७ सय र २६ सय मेगाहर्ज ब्यान्डमा फ्रिक्वेन्सी खोल्ने तयारीमा सरकार, अन्तिम तयारी हुँदै

  २०७३ फागुन ७ गते १:००     विकासन्युज

 

काठमाडौं। सरकारले दूरसञ्चार सेवा चलाउन बोलकबोल मार्फत नयाँ ब्यान्डमा फ्रिक्वेन्सी खुला गर्ने तयारी गरेको छ। यसअघि नै सरकारले दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी नीति–२०७३ कार्यान्वयन गर्दै सरकारले थप नयाँ ब्यान्डमा फ्रिक्वेन्सी खुला गर्न लागेको थियो तर हालसम्म पूरा कार्यान्वयन हुन नसक्दा करोडौं रुपैयाँ राजश्व उठ्ने फ्रिक्वेन्सी त्यत्तिकै खेर गइरहेको थियो।

स्याटेलाइट फोन, टेलिफोन तथा इन्टरनेटलगायतका दूरसञ्चार सेवा चलाउन रेडियो फ्रिक्वेन्सी आवश्यक हुन्छ । सरकारले पहिलो चरणमा ७ सय र २६ सय मेगाहर्ज ब्यान्डको फ्रिक्वेन्सी खुला गर्न लागेको हो ।

बोलकबोल मार्फत नयाँ ब्यान्डमा फ्रिक्वेन्सी खुला गर्ने तयारी थालिसकेका नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगाम्वर झाले बताए। उनले चाँडै नै यस विषयमा निर्णय हुने जानकारी दिए। प्राधिकरणले नयाँ ब्यान्डका फ्रिक्वेन्सी खुला गर्न प्राविधिक र मूल्य निर्धारण समिति बनाएर अध्ययन गराइरहेको छ।

गत असार अन्तिम साता संशोधन भएको नीतिमा तीन महिनाभित्र नयाँ ब्यान्डका फ्रिक्वेन्सी खुला गर्न बोलकबोलका लागि आधार मूल्य (बेस प्राइस) तोक्ने व्यवस्था गरेको थियो। सोही व्यवस्था अनुरूप बोलकबोलका लागि आधार मूल्य तोक्ने प्रक्रिया अघि बढाइएको हो।

दसैं लगत्तै प्राधिकरणले यी दुवै ब्यान्डको आधार मूल्य तय गर्ने भनिएपनि अहिलेसम्म केहि भएको छैन। ‘आधार मूल्य तय भएपछि हामी बोलकबोलमार्फत फ्रिक्वेन्सी बिक्री गर्छौं,’ झाले भने, ‘जसले बढी कबोल गर्छ उसैले फ्रिक्वेन्सी पाउँछ ।’

सरकारले हालसम्म ८ सय, ९ सय, १८ सय, २१ सय र २३ सय मेगाहर्ज ब्यान्डको फ्रिक्वेन्सी मात्र खुला गरेको छ। अहिले खुला गर्न लागिएको ७ सय मेगाहर्ज ब्यान्डलाई ‘गोल्डेन ब्यान्ड’ मानिन्छ ।

यो ब्यान्डको फ्रिक्वेन्सीमा सेवा विस्तार गर्ने कम्पनीले पूर्वाधारमा कम लगानी गर्दा पनि हुन्छ । फ्रिक्वेन्सी ब्यान्ड जति कमको भयो त्यत्ति नै कम लगानीमा गुणस्तरीय सेवा प्रवाह गर्न सकिन्छ।

दुवै ब्यान्डको बढाबढ सकिएपछि पहिलो कम्पनीले तोकेको मूल्य तिर्ने गरी नेपाल टेलिकमलाई भने बढाबढ बिनै फ्रिक्वेन्सी दिइने नीतिमा व्यवस्था गरिएको छ । उनका अनुसार ७ सय र २६ सय दुवै ब्यान्डमा फोरजीसम्मको सेवा सञ्चालन गर्न सकिन्छ।

यी ब्यान्डको फ्रिक्वेन्सी बोलकबोल गर्दा अहिले सेवा नचलाएका कम्पनीलाई समेत आह्वान गर्ने तयारी प्राधिकरणले गरेको छ । दुई ब्यान्डका गरी ९ वटा प्याकेज रहेकाले तिनलाई ९ वटा कम्पनीसम्मलाई दिन सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.