सवा खर्ब भारु किनियो, भारु खरिद ५१ प्रतिशतले बढ्यो

  २०७३ फागुन ८ गते ८:३१     विकासन्युज

काठमाडौं । भारतले ठूला दरका नोट बिमौद्रीकरण गरेपछि नेपालमा भएका त्यस्ता नोट फिर्ता नलिए पनि राष्ट्र बैंकले भारतसँग भारु किन्ने क्रम भने बढेको छ ।

नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो ६ महिनाभित्रैमा उसले भारतबाट १ खर्ब ३३ अर्ब १० करोड ९८ लाख भारु किनेको छ । यो गत वर्षको यही अवधिको तुलनामा ५१ प्रतिशत बढी हो ।

गत वर्षको पहिलो ६ महिनामा ८८ अर्ब ११ करोड ७५ लाख रुपैयाँबराबरको मात्र भारु खरिद भएको थियो । ५ सय र १ हजार दरका भारु नोटमा भारतले प्रतिबन्ध लगाएपछि अहिले १ सय र त्योभन्दा साना दरका भारुको माग बढेको छ ।

नेपाल राष्ट्र बैंकले अमेरिकी डलर खर्च गरेर भारु किन्दै आएको छ । यसका लागि चालू आर्थिक वर्षको पहिलो ६ महिनामा १ अर्ब ९८ करोड अमेरिकी डलर खर्चिइएको छ । गत वर्ष यही अवधिमा १ अर्ब ३४ करोड अमेरिकी डलर बेचेर भारु किनिएको थियो ।

गत आर्थिक वर्षभरिमा ३ अर्ब ४० करोड डलर बेचेर २ खर्ब २५ अर्ब २४ करोड ४३ लाख बराबरको भारु किनिएको थियो । अहिलेसम्मको खरिदको अवस्था हेर्दा यो वर्ष भारु खरिद अहिलेसम्मकै उच्च अवस्थामा पुग्ने राष्ट्र बैंकका अधिकारीहरूको भनाइ छ ।

नेपालमा भारु नोट द्विपक्षीय व्यापारमा बाहेक यहाँबाट भारततर्फ अध्ययन, तीर्थाटन र औषधोपचारका लागि जाने नेपालीहरूले चलाउने गर्छन् । नेपाल राष्ट्र बैंक र भारतीय रिजर्व बैंकबीचको सहमतिअनुसार एक पटकमा २५ हजार रुपैयाँसम्म ५ सय र १ हजारको भारु नोट बोकेर नेपाल ल्याउन पाइने व्यवस्थाअनुसार अर्बौं भारु नेपालमा जम्मा भएको अनुमान छ । ठूला दरका नोट नचल्ने भएपछि अहिले साना दरका भारुको माग बढेको हो ।

भारतमा विमौद्रीकरण गरिएलगत्तै नेपालको भारु मागलाई धान्न गत पुसमा १ सय दरका १ अर्ब भारु ल्याइएको नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिए । उनले ठूला दरका भारुको सहटीसम्बन्धमा निष्कर्षका लागि भारतीय रिजर्ब बैंकको टोली छिट्टै नेपाल आउने बताए । कारोबार दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.