२०७३ फागुन १० गते ९:३८ विकासन्युज
काठमाडौं । नेपालमा पाइलटको चरम अभाव भएको छ । पाइलट अभावमा आन्तरिक वायुसेवाको उडान नै ठप्पसम्म हुने पुगेको छ ।
हाल नेपालमा सिंगल इन्जिनका पाइलट उत्पादन नभएका, भएका पाइलट पनि मल्टि इन्जिन तथा विदेशी वायुसेवामा जान थालेका कारण पाइलटको चरम अभाव भएको हो ।
त्यसो त विदेशबाट २ सय घण्टाको कमर्सियल पाइलट लाइसेन्स (सीपीएल)को तालिम लिएर आउने पाइलटले अवसर नपाउँदा क्याप्टेन उत्पादन नै बन्द भएको छ । नेपालमा सीपीएल पाइलट बेरोजगार हुने र क्याप्टेन भने अभाव रहेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणबाट सीपीएल लाइसेन्स लिनेको संख्या पाँच सय जना भएपनि हाल मान्यता प्राप्त लाइनसेन्स हुनेको संख्या भने जम्मा १३५ जना मात्रै रहेका छन् ।
प्राधिरकणका अनुासार पाइलट उत्पादन नभएको, बाहिरबाट अध्ययन गरेर आउँदा यहाँ अवसर नपाउने र अवसर पाउनेले पनि निकै चर्को खर्च गनुृपर्ने अवस्था छ । पहिले आन्तरिक वायुुसेवाले सीपीएल पाइलटलाई आफैं तालिम दिएर जागिर दिने गर्थे भने हाल करिब एक करोड रुपैयाँसम्म तिरेर उल्टै वायुसेवामा प्रवेश गर्नुपर्ने अवस्था रहेको छ । सम्वन्धित वायुसेवाले पनि बजारमा सीपीएल पाइलट धेरै भएका कारण पैसा लिएर मात्रै तालिम दिने र रोजगारी दिने गरिरहेका छन् ।
हाल नेपालमा एरोप्लेन (एटीपीएल) पाइलट ३१७ जाामा १७४ मात्रै मान्यता प्राप्त, ३२ जना हेलिकोप्टरका एटीपीएल पाइलटमा १३ जना मात्रै मान्यता प्राप्त, हेलिकोप्टर कर्मर्सियलमा ७९ जनामध्ये ३४ मात्रै मान्यता प्राप्त रहेका छन् । यस्तै प्राधिकरणबाट २२६ जनाले भ्यालिडिएसन सर्टिफिकेट लिएकामा ३८ जनाले मात्रै नविकरण गराएको उल्लेख छ ।
पाइलट अवाभवले सिंगल इन्जिनको उडान बन्द
जहाज उडाउने पाइलट नै नपाएकोका कारण आन्तरिक वायुसेवा गोमा एयरको २ वटा सिंगल इन्जिनका जहाजको उडान ३ महिनादेखि बन्द रहेको छ ।
गोमा एयरका अपरेशन निर्देशक प्रमोदराज शर्माका अनुसार पाइलट नपाएकै कारण जहाज थन्काउनुपरेको छ ।
‘पाइलटको खोजि भइरहेको छ । पाइलट पाउँनासाथ दुईवटै सिंगल इन्जिनको उडान गर्छौ’, उनले भने ।
गोमाले हाल २ वटा मल्टि इन्जिनको १९ सिट क्षमताको लेट भने उडाइरहेको छ । उनका अनुसार अर्को २ वटा लेट जहाज पनि आगामी आइतबारसम्म काठमाडौ आइपुग्ने भएको छ । मल्टि इन्जिनको जहाजका लागि भने पाइलट अभाव अभएको उनको भनाइ छ । बाहिरबाट र नेपाल भित्रैबाट पनि पाइलट ल्याउन सकिने भएकोले जहाज आएको एक सातापछि नै नियमित उडान हुने उनको भनाइ छ ।
आन्तरिक उडानमै पाइलट तानातान
क्याप्टेन पाइलटको अभाव भएका कारण अन्तरिक उडानमै एउटा कम्पनीबाट अर्को कम्पनीले पाइलट तानातान गर्ने गरेका छन् ।
आन्तरिक वायुसेवाले एउटाले अर्कोको पाइलट तान्ने गरेको कारण एक महिना अगाडि मात्रै नेपाल नागरिक उड्डयन प्राधिकरणले १ वर्ष अगाडि नै पाइलटले सम्बन्धित वायुसेवा छोड्ने जानकारी दिनुपर्ने नियम बनाएको हो ।
अहिले पनि एउटा पाइलटले सेवा प्रवेश गर्दा ३ वर्ष नछोड्ने सर्त स्वीकार गरेर मात्रै सम्झौता पत्रमा हस्ताक्षर गरेर मात्रै वायुसेवा प्रवेश गर्नुपर्ने नियम छ । आन्तरिक वायुसेवाका साथै वायुसेवा निगमलाई पनि पाइलटको चरम अभाव रहेको छ । निगमका पाइलटले सेव सुविधा बढी खोजेर निजीमा जाने गरेका कारण निगमलाइ पाइलटको झने अभाव हुने गरेको उल्लेख छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.