं । अब बढाउँदैनौं भनेर प्रतिवद्धता पनि व्यक्त गरिसकेका छौं ।

बजेट समयमै आएपछि पूँजीगत खर्च बढ्छ भन्ने अपेक्षामा कर्जा लगानी बढाएका थियौं तर विकास बजेट खर्च भएन । त्यसैले आजको अवस्था खडा भयो । हामीले अहिले पाठ सिकेका छौं । अब जसरी निक्षेप बढ्छ त्यसरी मात्रै कर्जा लगानी बढाउँछौं । विकास बजेट खर्च हुन्छ भनेर कर्जा लगानी गर्दैनौं । बरु बजेट खर्च भैसकेपछि मात्रै कर्जा लगानी बढाउँछौं । (मौद्रिक नीतिको अर्ध बार्षिक समिक्षापछि बैंकर्स एसोसियसनका अध्यक्ष शाहले दिएको प्रतिक्रिया)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.